PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पौडी खेल्न गएकी कोपिला कहिल्यै घर फर्किनन्, १४ महिनापछि खुल्यो हत्याको रहस्य



रिना थापा

पौडी खेल्न गएकी कोपिला कहिल्यै घर फर्किनन्, १४ महिनापछि खुल्यो हत्याको रहस्य

पोखराः आमा-बाबाको लालनपालन बिना नै हुर्किन् कोपिला। आमा-बाबा एक अर्कासँग छुट्टिएपछि कोपिला नेपाल संस्थामा बसी अध्ययन गरेकी उनी सुस्त मनस्थितिकी थिइन्। संस्थामा बसेको केही समयपछि कोपिला आफ्नो इच्छाले मामा घरकी हजुरआमाको काखमा आइपुगिन्। कोपिलाको स्याहारको जिम्मा हजुरआमा पुतली परियारलाई थियो।

हजुरआमाको काख खोज्दै आएकी नातिनीलाई पुतलीले पालिन्। तर पुतलीको काखबाट कोपिलाको साथ र सास छुटेको १४ अहिले १४ महिना पुग्यो ।

+++

०७७ असार १५ को दिन कोपिलाले हजुर-आमासँग २ सय रुपैयाँ मागिन्। पुतलीले पैसा नदिएपछि घरबाट निस्किएर साथीहरूसँग पौडी खेल्न गाउँ नजिकैको खोलामा पुगिन्। त्यस दिनदेखि कोपिला घर कहिल्यै फर्किनन्।

घरबाट निस्किएको १० दिनपछि असार २५ गते १७ वर्षीया कोपिलाको शव भेटियो ।

कास्कीको मादी गाउँपालिका-१० मकै खोला बस्ने कोपिलाको शव गाउँ नजिकै भेटिएको थियो। १० दिनदेखि बेपत्ता रहेकी उनको शव मादी ११ स्थित पातिघारीमा सडेको अवस्थामा भेटिएको थियो। घटनाको १४ महिनापछि जिल्ला प्रहरी कार्यालय कास्कीले हत्याको रहस्य सुल्झाएको छ।

कोपिलाको हत्यामा संलग्न स्याङ्जाका ४५ वर्षीय खड्कबहादुर खवासलाई पक्राउ गरेर कास्की प्रहरीले एक वर्षपछि घटना रहस्य सुल्झाएको हो। कास्की प्रहरी प्रमुख रमेश थापाका अनुसार मोटे भनेर चिनिने खड्कलाई पक्राउ गरिएको छ। स्याङ्जा हरिनास गाउँपालिका ६ का खड्कलाई प्रहरीले आइतबार स्याङ्जाको पुतलीबजार नगरपालिका ४, शिव मन्दिर चोकबाट पक्राउ गरेर पोखरा ल्याएको हो।

सुरुवालले घाँटी बेरेर हत्या

खड्क गत वर्ष जेठ २ मा जनकल्याण माविको भवन निर्माणका क्रममा मादीको मकैखोला पुगेका थिए। मकैखोला पुगेको दोस्रो हप्तादेखिनै उनको चिनजान कोपिलासँग भयो। कोपिलालाई फकाउन चाउचाउ, बिस्कुट किन्दिन्थे खड्क। भवन निर्माणको काम एक महिनामा सकियो। भवन निर्माण कार्य सकिए पनि खड्कलाई ठेकेदारले पैसा दिएनन्। उनी ज्याला नपाइन्जेल घर नफर्किने निर्णय गरे। अन्य साथी फर्किए पनि उनी त्यहीँ बसे। त्यस अवधिमा खड्क र कोपिलाको सम्बन्धले निकटता लिइसकेको थियो।

प्रहरीका अनुसार कोपिला घरबाट निस्केको दिन पनि खड्कसँग बिहानै कुराकानी भएको थियो। कुराकानी अनुसार दिउँसो दुवैले खोलामा भेटे।

गाउँबाट १० मिनेट तल अरू साथीसँगै कोपिला पौडिन खोलामा पुगेकी थिइन।

खड्कसँग बिहान भएको कुराकानीका कारण कोपिलाले अन्य साथीलाई घर पठाएर आफू त्यहीँ बसिन। दिउँसोको करिब साढे दुई बजे सबै घर फर्किएपछि खड्क खोलामा पुगे। प्रहरीका अनुसार कोपिला र खड्कबीच सहमतिमै शारीरिक सम्बन्ध भयो। त्यसअघि पनि दुईबीच शारीरिक सम्बन्ध रहेको प्रहरी अनुसन्धानमा खुलेको छ। त्यस दिन शारीरिक सम्बन्ध राखेपछि कोपिलाले आफूलाई बिहे गरेर खड्कसँगै लैजान भनिन्। कोपिलाको आग्रह खड्कले स्वीकार गरेनन्।

सुरुवातमा उनले कोपिलालाई सम्झाउने प्रयास गरे। तर कोपिलाले खड्कको आग्रह मानिनन्। प्रहरी अनुसन्धान अनुसार त्यही झोकमा खड्कले कोपिलाकै सुरुवालले घाँटी बेरेर हत्या गरे।

कोपिलासँग सम्बन्ध हुनु अगाडि खड्कका दुई श्रीमती थिए। शारीरिक सम्बन्ध बोझ हुने ठानेपछि हत्या गरेको खड्कले प्रहरीसमक्ष स्वीकार गरेका छन्।

प्रहरी बयानमा उनले भनेका छन्, 'मलाई पनि लैजानुपर्छ भनेर उसले मलाई मानसिक टर्चर दिन थाली। मैले हात समातेँ, एक झापड हानेँ त्यसपछि उसको सुरुवालले घाँटीमा अठ्याएँ। अनि घोप्टो पारेर छोडेर हिँडेँ।'

+++

घरबाट निस्किएकी कोपिला घर आइनन्। सुरुमा त हजुरआमा पुतलीले कोपिला  आफ्नो बुवाको घर मादी ९, सिप्लिबेसी पुगिन् भने सोचिन्। कोपिला कहिलेकाहीँ बाबाको घर हजुरबा र आमा भेट्न पुग्थिन। तर कोपिला त्यहाँ नभएको पुतलीले जानकारी पाइन्। त्यसपछि उनको खोजीमा परिवार जुट्यो। खोजीमा रहेको परिवारले १०औँ दिनमा शव फेला पार्‍यो।

स्थानीय सुरेश गुरुङले गोरु चराउन जाँदा मादी ११ को पातिघारीमा शव देखेका थिए।

गुरुङले शव देखेपछि अन्य स्थानीयलाई खबर गरे। खबर पाएपछि गाउँलेसँगै हत्यारा खड्क पनि घटनास्थल पुगे। घटनास्थल पुगेका खड्क स्वयले प्रहरीलाई जानकारी गराउनुपर्ने बताए।

हत्या भएको १४ महिनापछि कास्की प्रहरीले तिनै खड्क हत्यारा रहेको भन्दै सार्वजनिक गर्‍यो। उसो त खड्क सुरुवातमै प्रहरीको शंकाको घेरामा नपरेका होइनन्। तर प्रहरीले प्रमाण जुटाउन सकेको थिएन।

१४ महिनापछि यस घटनामा कास्की प्रहरी प्रमुखको नजर पुग्यो। असार दोस्रो हप्ता कास्की प्रहरी प्रमुखको जिम्मा सम्हालेका रमेश थापाले आफैँ घटनास्थलमा पुगेर अनुसन्धान फेरि अघि बढाए। सुरुवातदेखि प्रहरीको शंकाको घेरामा रहेको खड्कलाई प्रहरीले अनुसन्धान गर्‍यो। अन्ततः उनी नै पक्राउ परे।

'मृतकको साथीहरूसँग पुनः सोधपुछ र सबै विवरणमा सूक्ष्म ढङ्गबाट अनुसन्धान गर्दा ऊ नै अपराधी रहेको खुल्यो,' एसपी थापाले भने।

खड्कलाई ज्यानसम्बन्धी मुद्दामा जन्मकैद माग गर्दै कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको कास्की प्रहरीले जानकारी दिएको छ।

मोटेले मारेको भन्दा मेरो कुरा कसैले सुनेनन् -पुतली

नातिनीको शव भेटिएपछि पुतलीले खड्क (मोटे) लाई शंका गरेकी थिइन्। प्रहरीकै शंकाको घेरामा परेका थिए खड्क। तर पुतलीको कुरा कसैले सुनेनन्‍। १४ महिनाको अन्तरालमा पुतली समय-समयमा अनुसन्धानका विषयमा बुझ्न प्रहरी कार्यालय पुग्थिन। तर आफूलाई प्रहरीले कार्यालयमा टेक्नै नदिएको पुतलीको आरोप छ। प्रहरीको व्यवहारले कोपिलाको परिवारले न्याय पाउने आशा मारिसकेको थियो।

'मोटेले मारेको भन्दै किटानी जाहेर दिन आउँदा अनुसन्धान हुँदैछ भन्नुभयो प्रहरी कार्यालयमा खुट्टा टेक्न दिनुभएन, 'पुतली दुखेसो पोखिन्, 'दिनदिनै चाउचाउ किनेर दिने फकाउने रैछ मैले बारम्बार त्यसैले मारेको भन्दा पत्याएनन्।'

उनको गुनासो छ प्रहरीसँगै गाउँलेले पनि सहयोग गरेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell