PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

गोकर्णेश्वरमा यस्तो देखियो जनैपूर्णिमाको रौनक

गोकर्णेश्वरमा यस्तो देखियो जनैपूर्णिमाको रौनक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनैपूर्णिमा धुमधामका साथ मनाइँदैछ। यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्मबाट वेद प्राप्त गरेको भनाइअनुसार वेदजयन्तीको रुपमा पनि यो दिनलाई चिनिन्छ।

वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्।

श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने यो चाडमा पुरानो जनै फेरेर नयाँ जनै लगाउने गरिएको छ।

हिन्दुधर्मका वैदिक ग्रन्थअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ। शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ।

बिहान सबेरै आ-आफ्ना गुरु पुरोहितकहाँ जाने र उनैद्वारा जनै ग्रहण गर्ने पनि गरिन्छ। व्रतबन्ध गरी वैदिक परम्पराले दिएको शिक्षादीक्षाको उचित तवरले पालना गरी सत्कर्ममा लाग्न समेत आजको यो चाडले स्मरण गराउँछ।

दिदीबहिनीहरूले आफ्ना दाइभाइको हातमा पवित्र धागो रक्षाबन्धन (राखी) बाँधेर, टीका लगाएर मिठाई खुवाउने प्रचलन पनि बढेको देखिन्छ।

परम्परानुसार जनैपूर्णिमामा नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन पनि रहिआएको छ।

देशका विभिन्न पवित्र तीर्थस्थलमा आज भक्तालुहरुको घुइँचो छ। हामीले भने आज बिहान बंगलामुखी मन्दिर परिसरमा देखिएको भक्तालुहरुको घुइँचोलाई क्यामेरामा कैद गरेका छौं।

यो दिन पशुपतिदेखि गोकर्णेश्वर र महादेव मन्दिरहरुमा विशेष मेला लाग्ने गर्दछ। कोभिड महामारीका कारण विशेष सावधानी अपनाइँदै मास्क लगाएर श्रद्धालु र भक्तजन मन्दिरहरुमा पुगेको देखिन्छ। अघिल्ला वर्षहरुमा धार्मिकस्थलमा भक्तजनको उपस्थिति पातलो देखिए पनि यसपटक भने मास्क लगाएर उपस्थित देखिन्थे।

यही अवसरमा गोकर्णेश्वरमा देखिएको थप दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell