PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कर्णालीका स्थानीयकै अभिनय रहेको टेलिसिरिज 'जीवनचक्र', सोध्दैछन् : के तपाईं स्वस्थ हुनुहुन्छ ?



लक्ष्मी बलायर

कर्णालीका स्थानीयकै अभिनय रहेको टेलिसिरिज 'जीवनचक्र', सोध्दैछन् : के तपाईं स्वस्थ हुनुहुन्छ ?

काठमाडौं: हरेक समस्याको मुल कारण अस्वस्थता हो भन्ने देखाउनु टेलिश्रृखंला 'जीवनचक्र' मुख्य विषयवस्तु हो। युनिसेफको सहयोगमा स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रले निर्माण गरेको यस वर्षको 'जीवन चक्र'  मा फिल्म निर्देशक मनोज पण्डितको लेखन र निर्देशन रहेको छ।

नेपाल टेलिभिजनमा हाल प्रशारण भइरहेको टेलिश्रृखंलाको सुरुवाती चरणका केही भागहरु कर्णाली क्षेत्रमा केन्द्रित रहेर मुगुको दुर्गम गाउँमा छायांकन गरिएको छ। ती एपिसोडहरुमा त्यहाँकै स्थानीयको अभिनय रहेको छ।

'स्वास्थ्य चौकीमा भूत बस्छ' भन्ने जनविश्वासका कारण बन्द हुन पुगेको स्वास्थ्य चौकी खोल्न गाउँ पुगेका स्वास्थ्यकर्मीको भूमिकामा विशाल पोखरेलले अभिनय गरेका छन्।

फिल्म निर्माणमा सक्रिय पण्डितले पहिलोपटक टेलिश्रृखंलामा हात हालेका हुन्। 'जीवन चक्र' मार्फत  मानवसमाजको स्वास्थ्यमा केही न केही योगदान गर्न पाउँछु भन्ने उद्देश्यले जोडिएको उनले बताए।

जब मनोजले सिरियलका लागि सम्झौता गरे, त्यति बेलै उनीसामु यसअघिका श्रृंखलाभन्दा भन्दा फरक देखाउने चुनौती खडा भइसकेको थियो। फलरुवरुप उनले 'जीवन चक्र' नयाँ तरिकाले प्रस्तुत गर्ने सोच बनाए।

सिनेमा होस् या सिरियल, राजधानीकेन्द्रित दृष्टिकोण नै हावी छ। यसअघिका 'जीवनचक्र' काठमाडौँ आसपास मात्रै छायाँकन गरिन्थ्यो। यसअघिका श्रृंखलाभन्दा भन्दा फरक देखाउन सिरियललाई शहरदेखि दूरदराज पुर्‍याउने निर्णय गरे। अत्यन्तै दुर्गम र स्वास्थ्यको आधुनिक अवधारणा नभएको ठाउँ उनको रोजाईमा परे। तर काठमाडौँबाट दूरदराजका ठाउँ बुझ्न सम्भव थिएन।

राजधानी केन्द्रित सोचबाट बाहिर निस्केर उनले कर्णाली, सुदुरपश्चिम र मधेशलाई कथामा जोड्ने योजना बनाए। सोही योजनाअनुसार नै उनले 'जीवन चक्र' पहिलो सिरिजको छायाँकन कर्णालीमा गरेका हुन्।

नेपालमा अधिकांश टेलिश्रृखंला व्यवसायिक कलाकारकै भरमा बन्छन्। तर, मनोजले भने ‘जीवनचक्र’मा ९० प्रतिशत कलाकार स्थानीयलाई नै बनाएका छन्। जहाँको कथा छ, त्यहाँकै स्थानीय बासिन्दालाई पात्र बनाउँदा कथालाई अझै जीवन्त बनाउन सकिने उनको तर्क छ। यसरी स्थानीयलाई नै पात्र बनाउँदा सोही ठाउँको वास्तविक समस्या र कथालाई ठ्याकै उत्रार्न सकिने उनले सुनाए।

उनका फिल्महरु राजनीतिक र गम्भीर विषयमा केन्द्रित हुने गर्छन्। जसकारण आफ्ना फिल्महरु नेपालका सामान्य घरघरमा नपुग्ने उनको मान्यता छ।

भन्छन् 'मेरो फिल्म सबै नेपालीहरुको घरघरमा पुगेन। मेरो आमाले नै मेरो फिल्म हेर्ने भएको छैन। तर यो जीवनचक्र घरमा बसेर मेरो आमाले हेर्ने सिरियल हो। मेरो बुढी आमाले पनि हेर्नुहुन्छ भन्ने सोचले मैले 'जीवन चक्र' गर्ने निधो गरेको हुँ। यो मेरो लागि नयाँ परिक्षण र प्रयोग पनि हो।'

कर्णालीपछि सुदुरपश्चिम, मधेस हुँदै अन्त्यमा शहरसम्मका सिरिजका रुपमा 'जीवन चक्र' मा स्वास्थ्यका गम्भीर र जड विषयहरुमा केन्द्रित रहेर उत्पादन गरेको निर्देशक पण्डितले बताए।

'जीवन चक्र त्यस्तो मन्त्र हो जसले मानव समाजको अधिकांश समस्या समाधान गर्न मार्गदर्शन गर्छ। यो सिरिज त्यो चेतनालाई आत्मसाथ गर्नका लागि हेर्ने हो' उनले भने भन्छन्, 'किनकी हामी अनेकौँ समस्याहरुबाट ग्रसित छौँ। मनोरञ्जन गर्नु मात्रै मूल कुरो होइन, चेतनाको विकास ठूलो कुरो हो। तर, त्यसो भन्दैमा मनोरञ्जनलाई बेवास्ता गरिएको छैन। श्रृजनशिल मनोरञ्जनलाई हामीले महत्व दिएका छौं।'

जीवन चक्रका लागि अध्ययन अनुसन्धान गर्दै जाँदा समाजमा पूर्ण स्वस्थ मानिस भेटाउन गाह्रो भएको उनको अनुभव छ।

'हामी सबै अस्वस्थ छौ। भौतिक स्वास्थ्यको लागि केही पहल भएपनि मानिसको स्वास्थ्यमा हामी सबैको ध्यानाकर्षण पुगेको छैन। जीवन चक्रले यहि एउटा तथ्य स्थापित मात्र गर्न सक्यो भने हाम्रो अथक र इमान्दार प्रयत्न सार्थक हुन्छ' उनले सुनाएँ।

यो पटकको 'जीवन चक्र' सिरियलभन्दा पनि सिरिजको रुपमा निर्माण गरेको पण्डित बताउँछन्। 'जसरी सिनेमा बनाएको छु त्यसरी नै यसको निर्माण गरेको छु। यो सिरियल नभएर सिरिज सिनेमा हो। यो सिरियल पनि मेरो लागि सिनेमा नै हो। यति फरक छ सिनेमाजस्तो यसमा समयको सीमा छैन। त्यसैले मैले यसलाई जोखिमभन्दा पनि अवसरको रुपमा लिएको छु।'

नेपालमा राजनीतिको विषयमा धेरै बहस हुने तर स्वास्थ्यको विषयमा खासै बहस गर्ने चलन नभएको उनले गुनासो गरे। गम्भीर भएर बहस नगर्दा समाजमा ठुलो दुर्घटना आउने उनको भनाई छ।

भन्छन् 'हामीले स्वास्थ्यको बारेमा गम्भीर भएर सोच्ने बेला आएको छ। त्यसैले नेपाली समाजको लागि 'जीवनचक्र' मेरो तर्फबाट दिएको एक उपहार हो।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell