PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

एमालेलाई लुम्बिनीका मुख्यमन्त्री केसीले भने : आवेगमा नआउनुस्, हामीले प्रतिपक्षमा हुँदा सहयोग गरेका थियौं



पूजा पन्थी

एमालेलाई लुम्बिनीका मुख्यमन्त्री केसीले भने : आवेगमा नआउनुस्, हामीले प्रतिपक्षमा हुँदा सहयोग गरेका थियौं

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्। एमालेको निरन्तर विरोधकै बिचमा पनि विश्वासको मत पाएका मुख्यमन्त्री केसीले विश्वासको मत पाएसँगै एमालेलाई संयमता अपनाउन आग्रह गरेका छन्।

उनले गठबन्धनका दलहरु प्रतिपक्षमा बसे पनि निरन्तर सहयोग गरेको कुरा नबिर्सन आग्रह गरे। उनले संविधान एवं संसदीय प्रणाली अनुसार चल्न सुझाब दिँदै आवेगात्मक नहुन भने।

‘गठबन्धन विपक्षमा रहँदा सरकारलाई समर्थन गरेका थियौँ, त्यो कुरा नबिर्सनुहोस्, बढी आवेगात्मक हुनुभएको छ, त्यसलाई छाड्नुहोस्,’ उनले भने।

मुख्यमन्त्री केसीले आगामी कार्यक्रमको बारेमा बताउँदै गठबन्धन सरकारले ३ वर्षको अनुभवकै आधारमा सरकार सञ्चालन गर्ने प्रतिक्रिया दिए। उनले आत्मनिर्भर लुम्बिनीवासी बनाउने कार्यमा आफुहरु तल्लिन हुने बताए।

उनले गठबन्धनले दु:ख कष्टकका साथमा केन्द्रदेखि प्रदेशसम्म राजनीतिको नेतृत्व गरेको उल्लेख गर्दै संविधान र संघीयता कार्यान्वयन, लोकतन्त्र रक्षा, जनजिविका र स्वास्थ्य क्षेत्रको सुधारका लागि कार्यगर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को बहिस्कारको बाबजुद जनमोर्चा प्रतिपक्षमा बसेकाले बैठक चलेको हो। सहभागी ४३ प्रदेशसभा सदस्यमध्ये उनले ४२ मत प्राप्त गरेका थिए भने एमाले सांसद एवं उपसभामुख कृष्णी थारु तटस्थ बसेकी थिइन्। जनमोर्चा सांसद विपक्षमा बसे पनि मतदान पक्षमा गरेका थिए।

८० सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका ३८ जना, माओवादी (सभामुख सहित) र नेपाली कांग्रेसका १९/१९ जना, जसपाका ३ र जनमोर्चाका १ जना सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell