PahiloPost

Jun 2, 2024 | २० जेठ २०८१

विरोध खतिवडालाई पाँच प्रश्न, एक सटिक उत्तर : तेस्रो धारका नेतालाई ओलीले ५ पटक धोका दिइसके, अझै दुईचार लात दिन्छन्



निशा गुरुङ

विरोध खतिवडालाई पाँच प्रश्न, एक सटिक उत्तर : तेस्रो धारका नेतालाई ओलीले ५ पटक धोका दिइसके, अझै दुईचार लात दिन्छन्

माधवकुमार नेपाल पक्ष एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गराउने प्रक्रियामा छ। त्यसका लागि अहिले माधव समूहका नेताहरु काठमाडौंको चन्द्रागिरि हिल्समा भेला भएका छन्। हाल उक्त समूहको केन्द्रीय कमिटी बैठक बसिरहेको छ।

माधव नेपाल पक्षका नेता विरोध खतिवडा सोमवारसम्‍म हेटौँडामै व्यस्त थिए। संगठन विस्तारका लागि कार्यकर्ता भेटघाटमा उनी खटिएका थिए। उनै खतिवडालाई हेटौंडाबाट पहिलोपोस्टकर्मी निशा गुरुङले पार्टी विभाजन र नयाँ पार्टीबारे प्रश्न गरेकी छिन्।

एमाले फुटेसँगै नयाँ पार्टी दर्तामा जानुभएको छ, धेरैले तपाईंहरु स्वार्थमाथि प्रश्न उठाइरहेका छन् नि ?

जनताले भन्ने कुरा पनि ठीकै होला, तर त्यस्तो कुरा होइन, हाम्रो आन्तरिक कारण हो।

केपी ओलीले गुटको मात्रै नेतृत्व गर्नु भयो। अहिले एमालेको नेता पनि बन्न सक्नुभएन गुटको नेता बन्नुभयो। उहाँलाई शक्तिमा सिंगो देशको एमाले कार्यकर्ताहरुले पठाएको हो र सिंगो पार्टीको नेता हो भन्ने मानसिकता उहाँमा कहिल्यै पनि आएन। उहाँमा मभन्दा जान्ने म नै सबैथोक हो भन्ने घमण्डका कारणले गर्दा यो अवस्था आएको हो। अध्यक्ष ओलीको अहंकार र घमण्डले पार्टी फुटेको हो।

त्यतिमात्र होइन, उहाँले नेकपा हुँदा पुस ५ गते पार्टीसँग सल्लाह नै नगरी संसद् भंग गर्नुभयो। फागुन २८ गते १५ दिन पनि नकुरिकन फेरि माओवादीसँग पार्टी मिलेर जानुपर्छ कि भन्ने हतार-हतार बैठक राख्नुभयो। माधव पक्षका कसैलाई खबर नगरिकन गुटको हनुमानहरुसँग मात्र बैठक गर्नुभयो। माधव पक्षलाई एमालेमा ढोका बन्द छ भनेर बेइमानी गर्नुभयो। त्यहाँबाट केपी ओलीले पार्टी एकता चाहनुहुन्न भन्ने पुष्टि भयो।

ओलीले नै एकताका लागि सहमति गर्ने प्रयास नगरेकै हो?

हामीले बारम्बार फागुण २८ गतेको निर्णय खारेज गर्न दबाब दिएका थियौँ। २०७५ जेठ २ को एमाले बैठक बोलाउन आग्रह गर्दा पनि झन् झन् निर्णय थप्दै जाने र कारबाही गर्ने श्रृंखला चलाउनु भयो। फेरि दोस्रो पटक संसद् भंग गर्नुभयो, हामी अदालतमा गएर पुनर्स्थापना गर्‍यौँ। यो स्थिति भइसकेपछि नेकपा फुटको संघारमा केपी ओलीले पुर्‍याउनु भएको हो। दास, हनुमान र जयजयकार गर्नेहरु मात्रै केपी ओलीका नेतृत्वमा बस्नसक्ने भए।

व्यक्तिको जयजयकार गर्ने मात्रै कम्युनिस्ट पार्टीको संस्कार भन्दा विपरीत नेकपा एमाले जिन्दावाद्, केपी ओली जिन्दावाद् आई एम विथ केपी ओली भन्न लगाए। यो ठाडै कम्युनिस्ट संस्कार र आचरण विपरीत कार्य हो। यो ढंगबाट पार्टीलाई अगाडि बढाउन थालेपछि बाध्य भएर नेपालले दिएको कानुन सुविधा अनुसार अलग ढंगले जानुपर्ने स्थिति सिर्जना भयो।

तेस्रो धारमा रहेका ९ जना नेताहरुले एकता नै गर्नुपर्छ भनेर लागिपरेका छन्, पार्टी मिलाउँछौँ भन्नुभएको छ, यसबारे के भन्नु हुन्छ?

मुलधारका नेताहरु मात्रै नभई आम हामी पनि पार्टी एकताको पक्षमा छौँ। तर, केपी ओली पार्टी एकताको पक्षमा रहेनन्। केपी ओलीले पार्टी एकता पक्षलाई बारम्बार लात हान्ने जालीझेली काम गर्नुहुन्छ। आज एउटा कुरा गर्नुहुन्छ भोलि अर्कै गर्नुहुन्छ। हामीले साथीहरुलाई ओली एकताका पक्षमा हुनुहुन्न भन्यौँ। तर, उहाँहरु एकताको लागि लागिरहनु भएको छ। उहाँहरुले ओलीबाट एक पटक होइन पाँच पटक धोका खाइसक्नु भएको छ।

त्यही पनि उहाँहरु अन्तिमसम्म हेरौँ केपी सुध्रिन्छन् कि भनेर आशा मनमा बोकेर लागिरहनु भएको छ। तर, मुलधारका साथीहरुलाई केपी ओलीले ढोका थुनेर बाहिर निकालेको निकालेकै हुनुहुन्छ। अनुरोध गर्न जाने साथीहरुलाई बेइज्जत गरेर फिर्ता पठाउने गर्नुभएको छ। तीतो उखान टुक्का गरेर नराम्रा गाली गलौच गर्ने, यस्ता कुरा गर्न मकहाँ नआउने भनेर निष्कासित गर्ने कार्य गर्नुभएको छ।

हामी १४ जना माननीयहरुलाई त संसद्बाट निष्कासित गर्न सभामुखलाई पत्र बुझाइसक्नु भएको छ। अब अरु साथीहरुको पालो आउँदैछ। ओली सानो हनुमान झुण्डलाई लिएर रमाउने प्रबृत्तिमा लाग्नुभएको छ। त्यसैले हाम्रो मुलधारका साथीहरु सफल हुनुहुन्छ भन्ने मलाई लागेको छैन।

तेस्रो धारका नेताहरु माधव समूहमा नै आउँछन् त?

उहाँहरु अन्तिममा केपी ओलीको दुईचार लात खाएपछि हामीसँगै आउनुपर्छ। किनभने ओली कम्युनिस्ट आन्दोलनलाई विभाजित र बिर्सजनको बाटोमा लैजाँदै हुनुहुन्छ। उहाँमा दक्षिणपन्थी चिन्तन हावी छ। त्यसैले हाम्रो पुराना साथीहरु कसैको दास बन्न सक्नु हुन्न जयजयकार गर्न सक्नुहुन्न। मनमोहन अधिकारी, मदन भण्डारी, पुष्पलाललगायतका नेताले कहिल्यै जिन्दावाद् भन्न लगाएनन्।

हामीले हिजो अस्ति देखेका माधव नेपाल झलनाथ खनालले पार्टीका नेता हुँदा जिन्दावाद कार्यकर्तालाई लगाएनन्। तर, केपी ओलीले व्यक्तिका नाममा जिन्दावाद् भन्न लगाएका छन्।

त्यो पार्टीमा मुलधारमा भएका नेताहरु पार्टीमा अट्न सक्छन् भन्ने म देख्दिनँ। त्यहि पनि उहाँहरुलाई शुभकामना दिन चाहन्छु, हण्डर खानुभन्दा अगाडि नै तपाईँहरु आउनोस् बामपन्थी आन्दोलनलाई बचाउँ। बेलैमा होस् पुर्‍याउँ भन्ने म अनुरोध गर्न चाहन्छु।

नयाँ पार्टी बनाउने भनेर लागि रहँदा के देख्नुभएको छ भविष्य?

पहिला हामी बाममोर्चा बनाएर जान्छौँ। अहिले नै हामी माओवादी, उपेन्द्र यादवसँग, बैद्य, जनमोर्चा आवश्यक पर्दा विप्लवहरुसँग पनि वार्ता भइरहेको छ। बृहत बाम गठबन्धन बनाएर हामी अगाडि बढ्छौँ। पार्टी फुटको इतिहास नराम्रो छ भन्ने कुरा पनि सत्य हो। पार्टी टुटफुट भइरहन्छ। त्यसैबाट गुज्रिँदै अगाडि बढेको इतिहास छ।

केशरजंग रायमाझीको नेतृत्वलाई स्वीकारेर बसेको भए, विद्रोह नगरेको भए अहिले नेपालमा कम्युनिस्ट आन्दोलन भन्ने रहँदैन थियो। त्यसकारण, मूल कुरो भनेको विचार नीति सिद्धान्त के लिएको छ यस्ता चिजले कम्युनिस्ट आन्दोलन बाँच्ने कि नबाँच्ने भन्ने हुन्छ।

केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी धारमा बिसर्जन गर्दै लगेका छन्। ओलीलाइै छिसिक्क छोयो भने कमल थापा दुख्यो भनेर कराउँछन्। ओलीलाई काँडा बिज्यो भने कमल थापाले एैया भनेर कराउँछन्।

ओली राप्रपासँगै मिलेर कम्युनिस्ट मतदातालाई गाई धपाउँदै एउटा काँधमा हलो र एउटा काँधमा सूर्य बोकेर हिँडाउने मनसायमा छन्। त्यसैले म साथीहरुलाई अनुरोध गर्छु, तपाईहरु सँगै प्रचार गरेर हिँड्न सक्नुहुन्छ कि हुँदैन? विचार गर्नुस्। कमल थापासँग मायाप्रेम बढ्दै गएको छ, यसैबाट तपाईँ हामीले बुझ्नुपर्छ। जसले राजतन्त्र फिर्ता ल्याउनुपर्छ भन्छन्, जसले घोषणापत्रमै धर्मको विषयमा लेखेका छन् त्यो पार्टीमा बस्नु भनेको अनिवार्य रुपमा पतन हुनु हो। त्यसैले अहिलेको बिद्रोह भनेको कम्युनिस्ट पार्टीलाई जोगाउनु हो।

पार्टी किन विभाजित भयो भनेर सबैले अध्ययन मनन गर्नुपर्छ। कम्युनिस्ट बन्नु भनेको दास बन्नु होइन। विचार र सिद्धान्तका लागि फुट पनि प्रिय हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell