PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

कोभिड-१९ को संक्रमणबाट थप २६ जनाको मृत्यु, ३०४२ जना संक्रमित पहिचान, ४४ जना १० वर्ष मुनिका बालबालिका



पहिलोपोस्ट

कोभिड-१९ को संक्रमणबाट थप २६ जनाको मृत्यु, ३०४२ जना संक्रमित पहिचान, ४४ जना १० वर्ष मुनिका बालबालिका
कोभिड-१९ विरुद्धको खोप लगाउँदै एक विद्यार्थी। पछिल्लो २४ घण्टामा नेपालमा एक लाख ८ हजार २८ जनालाई खोप दिइएको छ।

काठमाडौं : नेपालमा थप तीन हजार ४२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको कुल परीक्षणको १७.२३ प्रतिशतमा संक्रमण पुष्टि भएको मन्त्रालयले पुष्टि गरेको छ। 

पछिल्लो २४ घण्टामा १० हजार ५३० आरटी-पीसीआर परीक्षण र सात हजार १२४ एन्टिजेन परीक्षण भएको छ। जसमध्ये आरटी-पीसीआर परीक्षणका क्रममा दुई हजार ७९ जना र एन्टिजेन परीक्षणका क्रममा ९६३ जना कोभिड-१९ संक्रमित पहिचान भएका हुन्। 

यससँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ८ लाख २३ हजार ६४७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार २४४ जना संक्रमित संक्रमण मुक्त भएका छन्। 

यससँगै हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको संख्या ९३.१८ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 
त्यस्तै पछिल्लो २४ घण्टामा २६ जना कोभिड-१९ सं‌क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। यससँगै

नेपालमा मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ। यो कुल संक्रमितको १.५ प्रतिशत हो। 

नेपालमा हाल कुल संक्रमितको ५.४२ प्रतिशत सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

हाल नेपालमा ३६ हजार ९२२ संक्रमित होम आइसोलेसनमा र तीन हजार २८७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। सक्रिय संक्रमित मध्ये ७१४ जनाको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। जसमध्ये १७१ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ। 

उपत्यकामा थप ८९८ जना संक्रमित पहिचान
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ८९८ जना संक्रमित पहिचान भएका छन्। जसमध्ये काठमाडौं जिल्लामा ६०४, ललितपुरमा १८७ र भक्तपुर जिल्लाका १०७ जना छन्। 

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं पछि सबैभन्दा बढी कास्की जिल्लामा २२९ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, मोरङ जिल्लामा १५० जना थप संक्रमित पहिचान भएका छन्। 

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी ३१-४० उमेर समूहका रहेको मन्त्रालयले जनाएको छ। यो उमेर समूहका ५३२ जनामा संक्रमण पुष्टि हुँदा २१ देखि ३० वर्ष उमेर समूहका ५०७ जना संक्रमित पहिचान भएका छन्। 

पछिल्लो २४ घण्टामा ४१ देखि ५० वर्षको उमेर समूहका २१७ जना छन्। त्यस्तै १० वर्ष मुनिका ४४ जनामा संक्रमण पुष्टि भएको छ। ११ देखि २० वर्ष उमेर समूहका १६० संक्रमित पहिचान भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell