PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

साफबारे अलमुताइरी : प्रतियोगिताको सुरुवात कठिन हुनेछ, पराजित भए मेरो गल्ती



पहिलोपोस्ट

साफबारे अलमुताइरी : प्रतियोगिताको सुरुवात कठिन हुनेछ, पराजित भए मेरो गल्ती
फाइलफोटो

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि नेपालको तयारी राम्रो भएको बताएका छन्। उनले नेपालले साफमा अहिलेसम्म उपाधि जित्न नसकेकाले यसपटक पनि प्रतिस्पर्धा कडा गर्नुपर्ने बताएका छन्।

'नेपालले अहिलेसम्म साफको ट्रफी जित्न सकेको छैन। त्यसैले पनि यो महत्वपूर्ण छ,' उनले भने, 'तर खेलाडीलाई धेरै दबाब पनि दिनु हुँदैन। यदि साफ कपमा हामी पराजित भए त्यो मेरो गल्ती हुनेछ र हामीले जिते सबै क्रेडिट खेलाडीलाई जानेछ।'

साफ अघि भारतसँग हुने दुई मैत्रीपूर्ण खेल धेरै महत्वपूर्ण हुने उनको तर्क छ।

'विश्वकप क्वालिफायर्समा र अहिले हामीमा धेरै परिवर्तन भएको छ। किनभने अहिले मैले खेलाडीसँग धेरै समय पाएको छु। विश्लेषणका लागि समय मिलेको छ' उनले भने।

अक्टोबर महिनामा हुने साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। अक्टोबर १ मा माल्दिभ्सको राजधानी मालेस्थित नेशनल फुटबल स्टेडियममा सुरु हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमै माल्दिभ्सको सामना गर्ने भएको हो।

त्यस्तै नेपालले दोस्रो खेल अक्टोबर ३ मा श्रीलंकाविरुद्ध, अक्टोबर ८ मा भारतविरुद्ध र बंगलादेशविरुद्ध अक्टोबर १० मा खेल्नेछ। फाइनल खेल अक्टोबर १३ मा शीर्ष दुई टिमबिच हुनेछ।

नेपाली टोली पछिल्लो समय साफ च्याम्पियनसिपको तयारीका लागि पोखरामा अभ्यासरत छ। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell