PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

भेरी बबई आयोजना : दोस्रो चरणको काम सुस्त, ३० प्रतिशतमात्रै प्रगति



पी बी खड्का

भेरी बबई आयोजना : दोस्रो चरणको काम सुस्त, ३० प्रतिशतमात्रै प्रगति

सुर्खेत : राष्ट्रिय गौरवको आयोजना भेरी बबई बहुउश्द्देयीय आयोजना अन्तर्गतको दोस्रो चरणको काम सुस्त बनेको छ।

पहिलो चरण अन्तर्गतको सुरुङ खन्ने काम तोकिएको समय सीमा अगावै सकिएको भेरी बबई आयोजनाको दोस्रो चरणको काम सुस्त बनेको हो। दोस्रो चरण अन्तर्गत हेडवर्कस् र पावर हाउसको काम चार वर्षभित्र सक्नुपर्ने भएपनि दुई वर्ष बितिसक्दासमेत हालसम्म ३० प्रतिशत मात्रै काम सकिएको छ।

आयोजनाको बाँधस्थल चिप्लेमा स्वचालित गेट, पेनस्टक, स्टिल लाइनिङ जस्ता काम र विद्युत गृह बबईमा टरबाइन, विद्युतीय उपकरण सव स्टेसनलगायत निर्माण प्रक्रियामा छन्। 

चिनियाँ कम्पनीसहित रमण जेभीले दोस्रो चरण अर्थात बाँध र पावर हाउसको काम आगामी २०८० भित्र सक्ने गरी जिम्मा लिएको छ। आगामी दुई वर्षभित्र सक्नुपर्ने आयोजनाको समष्टिगत प्रगति हेर्दा पहिलो चरणको सुरुङमार्ग बाहेक अन्य कामको प्रगति निराशाजनक छ।

दोस्रो चरण बाँध र पावरहाउस निर्माणका लागि निर्माण कम्पनीसँग २०७६ साउन १५ गते ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँमा सम्झौता भएको थियो।

यस चरणको समयावधि ४८ महिना अर्थात चार वर्ष हो। बाँकी दुई वर्ष छ।

जसमध्ये समयका हिसाबले ५० प्रतिशत अर्थात् २ वर्ष बितिसकेको छ भने, भौतिक प्रगति भने ३० प्रतिशतमात्रै भएको छ। हालसम्म एक अर्ब ५९ करोड ६२ लाख रुपैयाँ वित्तिय प्रगति रहेको छ।

यसरी हेर्दा बाँकी दुई वर्षमा आयोजनाको ७० प्रतिशत काम सक्नुपर्ने दबाव छ। यद्यपि, काम नसकिए समयसीमा थप्नुको विकल्प देखिदैँन।

समग्रमा आयोजनाको समयका हिसाबले ७५ प्रतिशत सकिएको छ अब बाँकी २५ प्रतिशत बाँकी रहँदा कामको प्रगति ५० प्रतिशत पनि भएको छैन। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अवीनाशी सिग्देलका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति भने ४८ प्रतिशत मात्रै छ।

‘अहिलेसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ४८ प्रतिशत भएको छ,’ उनले भने।

कोरोना संक्रमणले समेत सुरुवाती चरणमा आयोजनाको निर्माण कार्य प्रभावित बन्यो, भने नदीको बहाव बढेपछि बाँधस्थलमा गर्नुपर्ने कतिपय काम रोकिएका छन्।

‘सुरुवाती चरणमा महामारीले कतै न कतै केही न केही असर चाँही गरेकै थियो, मजदुर नै संक्रमित हुनुभयो त्यत्तिबेला केही ढिला भयो,’ उनले भने, ‘सरकारले राष्ट्रिय गौरवको आयोजना नरोक्नु भनेपछि स्थानीय प्रशासन सहित सरोकारवालाहरुबाट सहकार्य र समन्वय हुदाँ आयोजनामा आवश्यक सामग्रीहरु पुग्न थालेपछि काम तिव्र पारिएको हो, अहिले त्यस्तो कुनै समस्या छैन।’

आयोजनास्थलमा हाल झण्डै दुई सयभन्दा बढी कामदार रहेका छन्।

निषेधाज्ञाले आवश्यक सामग्री ढुवानीमासमेत कठिनाई हुँदा सुरुवाती चरणमा समस्या भएको र पछिल्लो समय निर्माण कार्य तीव्र पारिएको आयोजनाको भनाई छ। ‘लकडाउनको सुरुमा सामान ढुवानीमा समस्या देखिएको हो, अहिले नदीभित्र गर्नुपर्ने कामबाहेक धमाधम भइरहेको छ’ इन्जिनियर सिग्देल भन्छन्।

नेपालमा पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ निर्माण भएको आयोजनाको ठेक्का सम्झौता रकम १० अर्ब ५६ करोड ९७ लाखमध्ये नौ अर्ब ९२ करोड ८४ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।

अहिलेसम्म आयोजनाको १२ दशमलव २० किलोमिटर लामो र ४ दशमलव २० मिटर ब्यास भएको सुरुङ निर्माण भइसकेको छ।

आयोजना सम्पन्न पछि बाँके र बर्दियामा सिचाई सुविधा पुग्नेछ भने, विद्युत उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell