PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

एकै महिनामा बैंकबाट बिक्यो ४ सय ४९ केजी सुन, किन्यो कसले?



सरला सुवेदी

एकै महिनामा बैंकबाट बिक्यो ४ सय ४९ केजी सुन, किन्यो कसले?

काठमाडौं : साउन महिनामा विवाहको लगन हुँदैन। अझ कोभिड संक्रमणका कारण आर्थिक गतिविधि नराम्ररी खुम्चिएको छ। यस्तो प्रतिकूल महिनामा पनि ४ सय ४९ किलो सुन भने बिक्री भएको छ।

नेपाल बैंकर्स संघका अनुसार साउनमा मगाएको पाँच सय किलोमध्ये ४ सय ४९ किलो सुन बिक्री भएको हो। व्यवसायीका अनुसार अफसिजनका कारण सुन बिक्री नहुनुपर्ने हो। तर, बैंकले आयात गरेर बिक्री गरिरहेको सुन कहाँ गइरहेको छ त? सरकारले दैनिक २० केजी सुन किन्न अनुमति दिन्छ। अघिल्लो निषेधाज्ञामा यो परिणाम घटाएर १० केजीमा सीमित गरिएको  थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले चाडपर्व सुरु हुन लागेकाले व्यवसायीले सुन स्टक राखेको बताए। ‘अहिले हरेक व्यवसायीले सुन किनेर स्टक राखिरहेका छन्। महिलाहरुको चाड तीजसमेत नजिकिँदै गरेकाले बिक्री हुने अपेक्षाले व्यवसायीले सुन खरिद गरेर राखिरहेका छन्,’ उनले भने, ‘अहिले गरगहना किन्ने नै कम छन्।’

उनका अनुसार निषेधाज्ञा खुल्दा सुनको अभाव भएपछि व्यवसायीले स्टक राख्न थालेका हुन्। ‘निषेधाज्ञाको समयमा दुई महिना सुनचाँदी पसल बन्द भए। खुल्नेबित्तिकै माग आए पनि व्यवसायीसँग सुन भएन,’ शाक्यले भने, ‘विदेशमा नियमित उडान नहुँदा सुन आयात पनि भएन। त्यो बेलामा धेरै व्यवसायी खाली बस्न बाध्य भए। अहिले पनि चाडपर्वमा त्यो अवस्था नआओस् भनेर स्टक राखेका हुन्।’

उनका अनुसार कतिपय ग्राहकले तिजका लागि एक महिना अघि नै अर्डर दिने भएकाले सुन किनेर गहना बनाएका पनि छन्। साउन महिनामा ३ सय ५० किलो मात्रै सुन आयात भएको छ। दैनिक २० किलोका दरले ६ सय किलो आयात हुनपर्ने हो। साउनमा आयात भएको सबै सुन र असारको बाँकी सुन गरेर ४ सय ४९ किलो सुन व्यवसायीले उठाइसकेको शाक्यले बताए।

नियमित उडान नभएकाले दुई सातादेखि सुन आयात भने भएको छैन। आयातित सुन सकिसकेको र व्यवसायीले मागे अनुसार दिन नसकिएको संघले जनाएको छ।

असारमा भित्रियो ७ अर्ब २० करोडको

असारमा करिब सात अर्ब २० करोड रुपैयाँको ९ सय किलो सुन आयात भएको थियो। निषेधाज्ञाले रोकिएको १५ सय किलोमध्ये सुन ९ सय किलो आयात भएको थियो। गत असार मसान्तसम्म १५ सय किलो सुन आयात गर्ने भनिए पनि कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय हवाई उडान रोकिएको थियो। त्यसैले ९ सय किलोमात्र आयात भयो।

गत वर्षको ११ महिनामा २१ अर्ब ७ करोड रुपैयाँको करिब ३१ सय किलो सुन आयात भएको थियो। वैशाखदेखि निषेधाज्ञा लागु भएपछि आयात रोकिएको थियो।

देशभर २० हजारभन्दा बढी सुनचाँदी व्यवसायी छन्। आयात भएर आउने सुन बैंकहरुबाट महासंघको समन्वयमा व्यवसायीले उठाउने गरेका छन्। आयात भइआउनेमध्ये ५० प्रतिशत वागमती र ५० प्रतिशत अन्य प्रदेशका व्यवसायीले खरिद गरेर लैजान्छन्। सुनकै कारण पछिल्लो समय विदेशी मुद्राको सञ्चिति घटिरहेको छ।

सुनचाँदी व्यवसायीका अनुसार पछिल्लो समय बजारमा पुराना गहना बेच्न आउने ग्राहक छैनन्। सुनको मूल्य प्रतितोला ९० हजारभन्दा माथि पुग्दा पनि उपभोक्ताहरुले सुन बिक्री गर्न कम गर्दै गएको अध्यक्ष शाक्यले बताए। पहिले पहिले सुन महँगो हुनेबितिकै उपभोक्ताहरु गरगहना बेच्ने गर्थे।

सुन फिर्ता नआउँदा व्यवसायीहरु चकित छन्। गत वर्षसम्म बजारमा ठूलो परिमाणमा फिर्ता सुन आउने गरेको थियो। पुराना सुन फिर्ता आउँदा व्यवसायीले नयाँ उठाउने परिमाणमा चाप कम हुने गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell