काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेशको बचाउ गरेका छन्।
उनले देउवा सरकारले ल्याएको अध्यादेश लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि भएको दाबी गरे।
'एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिद्ध्याउनु, गणतन्त्र सिद्ध्याउनु संविधान सिद्ध्याउनु थियो। अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नुछ। यी दुईटामा आकाश जमिनको फरक छ,' बिहीवार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले भने।
अध्यादेशको विरोध गर्नेहरु प्रति उनले प्रश्न गरे, 'बडो निरपेक्ष र आदर्शवादी ढंगले सबै अध्यादेश उस्तै हुन भन्ने तर्क छ, लोकतन्त्र रक्षा गर्न ल्याएको अध्यादेश उही हो? लोकतन्त्र मास्न ल्याएको अध्यादेश पनि अध्यादेश नै हो?'
सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्दै मंगलवार राष्ट्रपतिसमक्ष दल विभाजनलाई सहज पार्ने गरी राजनीतिक दलसम्बन्धि ऐन संशोधन गर्न अध्यादेश सिफारिस गरेको थियो। सोही अनुरुप बुधवार राष्ट्रपतिबाट अध्यादेश जारी हुना साथ नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल नेतृत्वमा नेकपा एमाले समाजवादी निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्।
यसैबीच कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देश समाजवादको नयाँ मोडेल खोज्ने दिशातिर गइरहेको बताउँदै माधव नेपालको पार्टीले नयाँ सुरुवात गरेको बताए।
‘एमालेभित्र विद्रोह गरेर माधव नेपालजीले एमाले समाजवादी भनेर फेरि अर्को पार्टी सुरुवात गर्नु भएको छ, यसले के देखाउँछ भने फेरि नयाँ समाजवादको मोडेल खोज्नेतिर देश गइराखेको छ। त्यो अबको आवश्यकता हो।’