PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

वीरगंजका सडकमा मनलाग्दी पार्किङ : आवागमनमा अवरोध हुँदा पनि ट्राफिक प्रहरी भने मौन



राधेश्याम पटेल

वीरगंजका सडकमा मनलाग्दी पार्किङ : आवागमनमा अवरोध हुँदा पनि ट्राफिक प्रहरी भने मौन

वीरगंज : वीरगंजमा अधिकांश सवारी साधन ट्राफिक नियम उल्लंघन गर्दै सार्वजनिक सडकमैं पार्क गर्ने बेथिति बढ्दो छ। वीरगंजका विभिन्न क्षेत्रमा बसपार्क छन्। तर सवारी साधन सडकमै पार्क गर्दा आवागमनमा अवरोधमात्र हैन शहर क्षेत्रलाई कुरुपसमेत बनाएको छ।

पुरानो बसपार्क, नयाँ बसपार्क, मालपोतको पार्किङ स्थल, घण्टाघरस्थित विपी उद्यानमा हालै निर्मित गरी चारवटा पार्किङ स्थल हुँदा पनि सडकमै सवारीसाधन पार्क गर्छन् सवारी प्रयोगकर्ता।

चारवटै पार्किङ स्थलमा वीरगंज महानगरले ठेक्का लगाएको छ। तर प्रहरी प्रशासनको मौनताका कारण सर्वसाधारणले सवारी सडकमै छाड्ने गरेका छन्। जसले वीरगंज बजारको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ।

वीरगंज रजत जयन्ती चोकदेखि नयाँ बसपार्क चोक, प्रतिमा चोक, गण्डक चोकसम्म, बाइपास सडकमा र ४० फिटे सडकखण्डमा पिकअप भ्यान, ट्याक्टर, ट्रक, बसलगायत सवारीसाधन जथाभावी पार्क गरिएको दृश्य अहिले सामान्य बनिसकेको छ। यता वीरगंज बजारको घण्टाघर, माईस्थान, आदर्शनगर, मकालु चोक, बिर्ता चोकलगायतमा पनि हलुका सवारीसाधन पार्क गर्ने चलन बढिरहेको छ। यी सडकहरुमा दैनिक हजारभन्दा बढी गाडीहरु पार्किङ हुने गरेको छ भने ट्राफिक प्रहरी कार्यालयले गैरकानुनी पार्किङमा फाटफुट गाडीलाई मात्र कारबाही गर्ने गरेको छ।

नयाँ बसपार्कमा ६८० वटा गाडी पार्क गर्ने क्षमता छ। पार्किङस्थल ठेक्का लिएका ठेकेदारहरूका अनुसार न्यूनतम शुल्क तिर्नुपर्ने डरले कालो प्लेटका भाडाका सवारीसाधन पनि सडकमैं पार्क गरिन्छ। ठेकेदार कम्पनी एनके इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिका ठेकेदार शिवजी गुप्ताका अनुसार नयाँ बसपार्कमा एउटा गाडी १२ घण्टा पार्क गरे ३ सय रुपैयाँमात्र पार्किङ शुल्क तिर्नुपर्छ। त्यसमा यात्रु विश्रामस्थल, शौचालय, स्नानघरलगायत सुविधा छन्।

यातायात व्यवसायीहरूले २०७६ असोज २६ गते बैठक बसी सार्वजनिक सडकमा गाडी पार्क नगर्ने सहमति गरे तापनि जथाभावी पार्किङ भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्यान नदिँदा जथाभावी गाडी पार्क गर्ने परम्परा बढिरहेको स्थानीयको आरोप छ।

घण्टाघरमा पनि पार्किङस्थल हुँदा पनि लालबङ्गला र विपी उद्यानको अगाडि सडकमैं तीन पाङ्ग्रे र म्याजिक भ्यान पार्क गरी सडक जाम भइरहन्छ। त्यसैगरी, बसपार्कबाट लामो दूरीका लागि छुट्ने बसहरू वीरगंज भन्सार नाकामा गएर यात्रु बोकेर आउने क्रमले हलुका सवारीसाधनको रोजगार खोसिएको गुनासो बढेको छ। पुरानो बसपार्कमा टाटा सुमो र कारबाहेक अन्य सवारीसाधन पार्क गर्ने गरिएको छैन। त्यस्तै, मालपोतको पार्किङस्थलमा मालपोतमा आउने सेवाग्राहीले मात्र साइकल, मोटरसाइकल पार्क गर्छन्। बजार क्षेत्रको सडकमा पार्किङ गर्दा पार्किङ शुल्क नलाग्नेमात्र हैन ट्राफिक प्रहरीले ध्यान नदिँदा अधिकांशले सडककै छेउमा पार्किङ गर्छन्।

यस विषयमा जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी नायब निरीक्षक दीपेन्द्र साहले सार्वजनिक सडकमा जथाभावी गाडी पार्क गर्नेलाई कारबाही गर्ने चेतावनी दिने गरेको बताए। उनले कोरोना महामारीमा गाडी बन्द हुँदा कमै गाडी पार्क हुने गरेको थियो तर अहिले आवागमन बढेपछि चुनौती थपिएको बताए। उनले जथाभावी र नियमविपरीत सवारी पार्क गर्ने गाडीलाई ह्वील लक लगाएर जरिवाना गरिरहेको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell