PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

तात्तातो झोल पिउने दिन अर्थात् ‘क्वाति पुन्हि’, धेरैलाई थाह नहुनसक्छ आज भ्यागुतालाई पनि खुवाइन्छ क्वाति



सहयोग रञ्जित

तात्तातो झोल पिउने दिन अर्थात् ‘क्वाति पुन्हि’, धेरैलाई थाह नहुनसक्छ आज भ्यागुतालाई पनि खुवाइन्छ क्वाति

काठमाडौं : खेतमा रोपाइँका लागि शक्तिशाली गथांमुग: राक्षसलाई बोलाउने कथन छ नेवार समुदायमा। गथांमुग:का दिनमा भने गथांमुगलाई दहन गर्दै फिर्ता पठाउने गरिन्छ। धान रोपेर किसानहरु आराम गर्ने समय हुँदा राक्षसको काम सकियो भन्दै फिर्ता पठाउन गरिएको कथन छ।

गथांमुग दहनसँगै नेवार समुदायमा सुरु हुन्छ चाडपर्वको श्रृङ्खला।

पहिलापहिला अहिलेको जस्तो जीवनशैली व्यस्त थिएन। यतिखेर अरु काम पनि हुँदैन थियो। रोपाइँ कर्म नै किसानको सहारा थियो। रोपाइँपछिको यो समयमा किसान फुर्सदिला। खेतमा काम गरेर थाकेका पनि। आराम र पौष्टिक आहारको कमी हुने बेला।

अनि शरीरमा स्फूर्ति ल्याउन सुरुवात भयो, तात्ततो झोल पिउने परम्परा। काठमाडौं उपत्यका र वरिपरि नेवार बाहुल्य क्षेत्रम ९ वटा गेडागुडीको समिश्रणमा बन्यो, कवा: गु ति -‘क्वाति’। क्वा: अर्थात् तातो, ति भनेको झोल।

नेपाल संवत् अन्तर्गत गुँला महिनाको पूर्णिमाका दिन यसरी तातो झोल खाने गरिन्छ। ब्राह्मण समुदायमा भने यसलाई जनै पूर्णिमाका रुपमा मनाउने गरिन्छ। नेवार समुदायले भने गुंपुन्हि, क्वाति पुन्हिका रुपमा यसलाई मनाउने गर्छन्।

इतिहासकार प्राध्यापक डा त्रिरत्न मानन्धर क्वाति पुन्हि नेवा समुदायको मौलिक चाड भएको बताउँछन्। यस चाडले स्थानीय रुपमा उत्पादित खाद्य सामाग्रीको उपयोगमा समेत जोड दिएको उनी बताउँछन्।

‘किसानहरु आराम गरेर बसेको समयमा गुंपुन्हिका दिन यसरी तातो तातो झोलमा ९ थरीका गेडागुडी राखेर क्वाति खानु नेवार समुदायको मौलिक पर्व हो,' उनले भने, 'खेतमा रोपाँई सकेर थाकेर बसेका किसानलाई पौष्टिक आहार दिने दिन हो आज।’

मध्यकालसम्म नेवार समुदायमा जनै लगाउने परम्परा पुष्टि हुन्न। पृथ्वीनारायण शाहले राज्य विस्तार गर्दै नेपालमण्डलमाथि नियन्त्रण कायम गरेपछि विस्तारै जनै लगाउने चलन पनि सुरु भएको हुनसक्ने बताउँछन् मानन्धर। हाल क्वाति खानु अघि नेवार समुदायका मानिसले पनि घरमै ब्राह्मण बोलाएर वा मन्दिर गएर समेत हातमा डोरो लगाउने गर्छन्।

क्वाँटी होइन क्वाति

अहिले क्वाति खाने चलन नेवार समुदायमा मात्रै सीमित भने छैन। गैर नेवार समुदायमा पनि क्वाति खाने चलन सरु भइसकेको छ। क्वातिमा प्रयोग हुने गेडागुडीमा धेरै प्रोटिन पाइने भएकोले यसको प्रयोग बिस्तार हुँदै गएको हो।

क्वाति खाने चलन अरु समुदायमा पनि विस्तार हुँदै जाँदा तातो झोल पिउनुको अर्थ पनि बदलिएको छ। क्वाति अपभ्रंस हुँदै ‘क्वाँटी’ भएको छ अहिले।

तर, नेपाल भाषाका जानकारहरु भने ‘क्वाँटी’ भन्दा ‘क्वाति’ शब्द नै प्रयोग गर्नुपर्नेमा जोड दिन्छन्। किनभने ‘क्वाँटी’ले तातो झोलको अर्थलाई पूर्ण गराउँदैन। नेपालभाषामा ‘क्वाँ’को कुनै अर्थ छैन, ‘ट’ अक्षर त झन् नेवार समुदायमा धेरै प्रचलित नै छैन। सुन्नेले ‘त’ लाई ‘ट’ सुने, अनि बन्यो क्वाँटी। नेपाल राजकीय प्रज्ञा प्रतिस्थानले निकालेको २०५४ सालमा निकालेको नेवार-नेपाली-अङ्ग्रेजी शब्दकोषले भने ‘क्वाँइँ’ लाई ‘कुकुर कराउँदा सुनिने आवाज वा रुवाइ’ भनेर उल्लेख गरेको छ। ‘ट’ अक्षरका कुनै पनि शब्द शब्दकोषमा समावेश नै छैनन्।

भ्यागुतालाई पनि खुवाइन्छ क्वाति

आजको दिन नेवार समुदायका मानिसले मात्रै क्वाति पिउँदैनन्। भ्यागुतालाई समेत भात र क्वातिसँगै विभिन्न ब्यञ्जन बनाएर खुवाउने परम्परा समेत रहेको छ। नेपालभाषा यसलाई 'ब्यांजानकेगु' भनिन्छ। ‘ब्यां’ भनेको भ्यागुता, ‘जा’ भनेको भात।

खेतमा काम गरेका किसानलाई जस्तै खेतको हेरचाह गर्ने भ्यागुतालाई समेत पौष्टिक आहार आजको दिन खुवाउने गरिएको मानन्धर बताउँछन्। यो धेरैजसो ज्यापु समुदायमा प्रचलित पर्व हो।

बिहान नित्य पूजा सकाएर, विभिन्न ब्यञ्जन बनाएर भ्यागुतालाई भात र क्वाति खुवाएपछि मात्रै मानिसहरुले क्वाति खाने गर्छन्। खेतमा किरा मारेर अन्न उब्जाउन समेत सहयोग गर्ने प्राकृतिक देवताका रूपमा भ्यागुतालाई सिमीको पातमा खाद्य परिकार राखेर खेतखेतमा गई पूजा गरी यसदिन भोजन गराउने गरिन्छ।

रोपाइँको समयमा र वर्षात् सुरु हुनुभन्दा पहिले खेतमा काम गर्दा कोदालीबाट मरेका कीरा फट्याङ्ग्रा र भ्यागुतालाई मारेको पाप मोचन गर्नका लागि आजका दिन भ्यागुतालाई पूजा र भोजन गराउने गरिएको कथन समेत रहेको छ।

पानी पार्न भ्यागुताको महत्वपूर्ण भूमिका हुनेहुँदा त्यसको पूजा गर्ने कथन समेत छ। भ्यागुता कराएको सुनेपछि स्वर्गका राजा इन्द्रले सुन्ने र त्यसपछि वर्षा हुने जनविश्वास रहेको छ। धानलगायत तरकारीहरु रोपेको समयमा खेतमा पानीको अभाव नहोस् भन्ने हेतुले पानी पार्न भ्यागुतालाई क्वाति खुवाउँदै पूजा गर्ने प्रचलन बसेको समेत बताइन्छ।

तर, यस्तो परम्परा भने बिस्तारै लोप हुने अवस्थामा छ। हाल भक्तपुर, खोकना, बंगमती लगायत धेरै खेत भएका क्षेत्रमा अझै भ्यागुतालाई यसरी ब्यञ्जन खुवाइन्छ। काठमाडौंमा भने यो संस्कृति हराउँदै गएको छ। यद्यपि, केहीले भने घरमै भ्यागुतालाई भाग छुट्याएर भए पनि यस परम्परालाई निरन्तरता दिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell