PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कर्णालीमा एमालेको शक्ति संघर्ष : ओलीमाथि हाबी देखिएको माधव पक्ष पार्टी विभाजनसँगै बन्यो कमजोर



पी बी खड्का

कर्णालीमा एमालेको शक्ति संघर्ष : ओलीमाथि हाबी देखिएको माधव पक्ष पार्टी विभाजनसँगै बन्यो कमजोर
फाइल फोटो

सुर्खेत: नेकपा (एमाले) कर्णाली प्रदेशमा नेता माधव नेपाल समूहको पकड बलियो थियो। पार्टी विभाजनको प्रक्रिया अघि बढेसँगै पकड कमजोर बनेको छ। प्रस्तावित नेकपा एमाले (समाजवादी) पार्टी अर्थात् नेपाल समूह कमजोर बनेको हो। यसअघि नेता नेपालको पक्षमा काँध थाप्दै आएका नेताहरु समेत पछिल्लो समय एमालेको ओली पक्षमा खुलेका छन्। केही तटस्थ देखिएका छन्। 

विगत एक वर्षदेखि अध्यक्ष ओली र नेपालबीच शक्ति संघर्ष चलिरहेको थियो। ओलीसँग शक्ति सन्तुलन गर्ने क्षमता राखेको नेपाल पक्ष अहिले खुम्चिन लागेको छ।

कर्णाली प्रदेशमा सात जिल्ला नेता नेपाल पक्षले नेतृत्व गरिरहेको थियो। नवौँ महाधिवेशनबाट निर्वाचित १० मध्ये ७ जिल्ला अध्यक्ष नेपाल समूहका थिए। सुर्खेत, जाजरकोट, मुगु, जुम्ला, रुकुम, हुम्ला र डोल्पामा नेपाल पक्षका अध्यक्ष थिए।

तर, पछिल्लो समय मुगु, जुम्ला र रुकुमका अध्यक्षमात्रै एमाले (समाजवादी) का पक्षमा खुलेका छन्।

नेपाल समूहमा रहेका सुर्खेतका ध्रुवकुमार शाही, हुम्लाका दल रावल र जाजरकोटका करवीर शाहीले मूल पार्टीमै रहने बताएका छन्। नेपाल समूहका डोल्पा अध्यक्ष दत्तबहादुर रोकायाको मृत्यु भइसकेको छ।

केन्द्रीय कमिटीमा पनि उस्तै

कर्णालीबाट एमालेको केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्नेमा पनि नेपाल समूहकै बहुमत थियो। कर्णालीबाट १५ जना केन्द्रीय कमिटीमा थिए। जसमा ९ जना नेपाल समूहका थिए। बाँकी ओली समूहका थिए। तर, पछिल्लो समय केन्द्रीय कमिटीका ६ जना ओली समूहमा लागेको दाबी गरिएको छ। उनीहरु भने औपचारिक रुपमा खुलिसकेका छैनन्। उनीहरु नेपाल समूहको एमाले समाजवादीको पक्षमा पनि खुलेका छैनन्।

नेता नेपाल निकट मानिने कर्णालीका निरज आचार्य, ध्रुवकुमार शाही, राजबहादुर बुढा लगायतका नाम एमाले समाजवादीमा हालसम्म समेटिएको छैन।

एमाले समाजवादीमा कर्णालीबाट सात केन्द्रीय सदस्य बनेका छन्। प्रकाश ज्वाला, हंशबहादुर शाही, शेरबहादुर केसी, देवी ओली, चन्द्रबहादुर शाही, रीता रावल, नन्दा शर्मा चपाईं केन्द्रीय कमिटीमा समेटिएका छन्। तर प्रदेश सभा सदस्य समेत रहेका चन्द्रबहादुरले आफू एमालेमै रहेको प्रतिक्रिया दिएका छन्।

दलको ह्वीप विपरीत मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका अम्मरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा एमाले समाजवादीको केन्द्रीय कमिटीमा नरहे पनि आफूहरु संस्था बलियो बनाउन डटेर लाग्ने बताउँछन्। ह्वीप नमानेकोमा एमालेले उनीहरुलाई कारबाही गरेको थियो। उनीहरु सांसदबाट पदमुक्त भएका थिए।

‘हिजोको अवस्थामा एमाले भएर बस्नुभन्दा अहिलेकै परिस्थिति जे बन्यो त्यही ठिक छ’, थापा भन्छन्, ‘पार्टी निर्माण भइसकेको अवस्थामा अब थप बलियो, जनताको लोकप्रिय पार्टीका रुपमा अघि बढाएर जान्छौँ।’

अहिले नै कमिटीमा नपरेर आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको टिप्पणी छ। काम गर्न कुनै पद नचाहिने भन्दै एमाले समाजवादी सबैको साझा र लोकप्रिय पार्टी बन्ने दाबी उनको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell