PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

दुई सांसद्को भरोसामा मुख्यमन्त्री शाक्यको भविष्य, एकताको सुत्रधार हुन् कि राजनीतिको मोहरा?



निशा गुरुङ

दुई सांसद्को भरोसामा मुख्यमन्त्री शाक्यको भविष्य, एकताको सुत्रधार हुन् कि राजनीतिको मोहरा?

हेटौंडा : डोरमणि पौडेल नेतृत्वको सरकारमाथि निरन्तर धावा बोल्दै आएकी माधवकुमार नेपाल समूहकी अष्टलक्ष्मी शाक्य अचानक ‘यु टर्न’ हुँदै ओली समूहकै सहयोगमा वाग्मती प्रदेशी मुख्यमन्त्री बनेकी छन्।

माधव पक्ष पार्टी विभाजनपछि दर्ता प्रक्रियामा रहेका बेला शाक्य एकाएक ओली टिमबाट मुख्यमन्त्री बन्दा राजनीतिक विश्लेषक समेत चकित छन्।

‘म अहिले पनि माधव नेपाल पक्षकै हुँ’ भन्दै शाक्यले अब पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपालको विषयमा कुनै अभिव्यक्ति नदिने बताइन्। उनले पार्टी एकताका लागि मुख्यमन्त्री बनेको भन्दै देश र जनताका आवश्यकतालाई मध्यनजर गर्दै प्रदेश सरकारले काम गर्ने दाबीसमेत गरिन्।

'केन्द्रमा चर्को विवाद रहे पनि हामीले प्रदेशमा छक्कै पार्ने गरी नीति तथा कार्यक्रम र बजेट पास गराउन समर्थन दिएका थियौं। फेरि पनि हामी पार्टी एकता जोगाउनेतिर लागेका छौं,' शाक्यले भनिन्।

आफूलाई पौडेलले पहिलेदेखि मुख्यमन्त्री बनाउन प्रस्ताव गरे पनि प्रदेश सरकारको समयावधि डेढ वर्षमात्र रहेको हुँदा आफू मुख्यमन्त्री बन्न नचाहेको बताउँदै आएकी शाक्यले नेकपा एमाले एकतावद्ध बनाउन आफूले परिस्थितिलाई व्यवस्थापन गरेको तर्क गरेकी छिन्।

सविधानको धारा १६८ (१) अनुसार बहुमतका आधारमा मुख्यमन्त्री नियुक्त भएका कारण तत्काल विश्वासको मत लिनु नपर्ने सुविधा उनीसँग छ।

तर, एमाले विभाजन भइसकेको छ। नेपाल समूहको दलले आधिकारिकता पाएपछि कांग्रेस, माओवादी केन्द्र र जसपासँगको गठबन्धनले ढिलो-चाँडो उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सक्ने सम्भावना पनि छ।

यदि उनले टिम परिवर्तन नगरे उनको पद अबको १५ दिनसम्म मात्र रहने ओली पक्षको भनाइ छ। पार्टी दर्ता भएको १५ दिनमा टुंगो लाग्ने बित्तिकै नेकपा एमालेमा दुई धार हुने हुँदा उनलाई मुख्यमन्त्रीको पद जोगाउन कठिन देखिएको हो।

माधवकुमार नेपालले मुख्यमन्त्रीमा शाक्य नियुक्त भएकै दिन बुधवार वाग्मती प्रदेशसभाका ५ जना सांसद्लाई समेत समेटेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्। वाग्मती प्रदेशसभा सांसद् राजेन्द्र पाण्डे, कृष्णप्रसाद खनाल, मुनु सिग्देल, रमा आले र वसन्त मानन्धर एमालेबाट फुटेर बनेको माधव नेपालको नेतृत्वमा बनेको नयाँ पार्टीका केन्द्रीय सदस्यमा समेटिएका हुन्। खनाल, भर्खर प्रदेशका सामाजिक विकास मन्त्री बनेका छन्।

तर, निवर्तमान मुख्यमन्त्री पौडेलले माधवकुमार नेपालको पार्टीमा नाम आए पनि ३ जनाले आफूहरु एमालेमै रहेको जानकारी गराएको दाबी गरेका छन्। सोही अनुसार खनाल प्रदेशका मन्त्री बनेका हुन्। माधव समूहका राजेन्द्र पाण्डे हेटौंडामा के भइरहेको छ भन्ने विषयमा नबोल्ने भन्दै पन्छिएका छन्।

हालको अंक गणितअनुसार नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलमा २ जना प्रदेशसभा सदस्यले साथ छाडे शाक्य अल्पमतमा पर्नेछिन्। १५ दिनपछि एमाले समाजवादीमा आउने आशा बोकेका माधव पक्षीय नेताहरु शाक्यलाई गठबन्धनबाट बहुमत पुर्‍याएर नेकपा एमालेलाई प्रमुख प्रतिपक्ष दल बनाउने दाउमा छन्। त्यसकारण शाक्यको मुख्यमन्त्रीमा भविष्य १५ दिनपछि कस्तो हुने भन्ने टुंगो लाग्ने बताइन्छ।

माधव पक्षका नेता पूर्वमन्त्री अरुण नेपालले भने शाक्य अचानक मुख्यमन्त्री भएको देखिए पनि यो लामो अभ्यास पश्चात् सम्भव भएर एकता भएको बताएका छन् । उनले संसदीय दलमा बिभिन्न गुटका साथीहरु भए पनि यो पक्ष वा त्यो पक्षको चर्चा जरुरी नभएको दाबी गरे।

‘केन्द्रमा साथीहरु पार्टी एकताका निम्ति लागिपरेका छन् । गुटउपगुट भन्ने बुझ्नु हुँदैन,’ उनले भने। उनले नेकपा एमाले मिल्नुबाहेक विकल्प नभएको दाबी गर्दै माधव नेपालले पार्टी दर्ता गर्न नपर्ने बताए।

नेपाल पक्षका नेतृत्वको पार्टीमा केन्द्रीय सदस्य सांसद् सिग्देल नेकपा एमाले बहुमतको सरकार भएको हुँदा विश्वासको मत लिनुपर्ने जरुरी नभएको बताइन्। उनले मुख्यमन्त्री बनाउनका लागि आफूहरुले गरेको पहलबाट नै यो सार्थक भएको बताउँदै निवर्तमान मुख्यमन्त्री पौडेलले प्रस्ताव गरेर मुख्यमन्त्री बन्दैमा वर्तमान मुख्यमन्त्री शाक्य नेकपा एमालेकै भइसकेको सोच गलत रहेको बताइन्। यदि पार्टी विभाजनमा आएर अविश्वास प्रस्ताव दर्ता भएको अवस्थाबारे आफूहरुले केही निर्णय नलिएको उनले बताइन्।

 

शाक्य सरकार केही दिनमै ढल्ने!

नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता शालीकराम जम्कट्टेलले दल विभाजनपछि निर्णय लिने बताउँदै हाल एकल बहुमतको सरकार भएका कारण अविश्वास प्रस्ताव दर्ता नहुने बताए।

नेपाली कांग्रेस वाग्मती प्रदेशमा प्रवक्ता प्रभात तामाङले भने पौडेलको सरकार ढल्ने भएपछि शाक्यलाई मोहरा बनाएर मुख्यमन्त्री बनाइएको आरोप लगाए।

उनले पार्टी विभाजन भइसकेपछि माधव पक्षतिर आएमात्र नेपाली कांग्रेसले विश्वासको मत दिने र ओली गुटमै बसेको अवस्थामा भने विश्वासको मत दिन नसकिने भन्दै केही दिनमै शाक्य सरकार ढल्ने दाबी गरे। उनले शाक्यले निर्णय लिन नसके अर्को सरकार चयनको प्रक्रिया सुरु हुने बताए।

विवेकशील साझा पार्टीका सांसद रमेश पौड्यालले हाल उक्त प्रश्नको जवाफ दिनु हतार हुने बताए। उनले मुख्यमन्त्रीले केकस्ता योजना र दृष्टिकोणहरु अघि सार्छिन्, कसरी प्रदेशसभाबाट विश्वासको मत लिने स्थितिसम्म पुग्छिन् भन्ने आधारमा उपयुक्त समयमा पार्टीमा छलफल गरेर निर्णयमा पुगिने बताए।

वाग्मती प्रदेशमा नेकपा एमालेका ५६, माओवादी केन्द्रका २३, कांग्रेसका २२ जना, विवेकशील साझाका ३ जना, मजदुर किसान पार्टीका २ जना, राप्रपाका २ र १ जना स्वतन्त्र गरी १०९ सांसद् छन्।

नेकपा एमाले विभाजन अघि वाग्मती प्रदेशमा केपी ओली पक्षका ३४ र माधव नेपाल पक्षका २२ सांसद् थिए। तत्कालीन समयमा माधव नेपाल समूहका २२ मध्ये राजेन्द्र पाण्डेको पक्षमा १२ सांसद् रहेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell