काठमाडौं : संसदको ठूलो दल नेकपा एमाले विभाजित भएको छ। कानुनी रुपमा विभाजनको प्रमाणपत्र सम्भवत: बुधवार प्राप्त हुनेछ निर्वाचन आयोगबाट। एमालेबाट अलग भइ पूर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्।
पार्टीको विधान, नियमावली र घोषणापत्र तयार भइसकेका छन्। पार्टीको घोषणापत्रमा नेता नेपालले ओलीमाथि केही संगिन आरोपहरुसमेत लगाएका छन्। नेकपा (एकीकृत समाजवादी) को घोषणापत्रमा नेपाली कम्युनिष्ट आन्दोलनलाई आधारभूत रूपमा एकीकृत गर्ने एमाले र माओवादी केन्द्रको ऐतिहासिक एकता टिक्न नसकेको भन्दै अगाडि भनिएको छ- ‘२०७७ फागुन २३ मा अदालतको फैसलाद्वारा त्यो एकतालाई भङ्ग गरिदिने काम भयो। त्यस घटनाले नेपाली कम्युनिष्ट आन्दोलनको एकतामा निकै ठूलो क्षति पुयाएको छ।‘
घोषणापत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशनप्रति इमान्दार नभएको देखि महाधिवेशनका निर्णयहरु बोक्दै नबोकेकोसम्मको आरोप लगाइएको छ। नेपालको कम्युनिस्ट आन्दोलनका दुई महाधिवेशनबाट पार्टीको नीति र नेतृत्व चयन विरोधाभाषपूर्ण भएकोसमेत टिप्पणी गरिएको छ। जसमध्ये एक ओली रहेको बताइएको छ।
‘नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा दुईवटा महाधिवेशनबाट पार्टीको नीति अर्थात् कार्यदिशा एउटा पारित गर्ने तर नेतृत्वमा भने महाधिवेशनबाट पारित नीतिको पक्षमा नरहेको व्यक्तिलाई चयन गर्ने काम भयो। ती दुवै निर्णयले नेपाली कम्युनिष्ट आन्दोलनको एकतामा गम्भीर क्षति पुयाएका छन्,’ घोषणापत्रभा अगाडि भनिएको छ, ‘पार्टीको दोस्रो महाधिवेशनले गणतन्त्रात्मक नीति पारित गरेको थियो भने नेतृत्वमा गणतन्त्रात्मक नीतिका विरोधीहरूको टिमलाई छानेको थियो, जसले महाधिवेशनबाट पारित नीति कार्यान्वयन नगरी पार्टीलाई दक्षिणपन्थी दिशामा लगेको थियो र अन्ततः पार्टी विभाजित भएको थियो।‘
ओली अध्यक्षमा निर्वाचित महाधिवेशन पनि त्यस्तै भएको घोषणापत्रमा उल्लेख छ। ‘नवौँ महाधिवेशनमा पनि त्यस्तै भयो। मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने पार्टी नीति पारित गरेको त्यस महाधिवेशनबाट पार्टीको प्रमुख नेतामा त्यस नीतिका विरोधी व्यक्तिलाई चयन गर्यो, जसले महाधिवेशनका निर्णय बोक्दै बोकेनन्,’ घोषणापत्रमा अगाडि भनिएको छ, ‘अध्यक्षमा छानिएका केपी शर्मा ओली महाधिवेशनप्रति इमान्दार नै रहेनन्। उनले महासधिवेशनका निर्णय पालना नगरी आफुखुसी चल्ने काम गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न हुँदै गएका थिए। त्यसैबिच तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बिच एकता गरी निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षका रूपमा रहँदा पनि ओली पार्टीका नीति र विधि अनुसार कहिल्यै चलेनन्।‘
ओली प्रधानमन्त्री हुँदासमेत सरकार पार्टी नीति अनुरुप नचलाएको आरोपमसेत घोषणापत्रमा लगाइएको छ।
‘मुलुकको प्रधानमन्त्रीसमेत रहेका उनले सरकार पनि पार्टी नीति अनुसार चलाएनन्। फलतः पार्टीमा गम्भीर मतभेद र विवाद उत्पन्न भयो,’ घोषणापत्रमा भनिएको छ, ‘उनले २०७७ पुस ५ मा असंवैधानिक ढङ्गले प्रतिनिधि सभाको विघटन सिफारिस गरेपछि उक्त विवाद चरमचुलीमा पुग्यो र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपले दुई भागमा विभाजित भयो।‘
ओलीले नेकपा (एमाले) को नवौ महाधिवेशनका निर्णयहरू उल्टाउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पादाधिकारीहरूको पद खारेज गर्ने जस्ता निर्णय गरी नेकपा (एमाले)लाई विभाजनमा धकेलिदिएएकोसमेत आरोप घोषणापत्रमा लगाइएको छ।
घोषणापत्रमा ओलीमाथि साङ्गठनिक हिसाबले विभाजनकारी गतिविधि गरेको मात्र नभई पार्टीले अँगालेका सिद्धान्त एवम् विचार र नवौं महाधिवेशनले तय गरेको कार्यदिशालाई समेत लत्याउने तथा पार्टी विधानको पूरै उल्लंघन गर्ने जस्ता कार्य गरी पार्टीलाई विसर्जनको दिशामा धकेल्ने काम गरेको आरोप लगाइएको छ। घोषणापत्रमा भनिएको छ, ‘हामीले पार्टी एकता जोगाउन निरन्तर प्रयत्न गयौँ तर केपी ओली पक्षले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि पार्टीलाई विसर्जन हुनबाट जोगाएर नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन गर्न अग्रसर भएका छौं।‘
राजतन्त्रलाई उखेली फ्याकेर संघीयता, धर्म निरपेक्षता, समावेशीता र समानुपातिकताजस्ता विशिष्ट विशेषतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा निर्णायक भूमिका पुरा गरेको नेकपाको अविच्छिन्न उत्तराधिकारीको रुप एकीकृत समाजवादी भएको दाबीसमेत घोषणापत्रमा गरिएको छ।
घोषणापत्रमा जनताको बहुदलीय जनवादका मूल्य मान्यताहरूको रक्षा र थप विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्नेसमेत उल्लेख गरेको छ।
