काठमाडौं : अफगानिस्तानमा विकसित राजनीतिक वातावरणले विक्षिप्त बनाएको भन्दै त्यहाँ नागरिकको सुरक्षाका लागि नेपाली नागरिकका तर्फबाट अपीलजारी भएको छ।
अतिवादी समूह 'तालिबान'ले अफगानिस्तानको राज्यसत्ता कब्जा गरेपछि त्यहाँ रहेका पत्रकार, शिक्षासेवी, महिला, बालबालिका, मानव अधिकारकर्मी तथा खुला समाजमा विश्वास गर्ने समूह र व्यक्तिहरूले अहिले सबैभन्दा ठूलो मानवीय संकट तथा सुरक्षा चुनौती भोगिरहेको उल्लेख गर्दै अपीलमा चिन्ता प्रकट गरिएको छ।
'अफगानी नागरिकहरूको जीवनमा आइपरेको यो दु:खद समयमा, विश्वका नेताहरू र आम नागरिकले जिम्मेवारी बोधका साथ उनीहरूको बाँच्न पाउने मानव अधिकारको सुनिश्चितता तथा जिउधनको सुरक्षाका लागि आवाज उठाउँदै समस्या समाधानको उपाय खोज्न हातेमालो गर्नुपर्दछ,' अपीलमा भनिएको छ, 'अफगानिस्तानमा अहिले देखिएका हृदयविदारक घटना, महिला तथा बालबालिकाहरूले भोग्नु परिरहेको अमानवीय व्यवहार हामी सबैको सामूहिक असफलताको चित्र हो।'
अग्रगमन तथा खुला समाजमा विश्वास गर्ने अफगानी नागरिकहरूलाई सबैको नैतिक, आर्थिक, राजनीतिक, सामाजिक तथा सुरक्षात्मक सहयोग चाहिएको उल्लेख गर्दै विश्व समुदायले उनीहरुको विषयलाई तिरस्कार गर्न मिल्दैन भनिएको छ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतले नेपाल सरकारलाई अविलम्ब अफगानीहरूको सुरक्षा तथा सम्भावित शरणार्थीको समस्या सम्बोधन गर्न सार्क देशहरूको आपतकालीन बैठक बोलाउन आह्वान गरिएको छ। 'आवश्यक परेमा नेपाल सरकार देश छाडेर भागेका अफगानीहरूलाई उनीहरूको धर्म र लिङ्गलाई बेवास्ता गर्दै शरण दिन तयार रहनुपर्दछ। सार्कका अन्य मुलुकहरूले पनि आपतकालीन उपाय खोज्दै अफगानीहरूलाई सक्दो सहयोग गर्न हामी आह्वान गर्दछौं,' अपीलमा भनिएको छ।
नेपाली नागरिकका तर्फबाट यसरी वक्तव्य जारी गर्नेहरुमा जगन्नाथ लामिछाने, सरोज रे, प्रेम सापकोटा, सुष्मा बराली, शिबनाथ यादव, दावा लोमु शेर्पा, दीपज्योति श्रेष्ठ, एनी, डा. विशाल ढकाल, सौगात वाग्ले, प्रदिप परियार, केशब बोहरा, नन्द मिश्र, शृष्टि अधिकारी, डा. जीवन क्षेत्री, नबिन सिलवाल, बसन्ती चौधरी, गणेश बुढाथोकी, सुमन अधिकारी, कैलाश न्यौपाने, प्रविन केसी बसन्ती चौधरी, रोमस खतिवडा, विश्वास बराल, जानकी घिमिरे अर्याल, भोला पासवान, रुकमणि महर्जन, तुसार न्यौपाने, शिला तिम्सिना, भुवन केसी र शेहनाज बानु छन्।
