PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

१० बुँदे कार्यान्वयन गर्न ओली र माधव नेपाल छोडेका नेताबिच सहमति



प्रकाश भण्डारी

१० बुँदे कार्यान्वयन गर्न ओली र माधव नेपाल छोडेका नेताबिच सहमति

काठमाडौं : नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको वार्तामा सहमति भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिएका दोस्रो पुस्ताका नेताहरुले ओलीसँग सोमवार बालकोटमा वार्ता गरेका थिए।

१० बुँदे कार्यान्वन गर्ने सहमति भएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।

'१० बुँदे स्वीकार पहिला नै भइसकेको हो। भोलि स्थायी कमिटी बसेर कार्यान्वयनमा लैजाने सहमति भएको छ,' उनले भने। दोस्रो पुस्ताका नेताहरुले ओलीले आफ्ना मागहरु सम्बोधन गरे एमालेमै रहने बताएका थिए। आफ्ना मागहरुमा ओली सकारात्मक रहेको पाण्डेले जानकारी दिए।

यस्तै, एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वार्ता सकारात्मक भएको बताए। उनले १० जना नेताहरु भोलिको बैठकमा सहभागी हुने जानकारी दिए। 'विभिन्न कारणले बैठकमा सहभागी नभएका कमरेडहरुले १० बुँदे प्रस्तावलाई कार्यावन गर्ने कुरामा जोड दिनुभयो,' उनले भने,'छलफल सकारात्मक र सौहार्द भएको छ। पार्टीका समस्या समाधान हुने भएको छ।'

माधवकुमार नेपालको पार्टीमा नजान ओलीले वार्तामा सहभागी भएका नेताहरुलाई आग्रह गरेको ज्ञवालीले जानकारी दिए।

'माधव नेपालको बाटोमा नजानुस् भनेर मात्रै हामीले छलफल गरेका छौं,' ज्ञवालीले भने।

ओली समूहका नेताहरुले नेपाललाई साथ नदिएका नेताहरु एमालेमै रहने दाबी गरिरहँदा स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने आफूहरु कहाँ रहने भन्ने घोषणा गर्न अझै दुई दिन लाग्ने बताए।

'तपाईँहरुले धेरै सोध्न खोज्नुभएको होला तर अझै २ दिन लाग्नसक्ला हामीले के गर्ने भन्ने,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell