PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

काबुलका सडकमा मेटिएका अनुहारहरुले के भन्न खोजिरहेको छ ?



पहिलोपोस्ट

काबुलका सडकमा मेटिएका अनुहारहरुले के भन्न खोजिरहेको छ ?

काबुलको शर-ए-नउ शहर। आइतवार तालिवानले अफगानिस्तानको राजधानी नियन्त्रणमा लिनुअघि निकै व्यस्त रहने यो क्षेत्रको मुहार अहिले फेरिएको छ। ब्युटी सैलुन र महिलाका फेसन सामाग्रीको पसलले भरिएको यस क्षेत्रका पसलहरु बन्द छन्। बन्द पसलका सटरहरुमा रहेका महिलाका अनुहार र फोटोहरुमा कालो रंगले 'स्प्रे' गरिएको छ।

अगस्तको पहिलो सातासम्म काबुलका महिला ढुक्क थिए। तालिवान राजधानीमा प्रवेश गर्दैनन्। किनभने राष्ट्रपति असरफ घानीले भनिरहेका थिए - देशमा तालिवानलाई कुनै ठाउँ छैन।

तर, त्यसपछिका दिनहरु सोचे झै भएन। तालिवानले प्रान्तीय राजधानीमाथि कब्जा जमाउँदै गयो। आइतवार 'अपेक्षा गरेभन्दा छिटो' तालिवान काबुल पस्यो। शर-ए-नउका शहरका पसलहरु बन्द भए। काबुलका अन्य व्यस्त बजार बन्द भए। र, सुरु भयो शहरमा 'मोर्डन भेष' मा सजिएका महिलाका तस्विरहरु मेटाउने सिलसिला।

अफगानिस्तान कब्जा गरेको केही दिनपछि सार्वजनिक भएका तालिवानी प्रवक्ता जबुहुल्ला मुजाहिदले विश्व समुदायलाई आश्वास्त पार्न खोजे - महिलाले अधिकार पाउने बताउँदै।

पत्रकार सम्मेलनमा महिला पत्रकारबाटै अफगानी महिलाको अधिकारबारे तिखा प्रश्नको सामना गर्नुपरेको मुजाहिद 'डिपलोमेटिक' सुनिएका थिए। २० वर्ष अघिको तालिवान र अहिलेको तालिवानको सिद्धान्त एउटै भएको तर परिस्कृत रुपमा आफूहरु अघि बढ्ने भन्दै उनले महिला अधिकार इस्लामिक कानुन अन्तर्गत हुने भन्न बिर्सिएनन्।

तर, महिलाले काम गर्न पाउने बताएका उनको कुरा र 'ग्राउन्ड जिरो' को अवस्था भने फरक थियो। केही हप्ता अघिसम्म स्वतन्त्र रुपमा हिँड्डुल गरिरहेका महिला घरभित्रै बस्न बाध्य थिए। कदम निस्किए भने बुर्का अनिवार्य।

अहिले पनि अफगानी महिलाहरु सडकमा निस्किएका छैनन्। जति निस्किएका छन्, तिनीहरु त्रसित छन्। संचार क्षेत्रमा काम गर्ने महिलाहरु अहिले सडकमा रिपोर्टिङ गरिरहेका र टेलिभिजनमा कार्यक्रम संचालन गरिरहेका देखिएका छन्। तर, पहिला भन्दा न्यून संख्यामा। त्यो पनि 'बुर्का'भित्रै।

जब तालिवानले सत्ता कब्जा गर्‍यो त्यही बेलादेखि काबुलमा महिलाको पहिरन बदलिएको छ। मोर्डन पोशाक र आफूलाई मन लागेको पोशाक लगाउन थालेका महिला बुर्कामा ढाकिन थालेका छन्। पुरुषहरु पनि पुरानै शैलीको अफगानी भेषमा देखिन थालेका छन्। अपवाद संख्यामा पुरुषहरु कोट पाइन्टमा पनि देखिएका छन्।

मुजाहिदले 'महिलाहरु हाम्रै समाजको हिस्सा हो। उनीहरुले सबै अधिकार पाउँछन् तर इस्लामिक कानुन अन्तर्गत' भनेर त भने। तर, कस्तो अधिकार भनेर खुलाउन चाहेनन्। नयाँ सरकार गठन भएपछि उसले बनाउने कानुन अन्तर्गत देश चल्ने उनको भनाई थियो। अफगानिस्तानमा तालिवानले आफ्नो सरकार बनाउने तयारी गरिसकेको छ। सत्ताको नेतृत्व गर्न तालिवानी कमान्डरहरु काबुल पुग्नेक्रम जारी छ। तर, त्यसपछि के हुन्छ? महिलाहरु सशंकित छन्। उनीहरु काबुलमा महिलाका अनुहारमा पोतिएको कालोको अर्थ खोजिरहेका छन्।

अन्तर्राष्ट्रिय संचार माध्यमले तालिवानले महिलालाई विमानस्थल प्रवेशमै रोक लगाएको समाचारहरु सम्प्रेसण गरेका छन्। भिसा भएको पासपोर्ट देखाउँदा समेत तालिवान लडाकुले 'सँगै पुरुष किन नभएको' भन्दै फर्काउने गरेको महिलाहरुले बताएका छन्।

फिल्म मेकर शराह कमिरीले ट्वीट गर्दै विमानस्थलमा अमेरिकी सेनाले नै महिला र बालबालिकामाथि दुर्व्यवहार गरेको उल्लेख गरेकी छिन्। उनले संयुक्त राष्ट्र संघ पनि मौन रहेको भन्दै प्रश्न उठाएकी छिन्।

अफगानिस्तानको अहिलेको अवस्थाका लागि उनले राजनीतिक नेतृत्वलाई दोष दिएकी छिन्। साथै, मिडियाले पनि वाक स्वतन्त्रताको दुरुपयोग गरेको बताएकी छिन्।

अगस्तको पहिलो सातामात्रै काबुलमा अवार्ड शोमा सहभागी भएकी उनीजस्तै महिला फिल्ममेकर र कलाकारहरु अहिले दोधारमा छन् - पलायन हुने कि विद्रोह गर्ने ?

तालिवानले सत्ता कब्जा गरेपछि सबै डराएका भने छैनन्। काबुल लगायत केही क्षेत्रमा तालिवानविरुद्ध विद्रोह भइरहेको छ। तालिवानले अफगानी झण्डालाई हटाउँदै आफ्नो झण्डालाई राख्न थालेपछि नागरिकहरुले अफगानी झण्डा बोकेरै प्रदर्शनमा उत्रेका छन् कतिपय ठाउँमा। तालिवान शासनविरुद्ध भइरहेको सानो विद्रोहमा महिला पनि अगाडि देखिएका छन्। केही क्षेत्रमा महिलाले तालिवानविरुद्ध स्वत स्फूर्त रुपमा भेला भएर प्रदर्शन गरिरहेका छन्।

दुई हप्ता अघि अमेरिकामा रहेका महबुबा सिराज अहिले अफगानिस्तानमा छिन्। वुमेन स्किल्स डेभलप्मेन्ट सेन्टरका प्रमुख उनी भन्छिन्, 'मलाई सबै महिला, किशोरी र उनीहरुसँग रहेका मानिसहरुको रक्षाका लागि यहाँ बस्नु छ। जो मसँगै छन्, उनीहरुलाई छाडेर म जान सक्दिन।'

सिराज तालिवानसँग मिलेर काम गर्ने सक्नेमा आशावादी छिन्। उनी तालिवानले हेर्ने महिलाप्रतिको दृष्टिकोण बदल्न चाहेको बताउँछिन्।

'मलाई लाग्छ हामी उनीहरुसँग कुरा गर्न सक्छौं। यदि आमने सामने बसेर हामीले कुरा गर्‍यौं भने उनीहरुले बुझ्न सक्छन् अफगानी महिलाहरुले धेरै कुरा गर्न सक्छन्। उनीहरु अगाडि बढ्न सक्छन्,' उनले भनिन्।

तालिवानले सत्ता कब्जा गरेपछि अहिले काबलुका शहरमा महिलाका तस्विरमा पोतिएको कालो स्प्रे प्रतिनिधि घटनामात्रै हो। अहिले काबुलमै रहेका महिलाहरु आफ्नो सबै सपना टुटेको अभिव्यक्ति दिइरहेका छन्।

'मजस्तो धेरै किशोरीहरु छन्। हाम्रो सपना चकनाचुर भएको छ। हाम्रो सुनौलो भविष्यको उम्मिद तीब्र गतिमा सकिँदैछ,' एक किशोरीले भनिन्। 

सबै तस्विर : AFP/ GETTY IMAGES



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell