PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

किन माधव नेपालले बनाए नयाँ पार्टी? उनको जवाफ : ओलीले एमालेलाई प्राइभेट लिमिटेड बनाएर घर न घाटको बनाए त्यसैले



पहिलोपोस्ट

किन माधव नेपालले बनाए नयाँ पार्टी? उनको जवाफ : ओलीले एमालेलाई प्राइभेट लिमिटेड बनाएर घर न घाटको बनाए त्यसैले
फाइल फोटो।

काठमाडौं : प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निजी कम्पनीजस्तो बनाएको आरोप लगाएका छन्। पार्टीमा वार्ताका लागि आफूहरुले इमान्दार पहल गरेको भए पनि ओलीले जालझेल गरेको नेपालको आरोप छ। एकीकृत समाजवादीको चन्द्रागिरि रिसोर्टमा चलिरहेको केन्द्रीय कमिटीको बैठकपछि नेता नेपालले सञ्चारकर्मीसँग अन्तर्किया गर्दै ओलीका कारण नयाँ पार्टी बनाउने अवस्थामा पुगेको प्रष्टिकरण दिए।

'केही साथीहरु नयाँ पार्टी बनाउन हुँदैन भन्ने भए। कतिपय साथीहरु सुरुदेखि नै नयाँ पार्टी बनाउनुपर्छ भन्नेमा लाग्नुभएको थियो। निर्वाचन आयोगमा दर्ता पनि भयो। हाम्रै कमरेडले नयाँ पार्टी निर्माणमा भूमिका खेल्नुभयो,' नेपालले भने।

ओलीले एमालेलाई निजीकरण गरेको र आफूहरुमाथि षड्यन्त्र भएपछि नयाँ पार्टी बनाउनुको विकल्प नभएको नेता नेपालको भनाई थियो। उनले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने बताए। नीति, सिद्धान्त र व्यवहारमा भिन्नता आएपछि ओलीसँग रहन नसक्ने निर्णय भएको नेपालको भनाई छ। आफूलाई अलपत्र पार्न खोजिएको नेपालले आरोप लगाए। उनले पार्टी गठनपछि पनि एकताका लागि पहल हुने बताए।

'पार्टी गठनपछि पनि एकता हुन्छ। हामीलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ। पहिला पार्टी बनाइन्छ अनि एकताको पहल गरिन्छ,' उनले भने।

नेपालले वागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नो सल्लाहमै मुख्यमन्त्री बनेको पनि बताए। तर, शाक्य अहिले अप्ठेरोमा रहेको नेता नेपालको टिप्पणी छ।

'मेरो सल्लाहले नै उहाँ मुख्यमन्त्री हुनुभएको हो। तर अहिले उहाँ अप्ठ्यारोमा हुनुहुन्छ। पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने बाध्यता हुन्छ,' नेपालले भने।

आफूलाई छोडेका नेताहरुप्रति आफ्नो विश्वास भएको नेपालले बताए। उनले पार्टी विभाजनमा आफूलाई साथ नदिएका नेताहरु एकीकृत समाजवादी पार्टीमा आउने बताए।

'उहाँहरु पक्कै पनि मेरै साथमा आउनुहोला। मेरो विश्वास छ,' उनले भने।

उनले कम्युनिस्ट विचारधार बोक्ने पार्टीसँग मात्रै एकता हुने बताए। जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिस्ट विचार त्यागेर समाजवादी पार्टी बनाउनुपर्ने प्रस्ताव गरे पनि आफू त्यसमा सहमत नभएको उनको भनाई थियो। आफूलाई कुनै पनि नेताले खेलाउन नसक्ने नेपालको भनाई छ।

'कमरेड प्रचण्डले खेलाउनुहोला। यो देशमा सबैभन्दा ठूलो खेलाडी केपी ओली। उहाँले त खेलाउन सक्नुभएन अरुले के खेलाउने? केपी ओलीको पनि बुद्धि पलावस्। मैले नराम्रो भनिन्। राम्रो बाटोमा सबै अगाडि बढुनु। कसैलाई अपमान नगरुन,' नेपालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell