PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

गण्डकीमा माधव पक्ष निकै कमजोरः ओलीमाथि आरोप, 'दम्भले पार्टी विभाजनसम्म पुर्‍यायो'



रिना थापा

गण्डकीमा माधव पक्ष निकै कमजोरः ओलीमाथि आरोप, 'दम्भले पार्टी विभाजनसम्म पुर्‍यायो'

पोखरा: दल विभाजन सहज हुनेगरि अध्यादेश जारी भएपछि नेकपा (एमाले) फुट्यो। बुधबार अध्यादेश जारी भएकै दिन नेता माधव नेपाल समूहले नयाँ पार्टी दर्ताको प्रक्रिय अघि बढायो।

यो सँगै अध्यक्ष केपी शर्मा ओली र नेपालबीचको लामो विवादको शृङ्खलाले नयाँ बाटो समातेको छ। नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) र चुनाव चिह्न खुला पुस्तक राख्ने प्रस्ताव निर्वाचन आयोगसमक्ष गरेको छ। एमाले समाजवादी दर्ताको प्रक्रिया अघि बढाएको नेपाल पक्षले आयोगको रेड सिंग्नलपछि नाम संशोधन गरेको हो।

पार्टीभित्रको आन्तरिक कलहले निम्त्याएको फुटको प्रभाव प्रदेशमा देखिन थालेको छ। केन्द्रमा पार्टी विभाजनको बाछिटा प्रदेश र स्थानीय तहसम्म पुगेको छ।

केही स्थानमा नेपाल समूहका सदस्य ओली समूह प्रवेश गरिरहेका छन्। केही पार्टी एकतालाई समर्थन गर्दे तटस्थ बसेका छन्।

के छ गण्डकीमा?

माधव नेपालका लागि गण्डकी प्रदेश भने कमजोर मानिएको स्थान हो। प्रदेशमा नेपाल पक्षको पकड राम्रो छैन। प्रदेश सभाको ३६ र प्रतिनिधि सभाको १८ निर्वाचन क्षेत्रमध्ये माधव नेपाल समूहबाट प्रदेश सभामा एक जनाले मात्र सिट जिते।

बागलुङबाट प्रदेशसभा सदस्यको सिट जित्ने इन्द्रलाल सापकोटा थिए। बागलुङमा नेपाल पक्षको राम्रै पकड रहेको मानिन्छ।

त्यस समय नेपाल समूहले समानुपातिकमा समेत स्थान पाएनन्। त्यस समय निर्वाचनमा आफ्नो गुटलाई छुट्टाएकोमा नेपाल पक्ष असन्तुष्ट थियो। आफ्नो क्षेत्रमा राम्रो पकड र प्रभाव भएकाले समेत टिकट पाउन सकेनन्। प्रभावशाली मानिएका कास्कीका चुडामणि जंगली, सीता गिरी वली, तुलबहादुर गुरुङ, श्रीनाथ बराल, मुस्ताङकी श्रीमाया थकाली र नवलपुरका रवीन्द्र अधिकारीलगायत नेताहरुको टिकट पाएनन्।

नेपाल समूहले बुधबार बुझाएको नामावलीमध्ये गण्डकीबाट ९ जना केन्द्रीय सदस्य छन्। कास्कीका तुलबहादुर गुरुङ, श्रीनाथ बराल, चुडामणि जंगली र दिलुकुमारी पन्त छन्। तनहुँबाट प्रतापलाल श्रेष्ठ र रेखा थापा, स्याङ्जाकी शर्मिलाकुमारी पौडेल, पर्वतका विजय गुरुङ छन्।

गण्डकीमा दल विभाजनले ठूलो प्रभाव नदेखिए पनि नेताहरु दूई कित्तामा उभिएका छन्। विभाजनको पक्ष र विपक्षमा उभिनेहरुको आ-आफनै विचार छन्।

नेपाल पक्षका नेता चूडामणि जंगली दल विभाजनलाई समयअनुरुपमा हेर्नुपर्ने बताउँछन्। यता माधव नेपाल समूहकी प्रभावशाली नेतृ श्रीमाया थकाली भने पार्टी एकताको पक्षमा छिन्।

दल विभाजन गरेर नेपाल पक्षसँग लाग्न नसक्ने उनको भनाइ छ। प्रभावशाली मानिएका नेपाल पक्षका नवलपुरका अर्का नेता रवीन्द्र अधिकारीले पनि नेपालको साथ छोड्ने भएका छन्।

गण्डकीमा भएका नेपाल पक्षका एक मात्र प्रदेश सांसद इन्द्रलाल सापकोटा समेत पार्टी एकतालाई जोड दिनुपर्ने बताउँछन्। नेपाल पक्षका नेता रहे पनि सापकोटा प्रदेशमा पृथ्वीसुब्बा गुरुङसँग निकट छन्।

प्रदेशमा दुई महिनासम्म राजनीतिक सरगर्मी चलिरहँदा सापकोटाले गुरुङको साथ छोडेनन्। सापकोटाले नेपाल पक्षको साथ छोड्छन् भन्ने आँकलन गरिएको छ।

केपीको निरंकुश शासन शैलीको कारण तत्कालको समयमा दल विभाजन बाध्यकारी निर्णय भएको कास्कीका नेपाल पक्षका नेता चुडामणि जंगलीको धारणा छ।

‘केपी ओलीको विचार सिद्धान्त, दृष्टिकोण उहाँको अहंकार दम्भ र निरंकुश शैलीले गर्दा पार्टी विभाजन भयो। पार्टी विभाजन आफैँमा राम्रो त होइन, कार्यकर्तादेखि जनता सबै दुःखी छन्’, चुडामणिले भने,‘विभाजनको कुरामा खुसी हुनु भएन तर छुट्नुपर्ने कारण ओली आफैँ हुन् उनको अहंकारले आज यहाँ भएका हौं।’

ओली र नेपालबीच शक्ति संघर्ष चलिरहँदा दलहरुको पार्टी एकतामा जुटिरहेका थिए। पार्टी एकताका लागि गत चैतमा माधव नेपाल समूहले गण्डकीमा समानान्तर कमिटी बनाएको थियो। अहिले उक्त कमिटीलाई माधव नेपाल समूहले नयाँ पार्टीको कमिटीको रुपमा चलाउने जनाएको छ।

‘हाम्रो सबै जिल्लामा कमिटी छन्। अब तिनै कमिटीलाई आयोगले पार्टीको नाम अनुमति दिए अनुसार नेपाल पक्षकोमा चलाउने हो’, उनले भने, ‘तत्कालका लागि पार्टी एकताको सम्भावना कम छ। सहमतिको वातावरण कहिले हुन्छ थाहा छैन।’

दल विभाजन गरेर नेपाल समूहले नयाँ यात्रा सुरु गरे पनि गण्डकीमा भने बाटो अप्ठ्यारो छ। केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म गण्डकीमा ओलीको पकड राम्रो छ।

नेपाल पक्षबाट गण्डकीमा एक प्रदेश सभा सदस्य, प्रतिनिधि सभामा दुई जना सदस्य छन्। गण्डकीबाट प्रतिनिधि सभा सदस्य रहेका तनहुँका कृष्णकुमार श्रेष्ठ हालै ओली पक्षको साथ छोडेर नेपाल पक्षमा आएका हुन्।

प्रतिनिधि सभा सदस्यमा नेपाल पक्षकी अर्की सांसद हुन् कलिला खातुन। तनहुँकी खातुन समानुपातिक सांसद हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell