बुटवल : लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले लुम्बिनी प्रदेशको विकास र समृद्धिको लागि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको बताएका छन्। मन्त्री खड्काले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई समीक्षा गरेर नयाँ बजेट बनाउन आफूहरु लागि परेको समेत बताए।
सोमबार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा लुम्बिनी सरकारका प्रवक्ता समेत रहेका खड्काले आफूहरुको मुख्य प्राथमिकता कोरोना रोकथाम र नियन्त्रणमा रहेको बताए।
भने, 'मुलुक यतिबेला कोरोनाले थलिएको छ। तेस्रो लहरले थप क्षति नपुराओस भन्ने उद्धेश्यले प्रदेशवासीलाई खोप दिने तयारीमा छौं। हाम्रो पहिलो लक्ष्य भनेको कोरोना रोकथाम हो।'
मन्त्री खड्काले १८ वर्षभन्दा मुनिकालाई खोप लगाएर विद्यालयहरु संचालनमा ल्याउने तयारी गरिरहेको दाबी गरे। कोरोना महामारीले बेरोजगार बस्न बाध्य भएका नागरिकहरुको लागि रोजगारीका अवसरहरु सिर्जना गर्ने समेत उनले बताए। थला परेका व्यवसायीहरुलाई राहत प्रदान गरेर अगाडी बढ्न प्रेरित गर्ने उनको भनाई थियो।
उनले सहकार्य र सहमतिबाट बजेट ल्याउँ भन्दाभन्दै पनि निवर्तमान सरकारले बलजफत गरि अध्यादेश ल्याएको बताए। अध्यादेशबाट आएका र अलपत्र छाडिएका २ वटा विधेयकहरु फिर्ता ल्याएको बताए। अघिल्लो सरकारले संघियता कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै उनले आफूहरुले आवश्यक नीति नियमहरु बनाएर अगाडी बढ्ने समेत बताए।
