PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

ओली समूहभित्रै असन्तुष्टि छ, अब ओलीले पार्टीभित्रकै क्रान्तिकारी धारसँग संघर्ष गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य



सहयोग रञ्जित

ओली समूहभित्रै असन्तुष्टि छ, अब ओलीले पार्टीभित्रकै क्रान्तिकारी धारसँग संघर्ष गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य

नेकपा एमाले विभाजित भइसकेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिविरुद्ध विद्रोह गर्दै माधवकुमार नेपाल पक्षले नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। दल दर्ता प्रक्रिया सुरु भइसकेको छ। शनिवार र स्थानीय पर्वका कारण बाँकी दुई दिन नेताहरुका लागि ‘कुलिङ पिरियड’ झै भएको छ।

यसबिच, यसअघि माधव नेपाल पक्षमा देखिएका नेताहरु एकताका लागि भन्दै अन्तिम प्रयासमा छन्। ‘तेस्रो धार’ का रुपमा देखिएका नेताहरुले अध्यक्ष ओलीलाई एकताका लागि सहमति गर्न र १० बुँदे कार्यान्वयन गर्न दिएको दवावले प्रभाव छाडेको छ। ओलीविरुद्ध संघर्ष गरिरहेका नेताहरुले एमाले फुटाउने कुरामा माधव नेपालको साथ दिएका छैनन्। तिनैमध्येका एक हुन् एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य। एमाले फुटेकै दिन वाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्यलाई पहिलोपोस्टकर्मी सहयोग रञ्जितले सोधे - तपाईं जुन दिन मुख्यमन्त्री बन्नु भयो त्यही दिन एमाले विभाजित भयो नि? शाक्यसँग आइतवार गरिएको कुराकानीको सम्पादित अंश :

नेकपा एमाले पार्टी इतिहासकै खराब दिनमा पुग्दा तपाईं चाहिँ सत्तामा कसरी पुग्नुभयो?

त्यो दिन जे नहुनुपर्ने त्यही भयो। हामीले एकताका लागि भन्दै सन्देश दिन खोजिरहेका थियौं। मुख्यमन्त्री भइरहँदा सबै उत्साही थियौं। प्रदेशका साथीहरु खुशी थिए। तर, केन्द्रमा चाहिँ पार्टी फुट्यो। आफूहरुले बनाएको पार्टी फुट्दा दु:ख त लाग्छ नै। तर, मलाई वाग्मती प्रदेशको एकताको सन्देशले चाहिँ विभाजनलाई फेरि एकतामा बाँध्छ भन्ने विश्वास छ।

हामीले बजेट र नीति तथा कार्यक्रममा यस अघिको सरकारलाई समर्थन गरेका हौं। त्यसबेला पनि हामी पार्टीभित्र विपक्षमा थियौं। दुवै नेतासँग छलफल गरेरै यस्तो निर्णय लिइएको हो।

एकता भनिरहँदा माधव नेपाल त फुटेर जानुभयो। के तपाईंले पनि उहाँको साथ छाड्नु भएको हो?

फुटेर बलियो भइँदैन। मिलेर पार्टीभित्र वैचारिक संघर्ष गर्ने हो। हामी एकताको लागि प्रयास गरिरहेका छौं।

माधव कमरेड फुटेर जानु भएको छ। तर, उहाँ फुटेर पर जानुहुन्छ भन्ने मलाई विश्वास लाग्दैन। किनभने नेकपा एमाले बनाउन, कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म पुर्‍याउनका लागि उहाँले ठूलो त्याग गर्नुभएको छ। उहाँको महत्वपूर्ण भूमिका छ। त्यसैले उहाँले छोडेर जानुहुन्न र छिट्टै उहाँसहितको नेकपा एमाले बनाउन सक्छौं।

पार्टी छोडेर वैचारिक संघर्ष हुँदैन। वैचारिक संघर्षमा गलतलाई गलत भन्न सक्नुपर्छ। गलत सहनुभन्दा त्यससँग वैचारिक संघर्ष गर्नुपर्‍यो। यो हिसाबले हामी पहिलादेखि नै प्रयास गरिरहेका हौं।

एउटा व्यक्ति अथवा नेतृत्वले परिवर्तनको चाहना राख्यो भने ठूलो परिवर्तन ल्याउन सक्छ। म माधव नेपालकै मानिस हुँ नि। तर, पार्टी फुटाउनुभन्दा जुटेर अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो। पार्टी फुटेपछि कमजोर हुन्छ भन्ने कुरा सबैलाई थाहा छ। तर, पनि एकआपस बिच इगो हुन्छ। स्वार्थ गुटकै कारण पार्टीमा समस्या आउने हो।

एकताका लागि प्रयास गरिरहनु भएको छ, तपाईँहरुले राखेको १० बुँदे कार्यान्वयन गर्न ओली मान्ने पक्षमा हुनुहुन्छ त?

कार्यदलले १० बुँदे प्रस्तावमा जे भनेको छ, त्यो कार्यान्वयन हुनुपर्छ। एकताको आधार त्यही हुनसक्छ। २०७८ जेठ २ मा फर्किनु नै एकतामा पुग्नु हो। त्यो संरचनाभित्र रहेर कमिटीहरु निर्माण हुनुपर्छ।

तर, अहिले विधान संशोधनको कुरा, अध्यक्षलाई एकल अधिकारको कुराजस्ता विषयले परिस्थिति बिगारिरहेको छ। यस्तो गतिविधि बन्द गर्नुपर्छ र मिलेर अघि बढ्नुपर्छ। पार्टीमा त्यो कुरालाई वैचारिक संघर्ष गरेर टुंग्याउनुपर्छ।

हामीले अल्टिमेटम दिएका छौं। अब एकता भन्दै महिनौं, वर्षौं बिताउने पक्षमा हामी छैनौं। किनभने, यस विषयसँग लाखौं कार्यकर्ताको भविष्य जोडिएको छ। साथै, स्थानीय तहको निर्वाचन पनि आउँदैछ। जनताको बिचमा पनि जानुछ। बलिदानबाट ल्याएको लोकतन्त्र, गणतन्त्र संविधान जोगाउनुपर्नेछ। अहिले हामीलाई सेकेन्ड सेकेन्डमा धेरै नोक्सानी भइरहेको छ। त्यसैले छिटो मिल्नुपर्छ र मिल्न मन फराकिलो। आफ्नो स्वार्थका लागि होइन, जनताको हितको लागि, परिवर्तनका लागि मिल्नुपर्छ।

वैचारिक संघर्ष भन्ने अनि एकताका लागि पार्टी अध्यक्षबाट ओलीको बहिर्गमन मुख्य माग राख्ने। ओलीले पद छाड्ने र माधव नेपाल फर्किने सम्भावना देखिँदैन त?

हामीले प्रयास गरिरहेका छौं। तर, मिल्नुको विकल्प छैन। हाम्रो सिंगो मुलुकको भविष्य नेकपा एमालेको एकतामा टिकेको छ। पार्टी कमजोर भयो भने सिंगो मुलुको भविष्य कमजोर हुन्छ। पार्टी बलियो भयो भने देशको भविष्य बलियो हुन्छ।

नेकपा एमाले ठूलो बलिदान र त्यागबाट बनेको पार्टी हो, पुष्पलालदेखि निरन्तरता पाएको। धेरै नेताको जेलनेलले बनेको पार्टी। परिवार बालबच्चा सबै छोडेर हिँडेको हो नि। आफैँले पनि सबै धेरै कुरा छोडेँ। यो पार्टी हाम्रो रगत पसिनाको फल हो। त्यसैले नेकपा एमाले प्रदेश, केन्द्र र स्थानीय सरकारमा जसरी बलियो भएर आयो। त्यो जनताको मायाबाट हो। त्यसबाट गणतन्त्र र संविधान बलियो हुन्छ भनेर जनताले आशा गरेको हो। मुलुकले नयाँ रुपान्तरण पाउँछ, समाजवादको लक्ष्य प्राप्त गर्न सकिन्छ। त्यसको नेतृत्व नेकपा एमालेले गर्छ। तर, आज केपी ओलीले जे गरे यो त्यसैको प्रतिफल हो।

‘ओलीलाई कमरेड भन्दिन’ भन्नु भयो। फेरि ओली र माधव नेपालकै सहमतिमा मुख्यमन्त्री बनेको भन्नुभयो। बोली फेरेको आरोप लाग्यो त?

मैले भनेकै हो। केपी ओली कम्युनिष्ट होइन। ओलीले कम्युनिष्ट विचार त्यागिसके। सिद्धान्त त्यागिसके। ओली प्रतिगमनमा गएकाले मैले त्यसो भनेको हुँ। केपी ओली प्रतिगमनमा गएकै हो। गणतन्त्र विरोधी काम गरेकै हो। अहिले पनि खुलेरै भन्छु। यस्तो कुरामा सौदाबाजी हुन्न।

केपी ओलीले विचार, सिद्धान्त, गणतन्त्रको सोच छाडे र प्रतिगमनकारी कदम चाले। संविधानलाई कुल्चने काम गरे। अनि आफू शक्तिशाली भएर सबै सिद्धाएर एकतन्त्रीय व्यवस्था ल्याउने कोसिस गरे। त्यसैले उनी कम्युनिष्ट होइन भनेकै हुँ।

जनताले यति धेरै माया गरेको एमाले ओलीका कारणले ढल्यो। बहुमत पाएको दललाई जनताले अविश्वास गरे। ओलीले पार्टीभित्रकै क्रान्तिकारी शक्ति धारसँग संघर्ष गर्नुपर्‍यो। अन्य दलले पनि उनको गल्ती औल्याए। सर्वोच्चले पनि त्यही फैसला गर्‍यो। त्यसैले केपी ओली ढले। ढलेपछि आक्रोश, असन्तुष्टि होला। तर, नेकपा एमाले केपी ओलीको मात्रै पार्टी होइन। मैले ठोकुवा गरेर भनेको छु - केपी ओली १४ वर्ष जेल बसे। उनले दु:ख गरे, त्याग गरे। तर, नेकपा एमाले बनाउन लाखौं कार्यकर्ता र नेताले बलिदान र त्याग गरेका छन्।

एमाले नै कम्युनिष्ट आन्दोलन अघि बढाएको हो। त्यसैले नेकपा एमाले केपी ओलीको मात्रै होइन। यदि केपी ओली कम्युनिष्ट होइनन्, छाडेर जान्छु भन्यो भने एमाले बनेको धरातल सकिन्छ। केपी ओलीको गलत बाटोमा जान्छ एमाले। त्यसैले हाम्रो मान्यता भनेको हामीले दु:ख गरेको पार्टी हो। त्यहीँभित्र बसेर केपी ओलीको गलत चिन्तन विरुद्ध लडेर उनलाई पराजित गरेर एमाले बचाउनुपर्छ।

एकता हुन सकेन भने के गर्नु हुन्छ? माधव नेपाल पक्षमा फर्किनु हुन्छ कि एमालेमा रहनु हुन्छ?

मैले एकता नै देखेको छु। म तेस्रो धारकै हुँ। हिजो माधव नेपालको पक्ष हुँ। भीम रावल, घनश्याम भुसाल लगायत हामी सबै माधव नेपालकै पक्ष हौं नि। अहिले माधव फुटेर जानु भएकाले हामी ठूलो संख्या एकताकै पक्षमा छौं। हामी पार्टी टुक्राउने होइन कि मेलमिलापको पक्षमा छौं।

२०५४ सालमा पनि पार्टी फुटेकै हो। मैले त्यही बेला वामदेव, सहना कमरेडलाई भनेको थिए : तपाईं पार्टी फुटाउँदै हुनुहुन्छ। तपाईंको तागतले पार्टी त फुट्ला तर हेर्नुस् केही वर्षमा फेरि फर्किनुपर्छ। उहाँहरु तीन वर्षपछि त फर्किहाल्नु भयो। तर, हिजो धेरै शक्ति लिएर गएको फर्किँदा टुक्राटुक्रा भएर आउनु भयो।

त्यसैले, पार्टी विभाजन गर्नै नहुने काम हो। अहिले लोकतन्त्र, गणतन्त्र बचाउन र विकासका लागि एकता खाँचो छ। सबै दलबिच एकताको खाँचो छ। कांग्रेस, माओवादी कुनै पनि पार्टी फुट्नु हुँदैन। 

१० बुँदे कार्यान्वयन गर्नुपर्छ। यसमा ओलीलाई दबाब दिने हो। ओलीले एकता गरेनन् भने त उनी एक्लिन्छन्। हाम्रोमा मात्रै होइन, ओली समूहभित्रै असन्तुष्टि छ। लडाइँ सुरु भएको छ।

यता, माधव कमरेडलाई हामीले सहमतिका लागि तयार गराउने प्रयास गरिरहेका छौं। भेटिरहेका छौं। उहाँ त सबैका अभिभावक। पार्टी फुटे तपाईंलाई नै नोक्सान हुन्छ कमरेड, छुटेर नजानु भनिरहेका छौं। उहाँ पनि लचिलो हुनुभएको छ।

माधव नेपाल एकताका लागि लचिलो भन्नुभयो। उनकै सहमतिमा दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याइयो। सम्भावना सम्भावनामै सीमित हुने त होइन?

अध्यादेश हिजो जसले ल्यायो त्यो पनि गलत। आज जसले ल्यायो त्यो पनि गलत। अध्यादेश ल्याउँदा ओली र राष्ट्रपतिको विरोध गरेको थिएँ। अध्यादेश एकपल्ट नपल्टाइ सरक्क स्वीकृत गर्ने कुरा आउँछ राष्ट्रपतिको पदमा बसेर? अध्ययन त गर्नुपर्‍यो नि। किन भने त्यो अध्यादेशमा पार्टीहरुलाई छिन्नभिन्न गर्ने उद्देश्य नै थियो। मूल उद्देश्य लोकतन्त्रिक व्यवस्था सिद्धयाउने अनि निरंकुश व्यवस्था लागू गर्ने। यस्तो अध्यादेश हामी मान्न सक्छौं?

एकता हुन सकेन भने अष्टलक्ष्मी शाक्य कति दिनको मुख्यमन्त्री?

यो अष्टलक्ष्मीको मात्रै प्रश्न होइन। धेरै साथीहरुको पद गुमेको छ। धेरै साथीहरुको पद धरापमा छ। कसैको सासंद पद धरापमा छ त कोही पार्टी सदस्यको। पार्टी विभाजनमा जाने बित्तिकै त सबैको पद, हैसियत कमजोर हुन्छ। त्यसैले हामीले एकताको आवश्यकता भनिरहेका छौं। जो फुटेर जानु भयो, जो एमाले भनेर बसिरहनु भएको छ, त्यहाँ पनि समस्या छ।

मुख्यमन्त्री हुँला नहुँला त्यो ठूलो कुरा होइन। मैले पद त्याग्दै आएको हो। हिजो पनि मन्त्री पद त्यागेकै हो। तेस्रो पटक मन्त्री दिँदा त्यागेकै हो। मुख्यमन्त्री पनि साथीहरुको पहलमा भएको हो। जनताले मलाई जितेर पठाउनु भयो। त्यसपछि जेजे भयो त्यो सिद्धियो। पद ठूलो कुरा होइन, हामीले व्यवस्था जोगाउने हो।

आन्दोलनको उपलब्धी जोगाउने कि नजोगाउने? जिन्दगीभर कम्युनिष्ट पार्टी भनेर लागेको सिद्धान्तलाई जोगाउने कि नजोगाउने? पार्टीलाई जोगाउने कि नजोगाउने त्यो ठूलो कुरा हो। त्यसका लागि जे त्याग गर्नुपर्छ गर्न तयार छु। युवा पुस्ताको ठूलो संख्या एकताका लागि लडिरहेको छ। त्यसैले पदसँग आन्दोलनको उपलब्धी साट्न सकिँदैन।

मुलुककै पहिलो महिला मुख्यमन्त्री बन्नुभयो। महिलाहरुले नै धेरै आशा राखेका छन्। तर, राष्ट्रपति जस्तो नहोस् भनेर धेरैले प्रतिक्रिया पनि दिएका छन्। कसरी सम्बोधन गर्नुहुन्छ?

सुझाव आउनुपर्छ। त्यो मेरो लागि मार्गनिर्देश हो। म अहिले जसरी आएँ त्यसरी नै फर्किनु पर्छ। मेरो शरीरमा दाग लाग्नु हुँदैन। मैले दुईपटक मन्त्री हुँदा यही प्रतिबद्धताका साथ गएको थिएँ। जस्तो गएँ, त्यस्तै फर्किएँ।

मैले जिन्दगीमा धेरै त्यागेको छु। बालबच्चा समेत त्यागेको छु। त्यसैले कुनै स्वार्थ राखेर केही फाइदा छैन। मैले स्वार्थ राखेको भए म राजनीतिमा नलागेकै भए राम्रो हुन्थ्यो। तर, म देश र जनताको सेवा गर्छु भनेरै लागेको हो। त्यसैले स्वार्थ, लोभ छोडिसके।

कम्युनिष्ट भनेको परिवर्तनको बाहक हो। हामीले गणतन्त्र ल्याएर समाजवादको लक्ष्य बोकेका छौं। अनि हाम्रो सोच निरंकुश सामन्त खालको। तामझाम धेरै गर्नुपर्ने।

म चाहिँ यस्तो नगर्नेमा प्रष्ट छु। सचेत भएर जति सक्छु त्यति काम गर्छु। मलाईं सांस्कृतिक रुपान्तरण हुनुपर्छ जस्तो लाग्छ। नत्र नयाँ परिवर्तन हुन सक्दैन।

एकदिन घर जान म बस स्टपमा थिएँ। मान्छेहरुको भिड थियो। तर बाटो जाम थियो। यात्रुहरुले कुरा गर्न थाले। कोको ठूलो मान्छे आउने रे भन्दै। उनीहरुले नराम्रो प्रतिक्रिया दिए। हामीलाई यस्तो दु:ख दिएर, राष्ट्रपति प्रधानमन्त्री आउने रे भनेर भनिरहेका थिए। मलाई नमीठो लाग्यो। घण्टौं जामपछि सकिनसकि बस चढेँ। बस भित्र मान्छेहरुको यति धेरै टिकाटिप्पपणी सुनेँ। त्यसपछि लाग्यो - के परिवर्तन गर्‍यौं त हामीले?

त्यसैले रुपान्तरणको खाँचो छ। संविधानले नयाँ ढंगले अघि बढ, रुपान्तरण गर भनिरहेको छ। हामी चाहिँ त्यही पुरानै ढर्रामा छौं।

प्रदेशमा जातीय र भाषिक प्रतिनिधित्व छैन भनेर आलोचना भइरहेको थियो। तपाईं मुख्यमन्त्री बन्ने बित्तिकै गाईजात्रामा बिदा दिनु भयो। त्यसको पनि विरोध भयो। प्रदेशमा प्रतिनिधित्वको आवश्यक्ता महसुस गर्नुभएको छैन?

सरकारले सबै जाति, जनजातिको भाषा, संस्कृति, परम्पराको अपनत्व गर्नुपर्छ। उनीहरुको पनि समान सहभागिता हुनुपर्छ। यसमा बाहुल्यता भन्ने कुरा हुन्छ। यो प्रदेश भनेको नेवार र तामाङको बाहुल्यता भएको प्रदेश हो। त्यसैले स्वत: तामाङ र नेवारहरुको संस्कृति र परम्परा संस्कार यो प्रदेशमा बढी हुन्छ। त्यसबाहेक अल्पसंख्यक जाति चेपाङ, थामी, जिरेल पनि छन्। उहाँहरुको पनि भाषा संस्कृतिहरु संरक्षण हुनुपर्छ। हामीले हाम्रो परम्परा जोगाउनुपर्छ। भाषा, लिपि, परम्परा, संस्कारबाट हाम्रो पहिचान। यी सबै जोगाउनुपर्छ। त्यसरी जोगाइरहँदा त्यसभित्रको गलत प्रवृत्ति त्याग्नु पर्छ।

सबै जाति भाषालाई संरक्षणको जरुरी छ। स्थानको जरुरी छ। योगदानको जरुरी छ। मैले त्यही गर्न खोजिरहेको छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell