PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

देउवाकै जिल्ला सभापति मल्लको चेतावनी :१४ औं महाधिवेशन कोतपर्व नहोस्



नेत्र तामाङ

देउवाकै जिल्ला सभापति मल्लको चेतावनी :१४ औं महाधिवेशन कोतपर्व नहोस्

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु १४ औं महाधिवेशन नजिकिँदा आन्दोलित बनेका छन्। क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने मागसहित उनीहरुले पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज धर्ना दिए।

धर्नालाई कांग्रेस केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, गगन थापा लगायतका नेताहरुले एक्यबद्तासमेत जाहेर गरे। कांग्रेस जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्न भने पनि सँगै तीन माग राखेका छन्।

जिल्ला सभापतिहरुको पहिलो माग हो– क्रियाशील सदस्यताको सूची प्रकाशन गरियोस्। दोस्रो माग – तल्लो तहबाट सिफारिस भएर आएका क्रियाशील सदस्यको नाम काटेर केन्द्रमै थपिएकाले सच्चाइयोस्। र, तेस्रो माग – जिल्ला सभापति हुन बनाइएको दुई थरी मापदण्ड खारेज होस्।

यसैबारेमा आज दुई जिल्लाका सभापतिले सानेपामा आयोजित धर्नामा सम्बोधन गरे। जसमध्ये एक थिए कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकै गृह जिल्ला डडेल्धुरकाका सभापति कर्ण मल्ल।

डडेल्धुराका जिल्ला सभपति मल्लले ७७ वटै जिल्ला सभापतिहरुको निर्वाचन एउटै प्रक्रियाबाट हुनुपर्ने माग राखे। '७७ वटै जिल्ला सभापतिहरुको निर्वाचन एउटै प्रक्रियाबाट हुनुपर्छ। विधानमै भएको व्यवस्थालाई चाँडोचाँडो टुंगो लगाओस् भन्ने हो,' उनले भने।

पार्टी विधानले जिल्ला सभापतिका हकमा समान व्यवस्था गरे पनि हालै जारी निर्वाचन निर्देशिकाले भेदभाव गरेको उनको आरोप थियो। केन्द्रीय समिति बैठकले एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय प्रतिनिधि सभापतिको उम्मेदवार हुन पाउने र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा महाधिवेशन प्रतिनिधि सभापतिको उम्मेदवार हुन पाउने गरी मापदण्ड तय गरेको छ। यस्तो निर्णयले एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्ला सभापतिहरुलाई भेदभाव गरेको उनीहरुको आरोप छ।

डडेल्धुरामा ७०० क्रियाशील तलमाथि !

सभापति मल्लले डडेल्धुराका सात सय क्रियाशील सदस्यहरुको सदस्यता तलमाथि पारिएको दाबी गरे। 'सुन्नमा आएको छ। श्रद्धेय सभापति एवं सम्माननीय प्रधानमन्त्रीज्युको जिल्ला डडेल्धुराबाट झण्डै ५३५ क्रियाशील सदस्यको नाम हटाइएको छ। ३०० बढी क्रियाशील सदस्यहरुको नाम केन्द्रबाट थपिएको छ,' मल्लले भने, 'वडा सभापतिको नाम नै हटाइएको छ। एउटै वडामा स्वतन्त्र उम्मेद्वार भएका साथीहरुको नाम नवीकरण गरिएको छ। आधिकारिक उम्मेद्वारको नाम हटाइएको छ भन्ने कुरा सुन्नमा आएको छ।'

यस्तो हुनुलाई अत्यन्तै दुखद् भएको उनले बताए।

जिल्ला सभापतिलाई त यस विषयमा जानकारी हुनुपर्ने हो नि त? जवाफमा उनले भने, 'मददाता नामावलीमा नाम छ कि छैन भनेर हेर्न पाउनुपर्‍यो भनेर धर्नामा आउनुको कारणै यही हो। कसैले हेर्न पाएका छैनन्। सबैको अधिकारको कुरा हो हेर्न पाउने।'

यदि आफूले सुनेको कुरा सत्य भएमा धेरै ठूलो अपराध हुने उनले ठोकुवा गरे। 'विधि विधान र कांग्रेसको संस्कारको विरुद्धमा यो नहोस् भन्ने चाहना हो। यो सत्य हो भने धेरै ठूलो अपराध हुन जान्छ,' मल्लले भने, 'कांग्रेसका आम कार्यकर्ताको अपमान हुन जान्छ। यो नहोस् भन्ने मेरो आग्रह हो।'

मल्लले यो सबै जिल्लाका सभापतिको माग भएको दाबीसमेत गरे। 'मेरो जिल्लाको मात्र माग हैन। सबै जिल्ला सभापतिहरुको माग हो। रुजु गर्नका लागि चाहियो नि। यो कुनै गुटउपगुटको जिल्ला सभापतिहरुको माग हैन,' उनले भने।

१४ औं महाधिवेशन कोतपर्व नहोस्

सानेपामा पहिलोपोस्टसँगको संक्षिप्त कुराकानीको क्रममा सभापति मल्लले १४ औं महाधिवेशनलाई पर्वको रुपमा मनाउन पाउनुपर्ने माग गरे। भने, '१४ औं महाधिवेशन पर्वको रुपमा मनाउन पाउनुपर्छ। १४ औं महाधिवेशन कोतपर्व नहोस् भन्ने कुरामा हामी सचेत भएर लाग्नुपर्छ।'

महाधिवेशन आउन अब केही दिनमात्र बाँकी रहेकाले सबै क्रियाशीलले झै आफ्नै नाम क्रियाशीलको सूचीमा छ कि छैन भनेर हेर्न पाउनुपर्ने माग गरे।

'अब १४ औं महाधिवेशन आउन १० दिन बाँकी छ। मैले आफ्नो नाम क्रियाशीलमा छ कि छैन भन्ने थाह पाउन नपाउने? मेरै नाम छैन भने? मेरो जिल्लाका ५८०४ कार्यकर्ताको नाम सूचीमा छ कि छैन त्यो हेर्न पाउनुपर्‍यो।'

बेथितिविरुद्ध उभिन सिकाउने नै देउवा

सभापति मल्लले आफूले बेथितिविरुद्ध लड्न सभापति देउवाबाटै सिकेको उल्लेख गर्दै आम कांग्रेसको पक्षमा आफू उभिएको बताए।

'प्रक्रिया जुन छ त्यसमा कसैको विमति हुँदैन भन्ने मलाई लाग्छ। १३ ‍औं महाधिवेशनमा देउवालाई भोट हालेको हुँ। उहाँको प्रस्तावक बस्नुभएको मोरङको सभापति डिगबहादुर लिम्बु पनि धर्नामा हुनुहुन्छ,' मल्लले थपे, 'पार्टीभित्रको बेथिति, पार्टीभित्रको विसंगति विरुद्धमा उभिन सिकाउने मेरो गुरु नै अहिलेको श्रद्धेय सभापति सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ। पार्टीभित्रको आन्तरिक विधि विधान पार्टी चलाउने जुन संस्कृति थियो कुसंस्कृति विरुद्ध लड्न सिकाउने श्रद्धेय सभापति देउवा हुनुहुन्छ।'

भनेपछि विधिविधान देउवाको पालामा मिचियो? भन्ने प्रश्नको जवाफमा मल्लको जवाफ थियो, 'उहाँको कार्यकालमा के भएको छ भन्ने कुरा १४ औं महाधिवेशनमा समीक्षा हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell