PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तीनवटा क्राइम स्टोरीको निचोड : अपराध गरेर निर्धक्क अपराधी तर कुनै पनि बेला फन्दामा



सविन ढकाल

तीनवटा क्राइम स्टोरीको निचोड : अपराध गरेर निर्धक्क अपराधी तर कुनै पनि बेला फन्दामा

  • एक महिलाको हत्या गरेको अभियोग लागेका शिवजी खत्री १६ वर्षपछि प्रहरीको नियन्त्रणमा परे। उनले मट्टितेल छर्केर ती महिलाको हत्या गरेको प्रहरीको दावी छ। अपराधपछि पनि निर्धक्क रहेका उनी फरक फरक व्यवसायसँग जोडिएका थिए। उनको अपराध यात्राबारे उनका परिवार पूरै बेखबर थिए।
  • कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका ७ स्थित महालक्ष्मी सुगर मिलको कम्पाउण्डभित्र रुपन्देहीका ४८ वर्षीय प्रकाशनारायण श्रेष्ठमाथि गोली प्रहार भयो। समूहमा आएका मानिसहरुले उनीहरुलाई गोली हानेका थिए। हत्याको अभियोगमा दुई जनालाई प्रहरीले पक्रा गरे पनि ३ जनालाई समात्न १४ वर्ष कुर्न पर्‍यो। तिनीहरु पनि निर्धक्क जीवन यापन गरिरहेका थिए।
  • २०५७ सालमा दिलमाया सुनार आफ्नै कोठामा मृत भेटिइन्। उनको हत्या भएको थियो, घाँटी थिचेर। उनको मृत्युबारे उनकै पति अरुणकुमार रिजालले उजुरीसमेत गरेका थिए प्रहरीकहाँ। तर, उजुरी गर्ने उनकै पति समातिए हत्या भएको २० वर्षपछि। प्रहरीले फेला पार्‍यो - हत्या त उनैले गरेका रहेछन्। त्यसबिच उनले अर्को बिहेमात्र गरेनन् सहज रुपमा जीवनयापन कायम राखे। अनुहारमा अपराधको संकेतधरी छाडेनन्।

जघन्य अपराध गरेर पनि प्रहरीको आँखामा छारो हाल्दै कसरी सहज रुपमा जीवनयापन गरिरहेका हुन्छन् भन्ने बुझाउने यी प्रतिनिधिपात्र मात्र हुन्। वर्षौं अघिको 'खत'को आधारमा समातिने यस्ता मानिसहरुलाई चिन्नेहरु पनि पत्याउँदैनन् - यिनीहरु अपराधी हुन् भन्ने। आखिर अपराध गरिसकेपछि पनि मानिस कसरी प्रहरीको नजरबाट लुकेर बस्न सक्छ त?

'जति घटना पुरानो हुँदै गयो थप प्रमाण भेटिने सम्भावना कम हुन्छ। तर, कुनै संदिग्ध व्यक्तिको पहिचान भयो भने प्रहरीले पहिलो प्राथमिकतामा पक्राउ गर्ने नीति लिएकै हुन्छ,' नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले भने।

पुरानो घटनामा अभियुक्तको पहिचान भइसकेपछि फरारलाई पक्रने दर यतिखेर बढेको छ। र, ती केसहरुले  देखाएको छ - जघन्य अपराध गरेर पनि मानिस सजिलै यही समाजमै घुलमिल भएर बसिरहेको हुननसक्छ। यस्ता अभियुक्त र अपराधीहरु समातिनेक्रम आर्थिक वर्ष २०७७/७८ मा २ सय १६ प्रतिशतले बढ्यो। आर्थिक वर्ष २०७७/७८ मा ७ हजार ३ सय ९० जना फरार अभियुक्तालई नियन्त्रणमा लियो प्रहरीले। यसअघिको आर्थिक वर्षमा २ हजार ३ सय ३२ जनामात्र फरार अभियुक्त पक्राउ परेका थिए।

नेपालमा घटना गराएर खुल्ला सीमानाको फाइदा उठाउँदै भारत पुगेर लुकिछिपी बस्नु सामान्य नै हो। तर, तीमात्र होइन, पक्राउ परेका कतिपयहरु यही जमेर बसिरहे पनि प्रहरीको पञ्जाबाट टाढै रहेको देखियो।

+++

'मरेको आत्माले सरापेर होला। १६ वर्षसम्म लुकेको मान्छेलाई पनि केही क्लुले टेकेर ल्याउन सफल भइयो।'

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बुधवार ललितपुरबाट शिवजी खत्री भनिने रामेछापका ४६ वर्षीय ग बहादुर खत्रीलाई नियन्त्रणमा लिएलगत्तै अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

खत्री प्रहरीको खोजी सूचिमा थिए। तर, लामो अवधिसम्म उनले प्रहरीको आँखामा छारो हालिरहे।

खत्रीले २०६२ पुस ६ गते रातिको समयमा कलंकी लाम्पाटीमा भगवती लामा (अधिकारी)लाई आगोले जलाएको प्रहरीको दावी छ। मट्टितेल छर्किएर भगवतीको हत्या गरेको प्रहरीको अनुसन्धानले खुलेको हो। आगो लगाएपछि खत्री झ्यालबाट भागेर फरार भए। शरीरमा आगो लागेकी भगवतीको उपचारको क्रममा भोलिपल्ट वीर अस्पतालमा मृत्यु भयो। भगवती र शिवजी बिच प्रेम सम्बन्ध देखिएकाले उनलाई खोजेको थियो प्रहरीले। सम्बन्धमा नै मनमुटाव आएपछि हत्या भएको अनुसन्धानले देखाएको थियो।

गत साउन २७ गते उनलाई ललितपुरको महालक्ष्मी नगरपालिकाबाट प्रहरीले नियन्त्रणमा लियो। घटना भएपछि तत्कालै उनी भारत भागेको प्रहरीको दाबी छ।

'उसले घटना गरेको स्वीकार गरेको छैन। हाम्रो अनुसन्धानमा भारत गएको बुझिन्छ। तर उनले अहिलेसम्म आफू भारत गएको भनेर पनि स्वीकार गरेको छैन,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

तर, मृतककी छोरीले त्यस दिन शिवजीलाई कोठामा देखेको बयान दिएकी थिइन् प्रहरीकहाँ। उनको बयान शिवजीलाई घटनासँग जोड्ने आधार हो प्रहरीका लागि।

शिवजीकी श्रीमती रामेछापमा बस्दै आएकी छिन्। तर उनी लामो समयदेखि घरमा नभएको खुलेको छ। प्रहरीले घटना भएपछि रामेछापमा परिवारसँग सम्पर्क हुने आशंकामा निगरानी गरेको थियो। लामो समयसम्म सम्पर्क भएको देखिएन। पछिल्लो समय भने उनी काठमाडौं उपत्यकाभित्र नै रहेको जानकारी पायो प्रहरीले।

'हामीले केही पुराना घटनाको बारेमा अनुसन्धान गरिरहेका छौं। त्यही क्रममा यो घटनालाई पनि हेरेका छौं,' केन्द्रीय अनुसन्धान व्यूरोका डीआइजी धीरजप्रताप सिंहले भने।

शिवजी ललितपुर क्षेत्रमा रहेको र जग्गाको कारोबार गर्ने गरेको पत्तो पाएपछि प्रहरीले खोजी गरेको थियो। ललितपुरका सम्भावित क्षेत्रमा १६ वर्षअघिको फोटो लिएर उनको खोजी गरिएको थियो। १६ वर्षअघि उनले भगवतीसँग स्टुडियोमा खिचाएको फोटो प्रहरीले फेला पारेको थियो।

'१६ वर्षपछि मानिस धेरै परिवर्तन भइसकेको हुन्छ। तर, हामीसँग त्यो भन्दा अरु विकल्प थिएन। त्यसैले उनको नाम लिएर फोटो देखाएर खोजी गरिरहेका थियौं,' अनुसन्धानमा खटिएका ती प्रहरी अधिकृतले भने।

घटना भएपछि केही समय कतै देखिएनन्। तर, पछि तरकारी ओसारपसार गर्ने (पिकअप) गाडी चलाउन थाले। त्यसपछि उनले ट्याक्सीसमेत चलाउने गरेको प्रहरीसँग बयान दिएका छन्। उनको अहिले ललितपुरमा तरकारी पसल छ। १६ वर्षको अवधिमा प्रहरीबाट लुक्दै ललितपुरमा घर जोडेका छन् उनले।

'पछिल्लो समय जग्गाको कारोबार गर्ने गरेको देखियो। ललितपुरमा घर बनाएर छोराछोरीसँग बस्दै आएका थिए। ललितपुरको घरको बारेमा आफ्नै श्रीमतीलाई समेत थाहा नभएको बुझिएको छ,' एक प्रहरी अधिकृतले भने।

महानगरीय प्रहरी वृत्त कालीमाटीले अहिले यस  घटनाको अनुसन्धान गरिरहेको छ। जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अहिले उनीमाथि अनुसन्धान भइरहेको छ। उनले हत्या गरेको प्रमाणित भएमा शिवजीको जीवनका बाँकी समय झ्यालखानामा नै बित्ने छ।

+++

२०६४ माघ २२ गते कपिलबस्तुस्थित शिवराज नगरपालिका ७ स्थित महालक्ष्मी सुगर मिलको कम्पाउण्डभित्र शव फेला पर्‍यो। रुपन्देही घर भएका ४८ वर्षीय प्रकाशनारायण श्रेष्ठको भएको खुल्यो। उनको गोली हानी हत्या गरिएको थियो।

चिनी तयार गर्ने कच्चा पदार्थ उखु गाउँका किसानसँग किनेर सुगरमिलमा बिक्री गर्ने र ठेक्कापट्टाको काम गर्दै प्रकाशनारायण श्रेष्ठलाई त्यसै दिन काम छ भन्दै बोलाइएका थिए। कामकै कुरा होला भन्दै श्रेष्ठ मिल पुगेका थिए। तर, मिल पुग्दा उनलाई जसले फोन गरेका थिए ती मानिस थिएनन्।

एकछिनपछि त्यहाँ केही मानिस आए। सुगरमिलको कम्पाउण्डभित्र गएर आफ्नो मोबाइलमा कुराकानी गरिरहेको अवस्थामा एक्कासी गोली प्रहार गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो। घाइते श्रेष्ठलाई उपचारको लागि लुम्बिनी अस्पताल बुटवल लगिएको थियो। तर, बचाउन सकिएन।

प्रहरीले घटनाको अनुसन्धान गर्दा गोली हान्नेको पहिचान गर्‍यो। उनीहरु थिए- बालाजी चौधरी, असलम मुसलमान, बब्लु भन्ने खुर्सेद आलम खाँ, अजय सिंह भन्ने सुशील तिवारी। मोटरसाइकलमा आएका थिए उनीहरु।

कपिलवस्तु शिवराज नगरपालिका बस्ने बब्लु भन्ने खुर्सेद शहबाज आलम खाँलाई प्रहरीले यही साउन ३० गते नियन्त्रणमा लियो। सोही दिन अजय सिंहलाई तौलिहवा बजारबाट पक्राउ गर्‍यो।

असलम मुसलमान भने योमात्र होइन, २०६५ सालमा कपिलवस्तुको शिवपुरका ४२ वर्षीय विश्वनाथ यादवलाई गोली प्रहार गरी हत्या गरी फरार भएका अभियुक्त समेत रहेछन्। २०७७ चैत २५ गते गते उनी पक्राउ परेका थिए। बाँकी तीन जना भने घटना भएको १४ वर्षपछि समातिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।

उनीहरु घटना भएको केही समय लुकेर बसे पनि त्यसपछि भने सामान्य जीवन बिताइरहेका थिए। उनीहरुलाई प्रहरीले पक्राउ गर्ला भन्ने डरसमेत नभएको समातिएपछि बयान दिएका छन्। त्यस्तै, अहिलेसम्म उनीहरुले घटना आफैंले गरेको स्वीकार गरेका छैनन्।

'राजनीतिक आवरणले पनि उनीहरुमा पक्राउ होइएला भन्ने डर नभएको देखिन्छ। घटना गरेपछि पनि सामान्य घर गृहस्थी गरेर बसेको देखियो,' अनुसन्धानमा खटिएका एक प्रहरीले सुनाए। प्रहरीले उनीहरु विरुद्ध विभिन्न सबुत जम्मा गरेकाले पहिलेको जाहेरीको आधारमा नै नियन्त्रणमा लिएको हो।

+++

२०५७ सालमा यस्तैखाले घटनामा दिलमाया सुनारको शव प्रहरीले फेला पार्‍यो। उनी आफ्नै कोठामा मृत भेटिएकी थिइन्। उनका श्रीमान् दोलखा घर भएका अरुणकुमार रिजाल (सुनार)ले प्रहरीमा निवेदन पनि दिएका थिए। महानगरीय प्रहरी वृत्त कालीमाटीबाट अनुसन्धान भएको थियो घटनाको। घाँटी थिचेर मारिएको थियो उनलाई।

तर, २० वर्षपछि गत भदौंमा एक्कासी अरुणकुमार रिजाललाई नै प्रहरीले पक्राउ गर्‍यो। प्रहरीको अनुसन्धान र केही प्रमाणले श्रीमतीको हत्या उनले नै गरेको खुलेपछि समातेको थियो।

'यो पुरानो घटना हो। हाम्रो टोलीले नै ल्याएको हो। अदालतको आदेशमा अहिले पूर्पक्षको लागि थुनामा छ,' महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी प्रमुख डीएसपी अपिल बोहोराले भने।

श्रीमतीको मृत्यु भएको एक वर्षपछि अरुणले अर्को विवाह गरे। त्यसपछि भक्तपुरको दधिकोटमा डेरा गरि बस्न थाले। सामान्य मजदुरीको काम गर्ने अरुणलाई प्रहरीले यसरी समात्ला भन्ने नै थिएन। उनी निर्धक्क भएर हिँडिरहेका थिए। २० वर्षपछि भने उनी समातिए।

'उसलाई कुनै चिन्ता नै थिएन। मैले हत्या गरेको होइन नै भन्थ्यो। तर, प्रमाणले पुष्टि भएपछि अदालतको आदेशमा थुनामा छ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए। उनले श्रीमतीको हत्यापछि पनि उपत्यका छोडेनन्।

+++

यी पछिल्ला पक्राउ परेका केसहरुले के देखाएको छ भने - जस्तोसुकै अपराध गरे पनि मानिसहरु सामान्य हिसाबले बसिरहेको हुनसक्छन्। उनीहरुको सामाजिक र पारिवारिक जीवन पनि अरु झै चलिरहेको हुनसक्छ। तर, जतिसुकै सहज अवस्थामा जीवनयापन गरिरहे पनि कुनै पनि समय कानुनको फन्दा उनीहरुका लागि कुरिरहेको हुनसक्छ भन्ने पनि स्थापित भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell