काठमाडौं : नेपालमा ९५ दल अध्यावधिक भएका छन्। निर्वाचन आयोगले प्रकाशित गरेको अध्यावधिक सूचीमा नेपाल कम्युनिस्ट पार्टी नाम गरेका दलहरु १० वटा छन्। ऋषि कट्टेल अध्यक्ष रहेको घन कोदालो चुनाव चिन्हसहितको नेपाल कम्युनिस्ट पार्टी छ। अरु नेकपाका पछाडि भने पुच्छरै पुच्छर झुण्डिएका छन्।
पछिल्लो पटक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नाममा राजनीतिक दल दर्ता भएको छ। कलम चुनाव चिन्हसहित जीवन राईले नेकपा एकीकृत दर्ता गराएका छन्। राई नेकपा एमालेका माधव समूहका कार्यकर्ता हुन्।
सुदिप रुवालीले नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक) दल दर्ता गराएका छन्। यसको चुनाव चिन्ह गोलाकारभित्र आधा चन्द्रमा राखिएको छ।
जोमान लामाको नाममा नेपाल कम्युनिस्ट पार्टी (परिवर्तन) दर्ता भएको छ। चुनाव चिन्ह चारको प्रतिक भएको डम्फु राखिएको छ।
मानध्वज गुरुङले हँसियामाथि धानको बाला खप्टिएको चुनाव चिन्हसहित नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) दर्ता भएको छ। त्यस्तै सरस्वती न्यौपाने अध्यक्ष रहेको नेकपा (राष्ट्रवादी) दर्ता भएको छ।
केपी शर्मा ओली नेतृत्वको सूर्य चुनाव चिन्हसहित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी), पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पनि नेकपा जोडिएका पार्टी हुन्।
त्यस्तै कोदालो चुनाव चिन्हसहित नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) अम्बिकाप्रसाद थैवको नाममा छ। त्यस्तै सी पी मैनाली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माले) निर्वाचन आयोगको राजनीतिक दलको दोस्रो नम्बरमा सूचीकृत छ।
निर्वाचन आयोगमा दर्ता भएकामध्ये तीन वटा कम्युनिस्ट पार्टी यसै वर्ष दर्ता भएका हुन्। नेकपा (एकीकृत) जेठ ३० गते, नेकपा (लोकतान्त्रिक) असार ६ र नेकपा परिवर्तन साउन ४ मा निर्वाचन आयोगमा दर्ता भएका छन्।
अरु पनि कम्युनिस्ट पार्टी
पार्टीको नामको अगाडि नेपाल कम्युनिस्ट पार्टी नराखेका अन्य कम्युनिस्ट पार्टी पनि निर्वाचन आयोगमा दर्ता भएका छन्। निर्वाचन आयोगको दलको सूचीको पहिलो नम्बरमा मादल चुनाव चिन्हसहित नारायणमान बिजुक्छेको नेपाल मजदुरक किसान पार्टी छ। यो पार्टी पनि कम्युनिस्ट विचारधारासहितको पार्टी हो।
रामबहादुर गुरुङ अध्यक्ष रहेको कुचो चुनाव चिन्हसहितको माओवादी जनमुक्ति पार्टी पनि आयोगमा दर्ता छ। त्यस्तै सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा पनि कम्युनिस्ट विचारधारा बोकेको पार्टी हो। मुठ्ठी चुनाव चिन्ह रहेको यो पार्टी मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को चुनावी मोर्चा हो।
२०७० को संविधानसभा बहिस्कार गरेको यो पार्टीले २०७४ सालको स्थानीय तहको सहभागि हुन चुनावी मोर्चालाई निर्वाचन आयोगमा दर्ता गराएको थियो। त्यस्तै मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल)को चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा पनि आयोगमा दर्ता छ। गिलास चिन्हसहितको यो पार्टीको नेतृत्व चित्रबहादुर केसीले गरिरहेका छन्।
एमाले खोसिएपछि जनताको जनवादी पार्टी
सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलासँगै निर्वाचन आयोगमा दर्ता भएका दुई दलले आफ्नो नाम गुमाए।
तत्कालीन माओवादी केन्द्र र एमालेबीच एकता भई नेकपा बनेपछि निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्रका नाममा दुई दल दर्ता भएका थिए। सर्वोच्चको आदेशसँग एकता बदर भए पनि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किए। लगत्तै ती नाम गरेका पार्टीलाई नयाँ नामसहित दर्ताका लागि निर्वाचन आयोगले सूचना जारी गरेको थियो।
नेकपाको विवाद बल्झिँदै जाँदा ओलीकै निर्देशनमा सन्ध्या तिवारीले उदाउँदो सूर्यसहित नेकपा एमाले दर्ता गराएकी थिइन्। एमाले कार्यकर्ताहरुसहित दर्ता भएको यो पार्टीले पनि नाम गुमायो। त्यसपछि यो पार्टी जनताको जनवादी पार्टी नेपालका नाममा निर्वाचन आयोगमा दर्ता भएको छ।
त्यस्तै पूर्व माओवादी नेता गोपाल किराँती पार्टी एकताको विपक्षीमा उभिँदै बाहिरिएका थिए। उनले पछि निर्वचन आयोगमा नेकपा माओवादी केन्द्र दर्ता गराएका थिए। तर सर्वोच्चको त्यो फैसलासँगै उनले पनि नाम गुमाए। अहिले उनले एकीकृत कम्युनिस्ट पार्टी नेपालको नाममा दल दर्ता गराएका छन्- चाल चुनाव चिन्हसहित।
थपिँदै नयाँ कम्युनिस्ट
एमालेमा आएको फुटसँगै पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। चुनाव चिन्ह खुला किताब राख्ने भने पनि टुंगो भने अझै लागेको छैन। यस पार्टीमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, एमालेका उपाध्यक्ष वामदेव गौतमसमेत रहेका छन्।
जनवादी र समाजवादी नामका थरीथरीका पार्टी
उपेन्द्र यादव नेतृत्वको जनता सामाजवादी पार्टी ढल्केको छाता चुनाव चिन्हसहित राजनीतिक दलको सूचीको ८९ नं. मा दर्ता छ। यो पार्टीबाट विभाजन भई महन्थ ठाकुरले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) साइकल चुनाव चिन्हसहित दल दर्ताका लागि निवेदन दिएका छन्।
त्यस्तै रुद्रजंग पुलामी अध्यक्ष र पृथ्वी चुनाव चिन्हसहित राष्ट्रिय समाजवादी पार्टी नेपाल आयोगको ६७ औं नं. मा सूचीकृत छ। त्यस्तै रिजवान अन्सारीले बस चुनाव चिन्हसहित नेपाल संघीय समाजवादी पार्टी दर्ता गराएका छन्।
त्यस्तै नेपाल समाजवादी पार्टी लोहियावादी नन्दन यादवले दर्ता गराएका छन्। त्यस्तै सुवासराज काफ्लेले तारा चिन्हसहित जनसमाजवादी दर्ता गराएका छन्। समाजवादी पार्टी नेपाल विष्णुराज अर्यालको नाममा दर्ता भएको छ। त्यस्तै कृष्णगोपाल बन्जाराले बाघ चुनाव चिन्हसहित आधुनिक नेपाल समाजवादी पार्टी दर्ता गराउँदा नेपाल नौलो जनवादी पार्टी डाक्टर गंगालाल श्रेष्ठले चुच्चोले चिठ्ठी बोकेर उड्न लागेको परेवा चुनाव चिन्हसहितको पार्टी दर्ता गराएका छन्।
कांग्रेसका नाममा फरक फरक दल
निर्वाचन आयोगको दलको सूचीको ३८ औं नम्बरमा दर्ता छ रुख चुनाव चिन्हसहित शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस यस बाहेक गोविन्द प्रसाद निरौलाको नेपाल समाजवादी कांग्रेस पनि निर्वाचन आयोगमा दर्ता छ।
त्यस्तै रिषभ भट्टराई सभापति रहेको करुवा चुनाव चिन्हसहित नेपाली कांग्रेस (वी.पी.) दलको सूचीको ७३ नं. मा छ।