PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

६ वर्ष अघि आजकै दिन भएको थियो ८ सुरक्षाकर्मीसँगै नाबालकको हत्या,८० भन्दा धेरै थारुको घरमा आगजनी



एम बम

६ वर्ष अघि आजकै दिन भएको थियो ८ सुरक्षाकर्मीसँगै नाबालकको हत्या,८० भन्दा धेरै थारुको घरमा आगजनी
राजनीति मात्र : यही मुद्दामा माइतीघरमा आन्दोलन जहाँ तत्कालीन गृहमन्त्री बादल आफैँ धर्नामा बसेका थिए।

कैलाली : आजकै दिन हो कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको ज्यान गुमेको। ६ वर्ष अघिको त्यो त्रासदीपूर्ण घटना त्यत्तिकै समाप्त भएको छैन, त्यसको असर र प्रभाव अहिले पनि जारी छ।

२०७२ भदौ ७ गते थरुहटको आन्दोलन चर्किँदा भएको विरोध प्रदर्शन एकाएक हिंसात्मक बनेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो, असाध्यै क्रुरतापूर्वक। यही घटनापछि कैलालीमा एक महिनाभन्दा लामो समयसम्म कर्फ्यु लाग्यो भने ५८ जनाविरुद्ध मुद्दा चल्यो।

केन्द्रदेखि यहाँ पुगेर भड्काउपूर्ण आन्दोलनका लागि उक्साउनेहरु शीर्ष तहका नेताहरु हिंसा भड्किएपछि मौन रहे। चेपुवामा तिनै परे जो लहलहैमा जुलसका लागि हिँडेका थिए। एक घर एक जना जुलुसमा जानै पर्ने उर्दीले हातमा लाठी बोकेर आन्दोलनमा जो जो उत्रिए, पछि उनीहरु बजारसम्म पनि निस्किन नसक्ने अवस्थामा पुगे। उनीहरुका घरमा सुरक्षा निकायको धरपकट रह्यो। क्रुर हत्याकै कारण थारु बस्तीहरु आक्रमणमा परे। घरहरु जलाइए, पसल तोडफोड भयो। जातीय द्वन्द्वले फेरि एकपटक मुन्टो उठायो टीकापुरबाट। झन्डै डेढ वर्षसम्म त यहाँका थारुहरु बजारमा एक्लै जाने आँटसम्म जुटाउन असफल रहे।

घटनामा मुख्य योजनाकार भनिएका सांसद रेसम चौधरी फरार थिए। तर, उनी त्यस हत्यामा संलग्न भएको मान्न स्थानीय तयार थिएनन्। उनी सहित ११ जनालाई जिल्ला अदालत कैलालीले जन्मकैद सजाय सुनायो। उनी घटनापछि फरार रहेका भए पनि २०७४ सालको प्रतिनिधिसभा चुनावमा भूमिगत शैलीमा चुनाव लडे। कैलालीमा बलियो उपस्थिति नै नरहेको राष्ट्रिय जनता पार्टीका तर्फबाट उनले चुनावमा बलियो मानिएका नेकपा एमाले र माओवादी केन्द्रका संयुक्त उम्मेदवार तथा नेपाली कांग्रेसका उम्मेदवारलाई हराए। एकदिन पनि सार्वजनिक सभामा नदेखिएरै रेशम चौधरीले कैलाली–१ बाट चुनाव जिते। फरार रहेकै अवस्था चुनाव जिते पनि पछि जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका उनलाई जन्मकैदको फैसला सुनायो। त्यस यता राष्ट्रिय जनता पार्टीले उनको सजाय घटाउन पटक पटक दबाब दिइरहेको भए पनि अदालतले यो घटनालाई राजनीतिक मान्न अस्वीकार गरेको छ। अदालतले टीकापुर घटनालाई मनसाय प्रेरित, योजनाबद्ध भएको हत्या र नरसंहार भएको व्याख्या गरेको छ।

तर, उनको पक्षमा राजपाले आवाज उठाउन अहिलेसम्म छोडेको छैन। जिल्ला अदालतको फैसला उच्च अदालत र सर्वोच्च अदालतले सदर गरेपछि रेसम चौधरी रिहा हुने बाटो बन्द भएको छ।

जिल्ला अदालतको फैसलाविरुद्ध दोषी ठहर भएकाहरूले उच्च अदालत दिपायलमा पुनरावेदन गरेका थिए। उच्च अदालतले पनि रेसम र थप एक जना लक्षण थारुलाई समेत गरी ८ जनालाई जन्मकैद ठहर गर्‍यो। तर, चार जनाको सजाय घटायो। उक्त घटनामा संलग्न रहेको आरोप लागेका ३१ जना अझै फरार छन्।

अधिकार प्राप्तिका लागि आन्दोलनमै रहेको मोर्चाले घटनाको ६ वर्ष पूरा भएको दिनलाई कालो दिनका रूपमा मनाउने जनाएको छ। थरुहट/थारुवान संयुक्त मोर्चा कैलालीका संयोजक माधव चौधरीले घटना भएको ६ वर्ष पुगेको अवसरमा सोमवार लाम्कीमा शान्तिपूर्ण प्रदर्शन र मङ्गलवार ‘कालो दिन’का रूपमा मनाउने कार्यक्रम रहेको बताए। उनले थारु समुदायको अधिकार र रेसम चौधरीको रिहाइका लागि मोर्चा शान्तिपूर्ण आन्दोलनमा रहेको जनाए। अदालतले थारु समुदायमाथि अन्याय गरेको भन्दै रेशम चौधरीसहितका कैदी बन्दी रिहाइ गर्नुपर्ने माग थरुहट थारुवान् मोर्चाले राख्दै आएको छ।

थारु कल्याण कारिणी सभा कैलाली र थरुहट थारुवान् मोर्चा कैलालीले टीकापुर विद्रोह दिवस मनाउने जनाएको छ। मोर्चाले कैलालीको बलिया चोकदेखि भल्का चौकसम्म र्‍यालीसहित कार्यक्रमको आयोजना गरी टीकापुर विद्रोह दिवस मनाउने जनाएको हो।

यस्तै, ८ गते साँझ ८ बजे देखि आधा घण्टा जिल्ला व्यापी बत्ती निभाउने (ब्ल्याक आउट) मोर्चाका संयोजक लक्ष्मण थारुले जानकारी दिए। टीकापुर घटनाको दोस्रो दिन टीकापुर क्षेत्रमा ८० भन्दा बढी थारु समुदायका घर, पसलमा आगजनी भएको थियो। त्यसैले उनीहरुले यसलाई कालो दिनका रुपमा व्याख्या गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell