PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

ओली स्टाइलमा डोरमणिको सत्ताबाट बहिर्गमन, स्कर्टिङमा मोटरसाइकल र्‍याली



निशा गुरुङ

ओली स्टाइलमा डोरमणिको सत्ताबाट बहिर्गमन, स्कर्टिङमा मोटरसाइकल र्‍याली

हेटौंडा : सरकारले दल विभाजनलाई सहज बनाउँदै ल्याएको अध्यादेश राष्ट्रपतिले स्वीकृत गरेसँगै बुधवार काठमाडौंमा राजनीतिक माहोल तात्दै थियो। माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले औपचारिक रुपमा विभाजन उन्मुख भइरहँदा वाग्मती प्रदेशको राजधानी हेटौंडामा भने पार्टी एकताका लागि भन्दै 'कुर्सी' साटासाट गर्ने सहमति भइरहेको थियो।

एमाले बाहेक अन्य दलका प्रदेशसभाका सांसदहरु काठमाडौं फर्किरहेका थिए। त्यसैबिच समाचार आयो : मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिए, अष्टलक्ष्मी शाक्य नयाँ नेता बनिन्। माधव कुमार नेपाल समूहमा रहेकी अष्टलक्ष्मी शाक्यले एक्कसी 'गुट' परिवर्तन गरिन्। 'एकता' का लागि भन्दै र राति नै मुख्यमन्त्रीको सपथ ग्रहण पनि गरिन्।

वाग्मतीमा शाक्‍यको 'इन्ट्री'सँगै निवतर्मान मुख्यमन्त्री डोरमणि पौडेल आज मुख्यमन्त्रीको सरकारी निवासबाट 'एक्जिट' भए। राजनीतिमा सत्ता हस्तान्तरण नौलो कुरा होइन। तर, जब डोरमणि मुख्यमन्त्री निवासबाट बाहिरिए, त्यो कुनै 'विजय र्‍याली' भन्दा कम थिएन। भनौं – ओलीको बालुवाटारबाट बहिर्गमनको दृश्य डोरमणिले दोहोर्‍याएर प्रदर्शन गर्दै थिए।

कालो गाडीको सन रुफमा उभिएर हात हल्लाउँदै मुख्यमन्त्री कार्यालयबाट निस्किएका डोरमणिका चारैतिर मोटरसाइकलको स्कर्टिङ थियो। नेकपा एमालेका कार्यकर्ताहरु 'पार्टी एकता जिन्दावाद्' भन्दै डोरमणिको पक्षमा नारा लगाइरहेका थिए।

बालुवाटारबाट ओली बाहिरिँदा बालकोटसम्म युवा संघ र युथ फोर्सका कार्यकर्ताहरु अघिपछि थिए। ओलीले बार्दलीमा गएर भाषण गरे। माधवकुमार नेपाललाई 'गद्धार' को संज्ञा दिए। माधव नेपालले नेकपा एमाले (समाजवादी) गठन गरिरहँदा ओली निकट डोरमणि पौडेल भने माधव नेपाल निकट अष्टलक्ष्मी शाक्यलाई 'मुख्यमन्त्रीको कुर्सी' दिएर हेटौंडा नगरको परिक्रमामा हिँडे।

वाग्मतीमा नेकपा एमालेको एकल बहुमत छ। त्यसैले अहिले 'एकता' लाई देखाउँदै डोरमणिले 'त्याग' गरेको भन्दै कार्यकर्ताहरु नारा लगाइरहेका छन्। तर, आउने दिनमा यो दृश्य बदलिन सक्ने नेताहरु बताउँछन्। प्रदेशसभाले सर्वसम्मत्तले शाक्यलाई संसदीय दलको नेता चुनिएको बताए पनि केही प्रदेशसभा सांसद माधव नेपाल समूहमा छन्।

सरकारको नयाँ अध्यादेशले प्रदेशसभा सदस्यलाई नेकपा एमाले र एमाले समाजवादी छान्न २१ दिनको समय दिएको छ। निर्वाचन आयोगले माधव नेपालको निवेदन स्वीकृत गरेर नेकपा एमाले समाजवादी गठन स्वीकार गरे प्रदेशमा समीकरण बद्लने माधव पक्षका नेताहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell