PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

राखेप कर्मचारी संघको प्रधानमन्त्रीसँग पाँच बुँदे माग : ओलम्पिकमा खेलकुदमाथि 'जघन्य अपराध' भयो



पहिलोपोस्ट

राखेप कर्मचारी संघको प्रधानमन्त्रीसँग पाँच बुँदे माग : ओलम्पिकमा खेलकुदमाथि 'जघन्य अपराध' भयो
फाइल फोटो : कर्मचारी संघका अध्यक्ष रञ्जन थापा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ। शुक्रबार बालुवाटरमा संघका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको संघको प्रतिनिधि मण्डलले विभिन्न पाँचबुँदे माग राख्दै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्रमा लामो समय देखि बढुवा नभएको, करार व्यवस्थापन गर्नु पर्ने, स्थाई प्रक्रिया थाल्नु पर्ने, कर्मचारीहरुलाई प्रदेशमा समायोजन नगरी काजमा खटाईएकोमा समायोजन गर्नु पर्ने माग गरिएको छ। यस्तै, उपदान रकम १५ प्रतिशत कट्टा गरिएकोमा निजामती कर्मचारी सरह नै ५ प्रतिशत मात्रै कट्टा गर्नु पर्ने र निजामती कर्मचारी सरहनै सेवा तथा सुविधा प्राप्त गर्नु पर्ने माग समेत गरिएको छ। उनीहरुले मागहरुको कार्यान्वयनका लागि छिटो पहल गर्न समेत आग्रह गरेका छन्।

त्यस्तै ओलम्पिकका क्रममा खेलकुद भन्दा बाहिरका मानिसहरुलाई व्यवस्थापक बनाएर विदेश पठाउनु खेलकुद माथि जघन्य अपराध भएको  ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

'हालै जापानमा भएको ३२ औं गृष्मकालिन ओलम्पिक खेलकुदमा एथ्लेटिक्स खेलाडी गोपीचन्द्र पार्की र एथ्लेटिक्स प्रशिक्षक इन्द्र मल्ललाई खेलकुदको उच्च निकायले अन्तिम समयमा अपमानित ढंगले सहभागिताबाट बञ्चित गरेको र एकजना खेलाडीका लागि दुई जना सम्बन्धित खेलभन्दा बाहिरका (आफ्ना निकटलाई) व्यवस्थापक बनाएर राज्यकोषबाट खर्च गरेर विदेश शयर गराउने कार्य नितान्त खेलकुदमाथि गरिएको जघन्य अपराध हो' ज्ञापन पत्रमा भनिएको छ।

ओलम्पिकका लागि तयारी गरेका गोपी चन्द्र पार्की अन्तिमसमयमा कोटा नमिलेको भन्दै ‌ओलम्पिकबाट बञ्चित भएका थिए भने प्रशिक्षक मल्ललाई कोभिडको कारण देखाउँदै टोकियो जाने टोलीबाट बाहिर राखिएको थियो। यसअघि पनि संघले पत्रकार सम्मेलन गरेर पार्की र खासगरी मल्लमाथि षड्यन्त्र गरिएको दाबी गरेको थियो।

संघले इन्द्राको रिपोर्ट पाँच पटक नेगेटिभ आएपनि कमिटीले वेबास्ता गरेको आरोप समेत लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell