PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कर्णालीका कृषिमन्त्री कुर्मराजमाथि लागेको बलात्कारको आरोप के हो?



पी बी खड्का

कर्णालीका कृषिमन्त्री कुर्मराजमाथि लागेको बलात्कारको आरोप के हो?

सुर्खेत : आइतवार बेलुका एकाएक कर्णाली प्रदेश सरकारका एक मन्त्रीमाथि एकाएक बलात्कार आरोप लागेको खबर बाहिरियो। भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफ्ना पूर्व स्वकीय सचिवकी पत्नीमाथि बलात्कार गरेको आरोप खबरहरुमा लगाइएको थियो।

आरोप सामाजिक सञ्जालमा छरपस्ट भए। कतिपय मिडियाले प्राथमिकताका साथ समाचार बनाए। समाचारमा यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको समेत उल्लेख गरियो। तर, यो समाचार तयार पार्दासम्म उक्त भिडियो कहीँ कतै देखिएको छैन।

आइतवार बेलुकादेखि बलात्कारको आरोपको चर्चा चले पनि घटना भने दुई वर्षअघि अर्थात् २०७६ माघतिरको हुनसक्ने भन्दै सामाजिक सञ्जाल र मिडियामा आएको छ।

पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बलात्कार सम्बन्धी जाहेरी दिनसम्म गएको तर घटना पुरानो अर्थात् मुद्दा दर्ता गर्ने हदम्याद कटिसकेकाले छलफल गर्नुपर्ने प्रहरी अधिकारीले सुझाएको उल्लेख छ।

घटना दुई वर्ष अघिको भए पनि लेनदेनको विषय बनाएर कुरा नमिल्दा प्रहरीसमक्ष जाहेरी दिन ढिला गरेको विषय पनि बाहिरिएको छ।

त्यतिमात्रै होइन, गत शुक्रवार घटना मिलाउन पीडित महिलाका पतिलाई भेरीगंगा नगरपालिकाको एक होटेलमा मदिरापान सहित छलफल गरेको र लेनदेनमै कुरा नमिलेपछि वीरेन्द्रनगर फर्किने क्रममा मन्त्री शाहीका स्वकीय सचिव र मन्त्री शाहीका भाइले पीडित महिलाका पतिलाई राती बिच बाटोमै कुटपिट गरेको आरोप लागेको छ। यसक्रममा प्रहरीले नै उद्धार गरेको भनिएको छ।

प्रहरीले समेत उनको उद्धार गरेको बताएको छ। ‘राती एक्कासी फोन आयो कुटपिट भएको छ भनेर,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कनक शाहीले भने, ‘सामान्य चोट लागेको थियो, तत्काल उद्धार गरेर उपचार गराई घाउजाँच गर्नुपर्छ, पछि प्रमाण हुँदैन भनेर घाउजाँच गर्न लगाएको हो।’

पीडितले दाजु र आफन्त आएपछि छलफल गरेर उजुरी दिने बताएको र अहिलेसम्म उजुरी पनि नदिएको प्रहरीको भनाई छ।

पीडित भनिएकी महिलाको स्ट्याटस् यस्तो

पीडित भनिएकी महिलाले मन्त्रीबाट बलात्कार नभएको सामाजिक सञ्जालमा स्टाटस् लेखेर सार्वजनिक गरेकी छन्।

‘मलाई जुन विषयमा मन्त्री र मेरो नाम जोडेर बलात्कार गरेको झुट आरोप लगाइएको छ यो सरासरी गलत हो, मेरो व्यक्तिगत जीवनमा कसैले चरित्र हत्या गर्छ भने म उसैको नामबाट चिठी लेखेर मर्छु र सोही मिडिया जवाफदेही हुनेछ,’ मिमसरा महतरा नामको फेसबुक एकाउन्टमा यस्तो लेखिएको छ।

यता मन्त्री शाहीका प्रेस सल्लाहकार नन्दकेश अधिकारीले मन्त्रीको चरित्र हत्या हुनेगरी अकल्पनीय र काल्पनिक आएको दावी गरेका छन्। मन्त्री शाहीमाथि लागेको बलात्कारको आरोपको भण्डाफोर गर्न समेत सामाजिक सञ्जालबाट अपील गरेका छन् उनले।

उनले लेखेका छन्, ‘उपरोक्त सम्बन्धमा कर्णाली सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीमाथि जुन सामाजिक सञ्जाल र केही मिडियामा मन्त्री चरित्र हत्या हुनेगरी काल्पनिक कुरा आइरहेको छ, यसको भण्डाफोर कार्यक्रम र सुब्बा कुनादेखि वीरेन्द्रनगरको बजारसम्म र्‍याली हुने भएको हुदाँ सम्पूर्ण पार्टीका नेता कार्यकर्ता र शुभचिन्तक नेपाली दाजुभाई दिदी बहिनीहरु लाई अपील गर्दछु।'

यद्यपि, आज अर्को सूचना पोस्ट गर्दै उनले र्‍याली नहुने जनाएका छन्।

मन्त्रीलाई बर्खास्त गर्न माग

यता प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले आरोपीत मन्त्री शाहीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन्।

‘कर्णाली प्रदेशको गरिमा र सम्मानका लागि अबिलम्ब आरोपित मन्त्रीलाई बर्खास्त गरियोस्,’ नेता कँडेलले सामाजिक सञ्जालमा लेखेका छन्।

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतले केही दिन कागजात नलिएर कुरा बुझ्न आएको तर कागजात लिएर आउनु भनेर फिर्ता भएपछि प्रहरीसमक्ष नगएको बताएको छ।

‘केही दिनअघि पति/पत्नी चाहिँ कागजात नलिएरै आएनुभएको थियो,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘घटना २०७६ माघतिरको भनेपछि हामीले कानून व्यवसायीसँग छलफल गरेर आउनुस् भन्यौँ अहिलेसम्म आउनुभएको छैन।’

अहिलेसम्म बलात्कारको आरोप भनिएको भिडियोसमेत प्रहरी समक्ष उपलब्ध नभएको र कुनै आधिकारिक निवेदन जानकारी केही नभएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell