काठमाडौं : रौतहटमा कार्यरत पत्रकार मोहम्मद मोजुबुल्लाहलाई योजनावद्ध रुपमा लागू औषध कारोबारमा प्रहरी र पत्रकार नै मिलेर फसाएको खुलासा भएको छ।
यसरी योजनावद्ध रुपमा फसाएको घटनामा प्रहरीदेखि पत्रकारसम्म तानिएका हुन्। घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यलय रौटहटले दुई प्रहरीलाई निलम्बन र पत्रकारलाई नियन्त्रणमा लिएको छ। एक पत्रकारको योजनामा अर्का पत्रकार मोजुबुल्लाहलाई फसाउने रणनीति बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ।
'पत्रकारको योजनामा पत्रकारलाई नै फसाएको देखियो। यसमा प्रहरीको पनि मिलोमतो देखियो,' जिल्ला प्रहरी कार्यालयका एसपी सिद्धिविक्रम शाहले भने।
साउन ३२ गते पत्रकार मोहम्दको मोटरसाइलबाट लागू औषध नाइट्रेभेट फेला परेको थियो। त्यसमा योजनावद्धरुपमा त्यहाँ खटिएका प्रहरी पुगेका थिए। पत्रकारको योजनामा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साह पुगेका थिए। उनीहरु घुमुवा प्रहरी हुन्।
उनीहलाई निलम्बन गरेर अनुसन्धान सुरु गरिसकेको छ। यस विषयमा रौतहट प्रहरीले पत्रकार सम्मेलन गर्दैछ।
रौतहट एक्सप्रेस अनलाइनका पत्रकार मोम्हद मोजीबुल्लाहलाई रौतहट प्रहरीले नाटकीय रुपमा लागू औषध घटनामा फसाएको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले दाबी गर्दै आएका थिए।
सीसी टिभी फुटेजमा गौरस्थित ग्रिन सिग्नल होटेल अगाडि साँझ ७ बजे सडक पेटीमा राखिएको मोटरसाइकलमा केही व्यक्तिहरूले केही सामानहरू झुन्डाइरहेको देखिएको थियो। रौतहट प्रहरीले साउन ३२ गते राति ८ बजे उनलाई नाइट्रोभेटसहित पक्राउ गरेको थियो।
