PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

२ घण्टा लामो ओली निवासको छलफल : स्थायी कमिटीको बैठक बोलाउने निर्णय, कार्यदलका सदस्य पनि सहभागी हुने



पहिलोपोस्ट

२ घण्टा लामो ओली निवासको छलफल : स्थायी कमिटीको बैठक बोलाउने निर्णय, कार्यदलका सदस्य पनि सहभागी हुने

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको नेकपा (एमाले)को तेस्रो धारका नेताहरुको बैठक सकिएको छ।

एमालेका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, युवराज ज्ञवाली लगायतका नेताहरुले छलफलमा थिए। ओलीलाई ४ दिनको समयसीमा दिएर तेस्रो धारका नेताहरुले १० बुँदे कार्यान्वनयका लागि दबाब दिएका थिए। आज बसेको बैठक सकारात्मक भएको एमालेका नेता प्रदीप ज्ञवालीले जानकारी दिए।

'छलफलले १० बुँदे प्रस्तावलाई कार्यान्वयनको प्रकृया जुन अब सुरु भएको छ, अझ तिब्रता दिने निर्णय गरेको छ। यसको बारेमा थप छलफल गर्नका लागि पार्टी स्थायी कमिटीको बैठक बस्ने निर्णय भएको छ,' नेता ज्ञवालीले भने।

भोलि बिहानका लागि स्थायी कमिटी बैठक बोलाइएको छ। बैठकले भोलि नै थप निर्णय लिने समेत नेता ज्ञवालीले जानकारी दिए। त्यस्तै, आज भएको छलफलमा माधव नेपाल पक्षमा रहेर निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएका सांसदहरुलाई फर्किन समेत आह्वान गरिएको छ। भोलि बस्ने स्थायी समिति बैठकमा तटस्थ बसेका नेताहरु पनि सहभागी हुने नेता ज्ञवालीले जानकारी दिए।

वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनालले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि एमालेमा तेस्रो धार सक्रिय भएको हो। उनीहरुले हालसम्म ओली-नेपाल दुवै पक्षलाई साथ दिएका छैनन्। उनीहरुले १० बुँदे कार्यन्वय गर्नुपर्ने माग राखेका छन्। आजको छलफलमा यस विषयमा पनि कुरा भएको नेता ज्ञवालीले जानकारी दिए।

नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा सकारात्मक रुपमा प्रस्तुत भएको जानकारी दिए। पार्टीका पुराना जिम्मेवारीहरु कायम राख्ने प्रतिवद्धता गरेकोो उनले बताए। ओलीले पार्टी एकताका लागि पूर्ण रुपमा लाग्ने बताएको भट्टराईले जानकारी दिए। 

दल दर्ताको निवेदन फिर्ता र १० बुँदे कार्यान्वयनको शर्त राखेर तेस्रो धारका नेताहरु एकताका लागि सक्रिय छन्। ओली र नेपाल दुवै नेता तेस्रो धारसँग असन्तुष्ट रहेको बताइएको छ। ओलीले आफूहरुका माग पूरा नगरे बिद्रोह गर्ने उनीहरुले चेतावनी दिएका थिए। आफ्नो पक्षमा केन्द्रीय सदस्य र सांसद गरी ५७ जना नेता रहेको तेस्रो धारका नेताहरुको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell