PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

ओमन सिरिजमा राम्रो गर्ने सन्दीपको अठोट, फ्रेन्चाइज नफापेको वर्षबारे सुनाए - पहिलो प्राथमिकता नेपाल नै



मुकुन्द घिमिरे

ओमन सिरिजमा राम्रो गर्ने सन्दीपको अठोट, फ्रेन्चाइज नफापेको वर्षबारे सुनाए - पहिलो प्राथमिकता नेपाल नै

काठमाडौं : नेपाली क्रिकेटका ग्लोबल स्टार सन्दीप लामिछानेको पछिल्लो वर्ष खास प्रभावकारी हुन सकेन। त्यसअघिका वर्षहरुमा इण्डियन प्रिमियर लिग, बिग ब्यास लिगलगायत विश्वका प्रतिष्ठित प्रतियोगितामा सहभागिता जनाएका लामिछानेले जहाँ खेले, राम्रो छाप छाडे। तर, कोभिड १९ संक्रमणकै बिच क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेयता सन्दीपको फ्रेन्चाइज उडानमा धक्का लागेको छ। सीपीएलमा औसत प्रदर्शन गरेका लामिछानेले आईपीएलमा अवसर पाउन सकेनन्। खासमा, आईपीएलको मिनी अक्सनमा उनीप्रति फ्रेन्चाइजीले चासो नै देखाएनन्।

त्यसपछि उनको अफाप यात्रा जारी रह्यो। पाकिस्तान सुपर लिगमा उनले अवसर पाए, उनी त्यहाँ खेल्न पनि पुगे तर आइसोलेसन लगायतका सबै प्रकृया पूरा गरेपछि खेल रोकियो। र, उनी नेपाल फर्किन बाध्य भए।

त्यसपछि भाइटालिटी क्रिकेट र द हण्ड्रेड खेल्नका लागि बेलायत जाने उनको तालिका थियो। यता, नेपालमा कोभिड महामारीका कारण कडा लकडाउन थियो भने बेलायतमा पनि अवस्था उस्तै। भिसाको प्रकृया मिलाउँदा मिलाउँदै उनी ढिला हुनपुगे। सामाजिक सञ्जालमा उनले यसलाई लिएर पर्याप्त सहयोग नपाएको गुनासो पोखेका थिए। तर, भाइटालिटी क्रिकेट चलिरहँदै उनी द हण्ड्रेड खेल्नका लागि बेलायत उडे। त्यहाँ पनि क्वारेन्टाइन लगायतका सबै प्रकृयाहरु पूरा गरे। अन्तिममा थाहा भयो उनी जुन क्याटागोरीको भिसामा लन्डन उत्रेका थिए, त्यसले व्यवसायिक खेलाडीको हैसियत स्वीकार्दैन थियो। मतलब उनले खेल्न पाएनन्। त्यहाँको क्रिकेट बोर्डले अनुमति नदिएपछि उनी नेपाल फर्किए। समाजिक सञ्जालमा उनले यस विषयलाई लिएर फेरि असन्तुष्टि ब्यक्त गरे। उनलाई फर्काइएको विषय अन्तर्राष्ट्रिय मिडियामा पनि छायो।

यद्यपि, यस बिचमा उनले राष्ट्रियस्तरमा ललितपुर मेयर्सको कप्तानी गर्दै मेयर कप एक दिवसीय क्रिकेट खेले। त्यस्तै, मलेसिया र नेदरल्याण्ड्ससँगको त्रिदेशीय क्रिकेटमा पनि उनी प्रभावशाली देखिए।

अहिले उनी ओमनमा हुन गइरहेको विश्वकप लिग टु को तयारीमा छन्। वर्षाका कारण अभ्यासमा यसपटक निकै बाधा भोगेको छ नेपाली टोलीले।

फ्रेन्चाइजमा एकपछि अर्को गर्दै गुमेको अवसरलाई बिर्सिएर अघि बढ्ने मुडमा छन् लामिछाने।

'एकदुई दिन अलि हर्ट हुन्छ। मनमा लाग्न सक्छ। तर, जीवन भनेको त साइकल हो, सँधै अघि बढ्नैपर्ने हुन्छ। ती सबै कुराहरु बिर्सिएर अब अर्को के भन्नेमा जानै पर्छ,' पछिल्ला फ्रेन्चाइज बारेको जिज्ञासामा लामिछानेले भने, 'अब नेपालको गेम छ। दुई तीन महिनाको अन्तरालमा केही नभएको भए सायद अलि हर्ट गर्थ्यो होला। तर, मैदानमा आएको छु। सबैजना सँगै हुन पाउँदा खुशी छु।'

नेपाल, ओमन र अमेरिका बिचको सिरिजका कारण पछिल्ला केही सिजनयता नियमित सहभागी हुँदै आएको क्यारेबियन प्रिमियर लिग (सीपीएल) उनले गुमाउने निश्चित भइसकेको छ। तर, लामिछाने आफ्नो प्राथमिकतामा राष्ट्रिय टिम रहेकाले फ्रेन्चाइज लिगलाई त्यसपछिमात्र ठाउँ दिने बताउँछन्। 

'क्रिकेट खेल्नुभन्दा अगाडि मैले कहिल्यै आइपीएल या कुनै अर्को लिग खेल्छु भन्ने सोचिनँ। मैले नेपालबाट खेल्छु भनेर सोचेको थिएँ। जहिले पनि नेपाललाई पहिलो प्राथमिकतामा राखेको छु,' लामिछानेले भने, 'कुनै पनि प्रतियोगिता होस्, सानोभन्दा सानो या ठूलोभन्दा ठूलो प्रतियोगिता हुँदा पनि प्राथमिकतामा नेपाल नै पर्छ। त्यसो हुनु पनि पर्छ। हामी त यहीँबाट गएको हो। त्यसैले पहिला देश, त्यसपछि अन्य विभिन्न फ्रेन्चाइज।'

विभिन्न कारणहरुले एकपछि अर्को फ्रेन्चाइज गुमाउँदा धेरैको अनुमान छ - लामिछानेको करियरलाई यसले धक्का दिन सक्छ। यद्यपि, उनलाई लिगहरु छुट्नुले करियरमा असर पर्ला भन्ने लाग्दैन।

'मैले जति पनि फ्रेन्चाइजहरु खेलेँ, सबैमा राम्रो भयो। खेलेको प्रतियोगितामा स्टेटहरु पनि राम्रो छ। त्यसैले मलाई लाग्छ, यो त्यस्तो कुरा हो जसले मलाई अघि बढ्न अझ 'बुस्ट' दिनेछ। दुर्भाग्यबस यसपटक सीपीएल पनि मिस भयो,' उनले भने, 'तर ती कुराहरुलाई पछि छाडेर नेसनल टिमलाई पहिला हेर्नैपर्ने हुन्छ। बिग ब्यासलगायत अगाडि आउने कुराहरु अझै बाँकी नै छ। नेपालको गेमसँग जुधेन भने कुनै समस्या आउँदैन जस्तो लाग्छ।'

पछिल्लो पटक उनले खेल्ने चर्चा भएको लिग हो - एभरेस्ट प्रिमियर लिग (ईपीएल)। ईपीएललाई फ्रेन्चाइजी काठमाडौं किंग्सले उनको जन्मदिनको अवसर पारेर टिमको कप्तानका रुपमा पनि घोषणा गरेको थियो। उनको टिममा पाकिस्तानी पूर्व कप्तान शाहीद अफ्रिदी आउने भनिएको छ। तर, अर्कोतर्फ आईपीएल पनि नजिकिँदै छ। कोभिड महामारीका कारण यसपटक केही देशले आफ्ना खेलाडी आईपीएलमा नपठाउने सम्भावना पनि छ। या खेलाडी नै अनिच्छुक हुने पनि देखिएको छ। आईपीएल स्थगित हुनुअघि केही भारतीय र केही विदेशी खेलाडीले ब्यक्तिगत कारण देखाउँदै त्यसबाट बाहिरिएका थिए। यस्तो अन्योलका बिच लामिछानेले अझै अवसर पाउने सम्भावना छ।

आईपीएलको सम्पर्कमा आइरहेको विषयलाई पनि उनले अस्वीकार गरेनन्।

'अहिलेसम्मको लागि ईपीएलको लागि तयारी गरिरहेको छु। तर, आईपीएलका लागि अहिलेसम्म खासै केही भएको छैन। अब हेरौं कहाँ अवसर राम्रो हुन्छ, हामीले हेर्न जरुरी हुन्छ। अहिलेसम्म ईपीएल नै अगाडि छ,' उनले भने।

अनि त्रिदेशीय सिरिज

तत्काललाई लामिछानेको अगाडि रहेको प्रतियोगिता हो, ओमन, अमेरिका र नेपाल बिचको विश्वकप लिग टू अन्तर्गतको सिरिज। यसैको तयारी सकेर नेपालको टिम ओमन जाँदैछ।

'ट्रेनिङ राम्रै भएको छ। मेयरकप पछि लामो फर्म्याटमा खेल्न गरहेका छौं। म भन्दिन कि हामीले धेरै पछि ५० ओभर खेलिरहेका छौं। युएसए ओमनपछि हामीले प्रधानमन्त्री कप पनि खेल्यौं अनि मेयरकप पनि,' लामिछानेले भने, 'साथै वर्षाका कारण खासै अभ्यास खेलहरु खेल्न पाएनौं। तर, यहाँ एक्सक्युज गर्नुपर्ने अवस्था छैन। तयारी राम्रो छ। मेन्टल्ली सबै तयार नै हुनुहुन्छ।'

यस प्रतियोगितामा पूर्व कप्तान पारश खड्काको अनुपस्थित हुनेछन्। कुनै पनि अनुपस्थितिले प्रभाव त पार्ला तर त्यसको विकल्प नहुने बुझेका छन् उनले।

'यहाँबाट मुभ अन गर्नु पनि त्यत्तिकै आवश्यक छ। एउटा समय आउँछ सबै खेलाडीहरु रिटायर हुनपर्छ। अब मिस हुने छ उहाँको। जसरी उहाँले फिल्डमा सबै गर्नुहुन्थ्यो। साथसाथै वहाँको मार्गनिर्देशहरु,' लामिछानेले भने, 'तर, हामी अगाडि बढ्नैपर्नेछ। भोलिको दिन सबैको लागि सहज हुँदै जानेछ। यो टुर्नामेन्टमा हामीले केही राम्रो गर्न सके उहाँलाई डेडिकेट गर्न सकिने केही राम्रो कुरा हामीसँग हुनेछ।'

नेपाल, ओमन र अमेरिकाले यसअघि नेपालमै त्रिकोणात्मक सिरिज खेलेका थिए। जसमा समग्रमा नेपालको प्रदर्शन औसत रहे पनि अन्तिम खेलमा अमेरिकामाथि नेपालले कीर्तिमानी जित निकाल्दा लामिछानेको प्रदर्शन उत्कृष्ट रहेको थियो।

'यति ठाउँमा खेलिसकियो अब एक्सक्युज गर्न मिल्दैन कि पिच यस्तो छ या अरु केही। गएर बलिङ गर्ने हो। जबसम्म मैले बललाई सही स्थान दिनसक्छु, त्यसपछि मलाई लाग्छ सबैलाई गाह्रो नै हुनेछ। मैले गल्ती गरेँ भने मलाई साथसाथै टिमलाई पनि असर गर्नेछ,' लामिछानेले भने, 'पक्कै पनि त्यहाँको पिच नेपालको भन्दा फरक छ। ग्रासी विकेट हुन्छ, फ्लाट विकेट हुन्छ। तर, हामीसँग त्यही हिसाबले बलर पनि छन्। प्लान पनि त्यही अनुसारले तयार छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell