अफगानी फुटबल टिमकी पूर्वकप्तान खालिदा पोपालले खेलाडीहरुलाई सामाजिक संजाल 'डिलिट' गर्न आह्वान गरेकी छिन्। तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा महिला अधिकार हनन हुने अनुमान भइहरहँदा उनले सार्वजनिक पहिचान नै मेटाउन महिला खेलाडीहरुलाई आग्रह गरेकी हुन्। खालिदाले आफ्नो सुरक्षाका लागि खेल किटहरु जलाउन नै महिला खेलाडीलाई सुझाव समेत दिएकी छिन्।
कोपनहेगनमा रहेकी पोपालले रोयटर्ससँगको भिडियो अन्तर्वार्तामा विगतमा तालिवानी लडाकुहरुले महिलाहरुलाई ढुंगा हानेर मार्ने, बलात्कार गर्ने गरेको घटना सम्झँदै अहिले पहिलो निशानामा महिला फुटबलर पर्न सक्ने बताएकी हुन्।
अफगानी महिला फुटबल लिगकी सह-संस्थापक रहेकी उनले यसअघि खेलाडीलाई 'बलियो भएर खडा हुन, बोल्ड हुन र अगाडि आउन' सुझाव दिँदै आएकी थिइन्। तर, तालिवानहरु सत्तामा आएसँगै उनको सुझाव फेरिएको छ।
'आज म उनीहरुलाई बोलाउँदैछु, भन्दैछु: आफ्नो नाम हटाउ, पहिचान मेट र सुरक्षाका लागि फोटोहरु हटाउ' उनले भनेकी छिन्, 'राष्ट्रिय महिला फुटबल टोलीको पहिचानका लागि अघि बढेको एक्टिभिस्टका रुपमा मैल आज यसो भनिरहनुपर्दा एकदमै दु:ख लागेको छ।'
यसअघि तालिवानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गर्दा इस्लामिक कानुनका अनुसार महिलालाई काम गर्न प्रतिबन्ध लगाएका थिए। महिलालाई विद्यालय जाने अधिकार थिएन भने बाहिर निस्कन बुर्का अनिवार्य थियो। यो नियम उल्लंघन गर्नेले कठोर सजाय पाउने व्यवस्था थियो।
यता, भर्खरै शासन सत्ता सम्हालेको तालिवानले इस्लामिक कानुनको फ्रेमवर्कमा रहेर महिलाको अधिकारको सम्मान गर्ने बताइसकेको छ। तर, त्यो कानुन कस्तो हुन्छ र महिलाहरुले कस्तो अधिकार पाउँछन् भनेर तलिवानले नयाँ सरकार गठन गरेपछि मात्रै सार्वजनिक गर्ने बताएको छ।
पोपाल तालिवान शासन अघि फुटबलको माध्यमबाट नै महिलाहरु अघि आउन वातावरण मिलेको तर्क गर्छिन्।
'उनीहरु धेरै डराएका छन्। उनीहरु धेरै तनावमा छन्। खेलाडीमात्र होइन, यसका एक्टिभिस्टहरु पनि,' उनी भन्छिन्, 'उनीहरुको जाने ठाउँ छैन। खतरा महसुस गरे सुरक्षाका लागि गुहार लगाउने स्थान छैन।'
पोपाल भन्छिन्: उनीहरुलाई डर छ, कुनै पनि बेला उनीहरुको ढोका ढक्ढकिन सक्छ।
देशमा नयाँ शासन सत्ता आएसँगै अहिलेसम्मका महिला सशक्तिकरण, उनीहरुको खुशी, गर्व सबै पानीमा मिलेको उनको बुझाइ छ।
त्यस्तै अफगानी फुटबलरको सुरक्षालाई लिएर विश्वफुटबल महासंघ फिफाले पनि चासो देखाएको छ।
'हामी अफगानिस्तान फुटबल फेडेरेसन् र अन्य सरोकारवालासँग सम्पर्कमा छौं। र, हामी यसलाई नियालिरहेका छौं। आवश्यक परे हामी सहयोग गर्न तयार छौं' फिफाका प्रवक्ताले भनेका छन्।
फुटबल बाहेका अन्य खेलहरुको अवस्था पनि फरक छैन। क्रिकेटमा पनि अब के हुने भन्ने अन्योल कायमै छ।
यद्यपि, अफगानिस्तान क्रिकेट बोर्डका सिईओ हमिद शिनवारीले तालिवानले क्रिकेटलाई समर्थन गर्ने दाबी गरेका छन्। उनले भारतीय समाचार संस्था पीटीआईसँग कुरा गर्दै तालिवानले सत्ता लिएको सन्दर्भमा खेलाडी र उनीहरुको परिवार सुरक्षित रहेको दाबी गरेका छन्।
'तालिवानले क्रिकेटलाई माया गर्छन्। उनीहरुले हामीलाई सुरुबाटै समर्थन गर्दै आएका छन्। उनीहरुले हाम्रो क्रियाकलापमा हस्तक्षेप गर्ने छैनन्' उनले भनेका छन्।
अफगानिस्तानी स्टार क्रिकेटर राशिद खान, मोहम्मद नाबी र मुजिब जर्डन हाल बेलायतमा 'द हण्ड्रेड लिग' खेलिरहेका छ्न्।
राज्यसत्ताबाट तालिवानको बहिर्गमनसँगै अफगानिस्तानले क्रिकेटमा विकास गर्दै अहिले टेस्ट राष्ट्रका रुपमा स्थापित भइसकेको छ।
