काठमाडौं: अक्टोबर महिनामा हुने साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। अक्टोबर १ मा माल्दिभ्सको राजधानी मालेस्थित नेशनल फुटबल स्टेडियममा सुरु हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमै माल्दिभ्सको सामना गर्ने भएको हो।
त्यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकाविरुद्ध अक्टोबर ३ मा, भारतविरुद्ध अक्टोबर ८ मा र बंगलादेशविरुद्ध अक्टोबर १० मा खेल्नेछ। फाइनल खेल अक्टोबर १३ मा शीर्ष दुई टिमबीच हुनेछ।
नेपाली टोली पछिल्लो समय साफ च्याम्पियनसिपको तयारीका लागि पोखरामा अभ्यासरत छ। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता अघि नेपालले भारतसँग नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
