PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

आजदेखि तीनदिन लगातार बिदा, भरिए उपत्यका वरिपरिका होटल र रिसोर्ट



वसन्तराज उप्रेती

आजदेखि तीनदिन लगातार बिदा, भरिए उपत्यका वरिपरिका होटल र रिसोर्ट

काठमाडौं : आज शनिवार। आइतवार जनै पूर्णिमा र  सोमवार गाईजात्राको सार्वजनिक बिदा। तीनदिन लगातारको बिदापछि कोरोना महामारीका कारण थला परेको होटल व्यवसाय अहिले उठ्ने प्रयासमा छ। कोभिड १९ महामारीका कारण व्यवसायमा परेको मन्दीले निराश रहेको होटल व्यवसायी तीन दिनको विदामा होटलका लागि आएको बुकिङका कारण उत्साहित भएका छन्।

बिदा मान्न काठमाडौं उपत्यका आसपासका होटल-रिसोर्टहरुको 'अकुपेन्सी' अहिले 'फुल' भएको छ। काठमाडौं वरपर रहेका पर्यटकीय गन्तव्यका होटल तथा रिसोर्टका कोठा सोमबारसम्मका लागि शुक्रबारदेखि नै बुक भएको व्यवसायी बताउँछन्। नगरकोट, धुलिखेल, चन्द्रागिरी लगायतका स्थानमा संचालित रिसोर्ट तथा होटलमा सोमबारसम्मका लागि यतिखेर शतप्रतिशत् रुम बुकिङ भएको व्यवसायीहरुले बताएका छन्।

यसरी बुकिङ गर्नेमा धेरैजसो परिवारिक घुमघाममा रमाउनेहरु छन्। कोरोनाको समयमा पनि लगातारको काम र पढाईमा रहेका अभिभावक र विद्यार्थी लामो बिदाको समयमा 'रिफ्रेस' हुने मुडमा देखिएको व्यवसायी बताउँछन्। सरकारले खोप व्यवस्थापनलाई क्रमिक रूपमा अगाडि बढाएसँगै व्यवसायी र सेवाग्राही दुवैलाई आत्मबल प्राप्त हुँदै आएको व्यवसायी बताउँछन्।

चन्द्रागिरी हिल्स रिसोर्टले यतिखेर शतप्रतिशत कोठाहरु बुकिङ लिइसकेको महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए।

'स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर पाहुनाको चाहना अनुसार रिसोर्ट चलाएका छौं,' उनले भने, 'वीकेन्डमा अलिअलि पाहुना बढ्ने हुन्। यसपल्ट तीन दिन बिदा परेकाले बुकिङ राम्रो आएको छ।'

उनका अनुसार रिसोर्टमा विकेण्ड बाहेकका दिनमा ५० प्रतिशत अकुपेन्सी कायम हुँदै आएको छ। 'हामीले पाहुनाका लागि उच्च सतर्कतासाथ सेवा दिने व्यवस्था गरेका छौं। हिजोआज धेरै जनाले कोरोनाविरुद्धको खोप लगाउन पाएका कारण पनि पहिले पहिलेको जस्तो संक्रमणको डर छैन,' महाप्रबन्धक शाहले भने।

चन्द्रागिरीमा पछिल्लो समय रिसोर्टमा आउने पाहुना बाहेकलाई केबुलकार सेवा बन्द गरिएको उनले जानकारी दिए। कोभिड १९ को दोस्रो लहरपछि रिसोर्टले केबुलकार, बेड एण्ड ब्रेकफास्टसहित एक रातको बसाइका लागि प्रति जोडी आठ हजार रुपैयाँ मूल्य निर्धारण गर्दै आएको उनले बताए।

कोरोना महामारीको पहिलो लहर पछिको व्यवसायको तुलनामा दोस्रो लहरयता स्थिति केही सहज छ। व्यवसायले यतिबेला बिस्तारै गति लिएको नगरकोटस्थित क्लब हिमालय रिसोर्टले जनाएको छ।

शुक्रबारदेखि सोमबारसम्म रहेको लगातार बिदाका कारण यतिखेर रिसोर्टको ६८ वटै कोठाबुक भइसकेको रिसोर्टको सेल्स डिपार्टमेन्टले जनाएको छ। विकेण्ड बाहेकका समयमा रिसोर्टमा १५ देखि २० वटा कोठाहरु बिक्री हुँदै आएको थियो। रिसोर्टले ११ हजार रुपैयाँमा एक जोडीलाई बेड ब्रेकफास्ट र डिनरको अफरसहितको योजना लागू गर्दै आएको छ।

धुलिखेलमा संचालित विभिन्न स्तरका होटल तथा रिसोर्टमा यतिखेर ७० प्रतिशत कोठाहरु बुक भइसकेको क्षेत्रीय होटल संघ धुलिखेलका अध्यक्ष एवं लज रिसोर्टका संचालक प्रेमकण्ठ श्रेष्ठले बताए। पछिल्लो समय कोभिड १९ विरुद्धको खोप व्यवस्थापन भएसँगै धुलिखेलमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रुपमा बढ्दै गएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनका अनुसार विकेण्ड बाहेकका दिनमा धुलिखेलमा ३० प्रतिशत अकुपेन्सी कायम हुन थालिसकेको छ।

धुलिखेलमा संचालित विभिन्न स्तरका होटलले प्रति जोडीलाई पाँच हजार रुपैयाँदेखि बेड एण्ड ब्रेकफास्टसहितको अफर योजना अन्तर्गतको सेवा दिँदै आएको उनले जानकारी दिए।

'खोप व्यवस्थापन सहज हुँदै गएपछि यतिखेर धुलिखेलमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा देखिन थालेको छ। सामान्य दिनहरुमा पनि ३० देखि ४० प्रतिशत अकुपेन्सी कायम हुन थालेको छ। सोमबारसम्म लगातार बिदा भएसँगै बुकिङ राम्रो मात्रामा आइरहेको छ,' अध्यक्ष श्रेष्ठले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell