बेलायतमा आयोजित युरो २०२० को फाइनल खेल हेर्न पुगेकामध्ये २ हजार ३ सयको हाराहारीलाई कोभिड १९ को संक्रमण भएको हुनसक्ने देखिएको छ। गत महिना लन्डनको वेम्बली रंगशालामा युरोकपको फाइनल भएको थियो। सरकारी तथ्याङ्कलाई मान्ने हो भने उक्त प्रतियोगिताले सुपर स्प्रेडरको काम गरेको देखिन्छ। पाँच दशकभन्दा लामो समय अन्तरालमा युरोकपको फाइनलमा पुगेको थियो बेलायत।
जुलाई ११ मा इङ्ल्यान्ड र इटलीबिच प्रतिस्पर्धा भएको थियो। उक्त प्रतियोगिता हेर्न पुगेका ३ हजार ४ सय ४ जनामा पनि संक्रमण पोजेटिभ देखिएको टाइम्स डेलीले जनाएको छ। बेलायतको जनस्वास्थ्य विभागको तथ्याङ्कलाई स्रोतका रुपमा समाचारमा उल्लेख छ।
उनीहरुमा प्रतियोगिता हेरेको २ दिनपछि परीक्षण गरिएको थियो। यसको अर्थ हो उनीहरुमध्ये धेरै संक्रमणकै अवस्थामा फुटबल प्रतियोगिता हेर्न पुगेका थिए। कतिपय भने स्टेडियमबाटै संक्रमित भएर निस्किएका हुनसक्छन्। परीक्षणमा परेका दर्शकहरुको कन्ट्याक्ट्र ट्रेसिङ गर्दा अरु थपिएका हुन्।
यो पुस्ताले नै पहिलो पटक यसरी फाइनलमा आफ्नो मुलुकको खेल हेर्न पाएको थियो।
'५५ वर्षको अवधिमा इङ्ल्यान्डको टिम अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको थियो, एउटा सिंगो पुस्ताको लागि यो एक पटकको अवसर थियो,' नाम नखुलाउने शर्तमा सरकारी अधिकारीले भनेका छन्।
जुलाई १९ पछि बेलायत सरकारले निषेधाज्ञालाई निक्कै खुकुलो बनाएको थियो। त्यतिखेर प्रधानमन्त्री बोरिस जोन्सनले 'फ्रिडम डे' भन्दै खोपका कारण संक्रमण कम हुने र जोखिमयुक्त विरामी नहुने बताएका थिए।
तर, जुलाई १९ पछि औशतमा दैनिक २ हजार मानिसमा संक्रमण देखिन थाल्यो जुन मे महिनाको तुलनामा १० गुना बढी थियो। गत बिहीवार बेलायतमा ३३ हजार ७४ नयाँ केस थपियो जुन जुलाई २३ यताकै सबैभन्दा धेरै हो। हिजो ३७ हजार ३ सय १४ जनामा संक्रमण भेटिएको छ। यो अघिल्लो दिनभन्दा थप बढी हो।
संक्रमणकै बिच ज्यान गुमाउनेको संख्या पनि मेको तुलनामा १५ गुना बढेको देखिएको छ।
