PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

विद्युत प्राधिकरण वीरगंजको बेथिति : न मिटर छ, न त पोल नै



राधेश्याम पटेल

विद्युत प्राधिकरण वीरगंजको बेथिति : न मिटर छ, न त पोल नै

वीरगंज : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रोपटक भित्रिसकेका छन्। देशभर उनको वाहवाही छ तर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजको व्यवस्थापकीय पक्ष भने झन् खराब बन्दै गएको छ।

पछिल्लो एक वर्षको अवधिमा वितरण केन्द्रले विद्युतीकरणका काममा ढिलाई गरेको र बेथिति बढेको उपभोक्ताहरुको आरोप छ।

‘गजबको छ वीरगंज विद्युत प्राधिकरण वितरण केन्द्र, न मिटर छ, न पोल,’ वीरगंज कुमारटोलका एक व्यवसायीले भने, ‘डिजिटल मिटरको लागि निवेदन, शुल्क र प्रक्रिया पुर्‍याएको ३ महिना बितिसक्दा पनि घरमा मिटर जडान हुन सकेको छैन।’ कार्यालयमा गत असार दोस्रो सातादेखि धाउँदा पनि कर्मचारीले मिटर जडान नगरेको ती व्यवसायीले आरोप लगाए। वीरगंज २१ लिपनीविर्ताकी चन्दा देवीले पनि नयाँ मिटरको लागि निवेदन दिएको एक साता पुग्दा पनि बत्ती जडान नभएको बताइन्।

'कागजात पत्र र पैसा बुझाएको वडाको सिफारिससहितको निवेदन दिइसकेको छु, कहिले मिटर लाग्छ भनेर सोध्दा मिटर छैन, आएपछि लगाइदिन्छौ भनेर जवाफ पाएको छु,' चन्दाले भनिन्।

त्यसैगरी, वीरगंज २८ बगहीका बन्ती राउत कुर्मीले पनि गाउँमा पोलको आवश्यकता पर्दा वितरण केन्द्रमा गएर सोध्दा पोलको अहिले कुरै नगर्नू भनी कर्मचारीहरुले फर्काइदिएको बताए।

वितरण केन्द्र वीरगंजका प्रमुख शम्भु कुशियैत यादवले मिटर र पोल सरकारले हरेक वर्ष टेण्डरद्वारा आपूर्ति गर्ने भएकोले करिब तीन महिनादेखि आपूर्तिमा समस्या भइरहेको स्वीकार गरे। ‘अहिले टेण्डर प्रक्रिया चलिरहेको छ, एमडी नियुक्ती प्रक्रियाले पनि केही ढिलो भएको छ, पोल मैले ५० वटा आजभोलिमै ल्याएर आवश्यक भएको ठाउँमा गाड्न लगाउँछु,’ उनले भने। भदौंको अन्त्यतिर मिटरको लागि परेको निवेदनअनुसार सबै ठाउँमा मिटर वितरण गरी ब जडान भइसक्ने दाबी उनले गरे। अहिले वितरण केन्द्रमा पर्सा, बाराको गरी दैनिक औसत ७ भन्दा बढी जना सेवाग्राहीले मिटर र पोलको लागि निवदेन दिन आउने गरेका छन्। करिब ५ सयभन्दा बढी निवेदनको मिटर, पोल र मिटर मर्मत सम्बन्धीको काममा ढिलाई भइरहेको कर्मचारी स्रोतले जनायो।

जडानमा पनि नजरा असुल्छन् कर्मचारी मिटर

वितरण केन्द्रले नयाँ मिटर जडान गरी बिजुली बत्ती सेवाग्राहीको घरमा बालेपछि सेवाग्राहीसँग फिल्डमा काम गर्ने कर्मचारीहरुले नास्ता खर्च बापत ५ सयदेखि २ हजार सम्म माग्ने गरेका छन्। मिटर जडान गरेको खुशीमा मिठाई खान र नास्ता खान, ५ जनाको टोलीको हिसाबले प्रति कर्मचारी दुई तीन सय रुपैयाँको दरले ५ सयदेखि २ हजारसम्म लिने गरेको उपभोक्ताहरु बताउँछन्। बिग्रेको वा भाँचेको मिटर पनि मर्मत गर्न प्राविधिक टोली फिल्डमा जाँदा बिना नजराना वीरगंज कार्यालयबाट नहिड्ने गरेको सेवाग्राहीको आरोप छ। वितरण प्रमुख यादवले भने यदि कुनै कर्मचारीले काममा ढिलाई पारेको वा बिना कारण घुस रकम माग गरेको छ भने उनैकहाँ गएर गुनासो गर्न आग्रह गरे। उनले दोषी कर्मचारीलाई कानुन बमोजिम कारबाही गर्ने आश्वासन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell