PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

एक वर्षमा प्रहरीले कति अवैध हतियार नियन्त्रणमा लिन्छ?



पहिलोपोस्ट

एक वर्षमा प्रहरीले कति अवैध हतियार नियन्त्रणमा लिन्छ?

काठमाडौं : पछिल्ला केही महिना अवैध हातहतियारसहित मानिस पक्राउ पर्नेक्रम सुस्ताए पनि हरेक वर्ष हतियार सहित मानिस पक्राउ हुने दर भने उकालिँदो छ। 

प्रत्येक वर्ष ३ सय भन्दा बढी मानिस हातहतियार र गोली गठ्ठा सहित पक्राउ पर्ने गरेका छन्। गएको आर्थिक वर्ष २०७७/७८ मा ४ सय २६ जना मानिस हतियार र गोलीसहित पक्राउ परेका छन्। यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७६/७७ मा ३ सय ६० व्यक्तिलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रत्येक वर्षमा हतियारसहित पक्राउ पर्नेको सङ्ख्या बढेर गएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए। आर्थिक वर्ष २०७५/७६ मा २ सय ४७ जना मानिस हतियार सहित प्रहरीले नियन्त्रणमा लिएको थियो।

देशभर यसरी हतियार सहित पक्राउ गर्दा धेरै चाहिँ ठूला हतियारसहित समातिने गरेको गरेको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ मा ठूला हतियार  ४ सय ६२ वटा बरामद भएको थियो। अघिल्लो आर्थिक वर्षसँग तुलना गर्दा १ सय २६ प्रतिशतले ठूला हतियार बरामद बढेको हो। आर्थिक वर्ष २०७६/७७ मा २ सय ४ वटा ठूला हतियार प्रहरीले बरामद गरेको थियो। २०७५/७६ मा २ सय ६ वटा यस्ता हतियार बरामद भएका थिए।

त्यस्तै, गएको आर्थिक वर्षमा ९३ वटा साना हतियार प्रहरीले बरामद गरेको थियो। अघिल्लो आर्थिक वर्षमा १ सय १० वटा साना हतियार बरामद भएका थिए। त्यस्तै, देशभरबाट विभिन्न हतियारमा प्रयोग हुने १ हजार ६ सय १७ वटा गोली बरामद भएको छ। आर्थिक वर्ष २०७६/७७ मा यो सङ्ख्या ५ हजार ८ सय १५ थियो। त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा म्याग्जिन ५७ वटा बरामद भएको छ।

सुन तस्कर, लुटेरा, गुन्डागर्दी गर्नेहरु हतियार सहित पक्राउ पर्ने गरेका छन्। अन्य स्थानमा मात्र होइन विमानस्थलबाट समेत हतियार फेला पारेका छन्। त्यस्तै जनयुद्धकालमा खेत, जंगलमा लुकाएर राखिएका हतियार समेत फेला परेका थिए।

विभिन्न अपराधमा संलग्न मानिसले नेपालमा ४० हजारदेखि १ लाख रुपैयाँसम्म हतियार किन्ने गरेको  पक्राउ परेका अभियुक्तले प्रहरी बयानमा दिने गरेका छन्। भारतमा भने यस्ता हतियार १० देखि २० हजार नेपाली रुपैयाँमा सजिलै किन्न पाइन्छ। तराईका नाका हुँदै हतियार नेपाल छिर्ने गरेको छ। 

नेत्र विक्रम चन्द विप्लव नेतृत्वबाट पनि प्रहरीले हतियार बरामद गरेको थियो। तर, अहिले यो समूह हिंसा छाडेर मुलधारे राजनीतितिर आउने क्रममा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell