PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

गण्डकीमा माधव पक्ष कमजोर, ओलीको दम्भले पार्टी फुटेको ठहर



रिना थापा

गण्डकीमा माधव पक्ष कमजोर, ओलीको दम्भले पार्टी फुटेको ठहर

पोखरा : दल विभाजनलाई सघाउन सरकारले अध्यादेश ल्याएपछि नेकपा एमालेलाई विभाजनको बाटो खुल्यो। बुधवार नै माधव नेपाल समूह नयाँ पार्टीको नाम र चुनाव चिन्ह सहित नयाँ दल दर्ता गराउन निर्वाचन आयोग पुगे।

योसँगै एमाले अध्यक्ष केपी ओली र नेपालबीच एक वर्ष यता चलेको लामो शक्ति संघर्षले नयाँ बाटो समातेको छ। नेपाल समूहले नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला पुस्तक राख्ने माग गर्दै आयोगमा निवेदन दिएको थियो। निर्वाचन आयोगले नेपाल समूहले माग गरे बमोजिम नेकपा एमाले (समाजवादी) नाम नदिने भएपछि नयाँ पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) राखिने भएको छ।

नेपालको नेतृत्वमा ९५ सदस्यीय केन्द्रीय कमिटीको नाम निर्वाचन आयोगमा गएको छ। पार्टीभित्रको आन्तरिक कलहले निम्त्याएको फुटको प्रभाव प्रदेशमा देखिन थालेको छ। केन्द्रमा पार्टीको कलहको बाछिटो प्रदेश र स्थानीय तहसम्म पुगेको छ।

पकड बलियो मानिएको नेपालको क्षेत्रमा उनको पकड कमजोर बनिरहेको छ। केही स्थानमा नेपाल समूहका सदस्य ओली समूह प्रवेश गरिरहेका छन्। केही पार्टी एकतालाई समर्थन गर्दे तटस्थ बसेका छन्।

माधव नेपालका लागि गण्डकी प्रदेश भने कमजोर मानिएको स्थान हो। प्रदेशमा नेपाल पक्षको पकड राम्रो छैन। प्रदेशसभाको ३६ र प्रतिनिधिसभाको १८ निर्वाचन क्षेत्रमध्ये माधव नेपाल समूहबाट प्रदेशसभामा एक जनाले मात्र सिट जिते।

बागलुङबाट प्रदेशसभा सदस्यको सिट जित्ने इन्द्रलाल सापकोटा थिए। बागलुङमा नेपाल पक्षको राम्रै पकड रहेको मानिन्छ।

त्यससमय नेपाल समूहले समानुपातिकमा समेत स्थान पाएनन्। त्यससमय निर्वाचनमा आफनो गुटलाई छुट्टाएकोमा नेपाल पक्ष असन्तुष्ट थियो।

आफ्नो क्षेत्रमा राम्रो पकड र प्रभाव भएकाले समेत टिकट पाउन सकेनन्। प्रभावशाली मानिएका कास्कीका चूडामणि जंगली, सीता गिरी वली, तुलबहादुर गुरुङ, श्रीनाथ बराल, मुस्ताङकी श्रीमाया थकाली र नवलपुरका रवीन्द्र अधिकारी लगायत नेताहरुको त्यससमय टिकट पाएनन्।

नेपाल समूहले बुधवार बुझाएकोमध्ये गण्डकीबाट जम्मा ९ जना केन्द्रीय सदस्य छन्। प्रदेशबाट केन्द्रीय सदस्यमा कास्कीका तुलबहादुर गुरुङ, श्रीनाथ बराल, चूडामणि जंगली र दिलुकुमारी पन्त छन् भने तनहुँबाट प्रतापलाल श्रेष्ठ र रेखा थापा, स्याङ्जाकी शर्मिलाकुमारी पौडेल, पर्वतका विजय गुरुङ छन्।

गण्डकीमा दल विभाजनले दरो प्रभाव नदेखाएपनि नेताहरु दूई कित्तामा उभिएका छन्। विभाजनको पक्ष र विपक्षमा उभिनेहरुको आ-आफनै विचार छ।

नेपाल पक्षका नेता चूडामणि जंगली दल विभाजनलाई समयअनुरुपमा हेर्नुपर्ने बताउँछन्। यता माधव नेपाल समूहकी प्रभावशाली नेतृ श्रीमाया थकाली भने पार्टी एकताको पक्षमा छिन्।

दल विभाजन गरेर नेपाल पक्षसँग लाग्न नसक्ने उनको भनाइ छ। प्रभावशाली मानिएका नेपाल पक्षका नवलपूरका अर्का नेता रविन्द्र अधिकारीले पनि नेपालको साथ छोड्ने भएका छन्।

गण्डकीमा भएका नेपाल पक्षका एकमात्र प्रदेश सांसद इन्द्रलाल सापकोटा समेत पार्टी एकतालाई जोड दिनुपर्ने बताउँछन्। नेपाल पक्षका नेता रहेपनि सापकोटा प्रदेशमा पृथ्वीसुब्बा गुरुङसँग निकट छन्।

प्रदेशमा दुई महिनासम्म राजनीतिक सरगर्मी चलिरहँदा सापकोटाले गुरुङको साथ छोडेनन्। सापकोटाले नेपाल पक्षको साथ छोड्छन् भन्ने आँकलन गरिएको छ।

केपीको निरंकुश शासन शैलीको कारण तत्कालको समयमा दल विभाजन बाध्यकारी निर्णय भएको कास्कीका नेपाल पक्षका नेता चूडामणि जंगलीको धारणा छ।

‘केपी ओलीको विचार सिद्धान्त, दृष्टिकोण उहाँको अहंकार दम्भ र निरंकुश शैलीले गर्दा पार्टी विभाजन भयो। पार्टी विभाजन आफैमा राम्रो त होइन, कार्यकर्तादेखि जनता सबै दुखी छन्’, चूडामणिले भने,‘विभाजनको कुरामा खुशी हुनु भएन तर छुट्नुपर्ने कारण ओली आफैं हुन् उनको अहंकारले आज यहाँ भएका हौं।’

ओली र नेपालबीच शक्ति संघर्ष चलिरहँदा दलहरुको पार्टी एकतामा जुटिरहेका थिए। पार्टी एकताका लागि गत चैतमा माधव नेपाल समूहले गण्डकीमा समानान्तर कमिटी बनाएको थियो। अहिले उक्त कमिटीलाई माधव नेपाल समूहले नयाँ पार्टीको कमिटीको रुपमा चलाउने जनाएको छ।

‘हाम्रो सबै जिल्लामा कमिटीहरु छन्। अब तिनै कमिटीलाई आयोगले पार्टीको नाम अनुमति दिए अनुसार नेपाल पक्षकोमा चलाउने हो’, उनले भने, ‘तत्कालका लागि पार्टी एकताको सम्भावना कम छ। सहमतिको वातावरण कहिले हुन्छ थाहा छैन।’

दल विभाजन गरेर नेपाल समूहले नयाँ यात्रा शुरु गरेपनि गण्डकीमा भने बाटो अप्ठ्यारो छ। केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म गण्डकीमा ओलीको पकड राम्रो छ।

नेपाल पक्षबाट गण्डकीमा एक प्रदेशसभा सदस्य, प्रतिनिधिसभामा दूईजना सदस्य छन्। गण्डकीबाट प्रतिनिधिसभा सदस्य रहेका तनहुँका कृष्णकुमार श्रेष्ठ दूई महिना अघिमात्र ओली पक्षको साथ छोडेर नेपाल पक्षमा आएका हुन्।

प्रतिनिधिसभा सदस्यमा नेपाल पक्षकी अर्की सांसद हुन् कलिला खान। तनहुँकी खान समानुपातिक सांसद हुन्।

केन्द्रीय सदस्यका लागि दुवै सांसदको नाम बिहीवार आयोगमा थपिएको जनाइएको छ। (क्रस चेक गरिदिनुहोला यो चाहिँ नभए हटाइदिनु होला।) गण्डकीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका चार जना एमालेका सांसद ओली समूहका हुन्। पर्वतका राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, लमजुङकी दीपा गुरुङ, तनहुँकी भगवती पाण्डे र बागलुङकी शान्ती कुमारी जिसी ओली पक्षका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell