PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

फाइजर बन्दैछ पहिलो कोभिड १९ विरुद्धको पूर्ण अनुमति पाउने खोप, भ्याक्सिनविरुद्धको आशंका मेटिने विश्वास



पहिलोपोस्ट

फाइजर बन्दैछ पहिलो कोभिड १९ विरुद्धको पूर्ण अनुमति पाउने खोप, भ्याक्सिनविरुद्धको आशंका मेटिने विश्वास
Paul Hennessy | NurPhoto | Getty Images

संयुक्त राज्य अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले सोमवारभित्र फाइजर-बायोएनटेकलाई कोभिड १९ विरुद्धको खोपका रुपमा पूर्ण स्वीकृति दिने न्युयोर्क टाइम्सले जनाएको छ। स्वीकृतिसँगै यो आपतकालीन प्रयोगबाट पूर्ण रुपमा प्रयोगमा आउने पहिलो कोरोना भाइरसविरुद्धको खोप हुनेछ।

पूर्ण रुपमा स्वीकृति पाउनुको अर्थ हो धेरैभन्दा धेरै मानिसमा खोपको वातावरण तयार हुनु। यसो भएमा व्यवसाय र स्कुलहरुले समेत खोपलाई अनिवार्य गराउन सक्छन्।

पूर्ण अनुमतिका लागि फाइजरले दिएको निवेदनमाथि 'रिभ्यु' जारी छ। त्यसले सोमवार भनिए पनि केही समय ढिला हुन सक्ने बताइएको छ। अहिलेसम्म संसारमा जेजति खोपहरु सञ्चालनमा ल्याइएको छ ती सबै आपतकालीन प्रयोगका लागि अनुमति पाएका हुन्। कोभिड १९ को संक्रमण यति तीब्र गतिमा बढ्यो कि त्यसविरुद्ध तयार भएका खोपहरु पूर्णरुपमा अनुमति प्राप्त नहुने अवस्थामा नै प्रयोगमा ल्याइयो।

आपतकालीन रुपमा ल्याइएका खोपहरु थोरै समयको परीक्षणमै मानव शरीरमा लगाइएको हो। यद्यपि, अधिकांश खोपले कोभिड १९ विरुद्ध काम गरिरहेको छ।

स्रोतहरुलाई उल्लेख गरेर न्युयोर्क टाइम्सले फाइजरले पूर्ण अनुमति पाउन लागेको समाचार दिए पनि एफडीएले भने यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको सीएनबीसीले जनाएको छ।

अगस्ट ८ मा ह्वाइट हाउसका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले एसोसिएट प्रेसलाई अगस्टभित्र खोपहरुले पूर्ण अनुमति पाउने बताएका थिए

पूर्ण अनुमति प्राप्त भएमा स्कुल तथा उद्योग क्षेत्रमा अनिवार्य खोप सञ्चालन गरेर जनजीवनलाई सामान्य अवस्थामा लैजान सकिने बताइएको छ। पछिल्ला दिनमा कोभिड १९ को संक्रमण बढ्न थालेपछि अमेरिकी कम्पनीहरुले खोपलाई अनिवार्य बनाउने निर्णय गरेका छन्। तर, खोपले पूर्ण अनुमति नपाउँदा उनीहरुले लिएको नीति कार्यान्वयनमा कठिनाई भइरहेको छ।

खोपले काम गर्ने र त्यसले मानव शरीरमा अरुखाले हानी नगर्ने पुष्टि भएपछि पूर्ण अनुमति दिइने गरिन्छ। यो अनुमतिप्राप्त भएपछि अहिले यसप्रति आश्वस्त हुन नसकेका मानिसहरुले पनि खोप लगाउने अपेक्षा गरिएको छ। अमेरिकामा ९ करोड १ लाख मानिसले दुवैमात्र फाइजर खोप लगाइसकेका छन्।

फाइजरले मे महिनादेखि आपतकालीन प्रयोगको अनुमति पाएको थियो। एफडीएले अति प्राथमिकतामा रहेका औषधिको अनुमतिका लागि ६ महिनाको अवधि तय गरेको छ। त्यसअनुसार फाइजरले रिपोर्टहरुसहित निवेदन दिएको हो। यसले अनुमति पायो भने अहिलेको पेन्डेमिक समाप्त भइसकेपछि पनि खोप बजारमा उपलब्ध हुनेछ। साथै, कम्पनीले सोझै खोपको विज्ञापन उपभोक्तामाझ गर्न पाउने छ। अहिले उनीहरुलाई यसखाले विज्ञापन गर्ने अनुमति छैन।

यता, दुवै मात्र खोप पाइसकेका मानिसका लागि बुस्टर डोजको क्लिनिकल ट्रायलमा लागि पनि कम्पनीहरुले निवेदन दर्ता गराइसकेका छन्। सेप्टेम्बरदेखि नै अमेरिकामा यसखाले प्रतिरोधात्मक खोप लगाउन सुरु गरिने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell