पोखरा : आइतवार साँझ महेन्द्रपुलको सडक भासियो। सुरुवातमा थोरै भासिएको जमिनको आकार भोलिपल्ट बिहानसम्ममा हेर्दै डरलाग्दो भइसकेको थियो। त्यसमाथिको अविरल वर्षाले अवस्था झनै भयावह देखिन्थ्यो। जमिनसँगै गरिमा विकास बैंकसहित अन्य ५ घर जोखिममा परे।
आइतवार रातिमात्र होइन पोखराको जमिन बेलाबेला भासिइरहन्छ। वर्षातको समयमा पोखराको जमिन भासिने समस्या प्राकृतिक हो। केही समय अघिमात्र पनि पोखराको चिप्लेढुंगामा जमिन भासिएको थियो। समयसमयमा भासिएको पोखराको जमिनको कारक भने पोखराको भौगर्भिक बनोटसँग सिधै सम्बन्धित छ।
पोखराको भौगोलिक बनोटबारे भूगर्भविद्को धारणा :
भूगर्भविद्को अनुसन्धानका अनुसार पोखरा उपत्यका अन्नपूर्ण चौथो हिमालबाट उत्पत्ति भएको ठूलो हिमताल फुटेर बनेको हो। हिमतालबाट फुटेपछि तल्लो तटमा बग्दै आएको पानीले पहाडका चट्टान र गेग्रान लिएर बग्यो। यसरी पानीमा बग्दै आएको गेग्रान पोखराको समतल भूभागमा आएर थुप्रियो। यसरी थुप्रिएको गेग्रान र माटोको सतह पातलो छ।
पोखरामा माटोको सतह स्थानपिच्छे फरक छ। अधिकांश स्थानमा माटोको सतह बाक्लो भएपनि केही स्थानमा पातलो छ। सन् १९९८ मा नेपाल सरकार र जर्मनीको एक संस्थाले गरेको अनुसन्धानका अनुसार पोखराको जमिनको संरचना कमजोर छ। खानी तथा भूगर्भ विभाग र जियो साइन्स ईन्स्टिच्यूट अफ जर्मनीले उक्त प्रतिवेदन बुझाएको थियो। अर्मला, विन्ध्यवासिनी, नदीपुर, महेन्द्रपुल, मालेपाटन, छोरेपाटन, सिमलचौर, सितापाईलालगायतका स्थानको जमिन कमजोर रहेका उक्त प्रतिवेदनमा उल्लेख छ।
यसको पुष्टि आइतवार र यसअघि भासिएको पोखराको जमिनले गरिसकेको छ। अनुसन्धानमा पोखराका सेती बगेको पश्चिमतिरको बजार क्षेत्रको जमिनको संरचना कमजोर रहेको देखाएको छ। पोखरामा बेलाबेला जमिन भासिने समस्या रहेपनि यसबारे विस्तृत अनुसन्धान भने अझै भएको छैन।
भूगर्भविद् डा सुबोद ढकालका अनुसार पोखराको केही भागको बनोटमा माथिल्लो तहमा डेब्रिस (भग्नावशेष) सहितको ग्राबेल र ग्राबेलबाट बन्ने चून ढुंगा छन्। उक्त ढुंगाको संरचना कमजोर हुन्छ। यस्ता ग्राबेलको बीचबीचमा रहेका छिद्रहरू साना बालुवा र त्योभन्दा साना माटाका कण (सिल्ट, क्ले आदि)ले भरिएका छन्। यसले कङ्लोमेरेट भन्ने चट्टानमा प्राकृतिक सिमेन्टको काम गर्छ र बलियो पार्छ।
तर, जमिनको उक्त सतहमा पानी पसेपछि यसले प्राकृतिक रुपमा सिमेन्टको काम गरिरहेको कङ्लोमेरेट ढुंगालाई कमजोर बनाउँछ। कङ्लोमेरेट र विभिन्न स्थानको ग्राबेलमा रहेका चट्टानका टुक्रा चुनढुंगा र त्यससँग मिल्दोजुल्दो कार्बोनेट कम्पोजिसनको रहने ढकाल बताउँछन्। उक्त चट्टान अलिकति अम्लीय पानीमा सजिलै घोलिएर खियाउन र बगाउन सक्छ।
‘हामीले यसलाई मार्बल काट्दा निस्कने सेतो पदार्थ जसरी हेर्नसक्छौँ, त्यस्तै दृश्य जमिनमुनि भइरहेको छ मार्बल पनि चुनढुंगा वा त्यस्तै कार्बोनेट रकबाट नै बनेको हुन्छ’, ढकालले थपे, ‘कङ्लोमेरेटमा सिमेन्टको काम गर्ने चट्टानको धुलो (क्ले) पनि चुनढुंगाकै सम्मिश्रणको भएकोले यस्तो पदार्थलाई पनि अम्लीय पानीले सजिलै घुलाइ जमिनभित्रको पानीले सजिलै बगाउँछ, यो नै पोखराको जमिन भासिने कारण हो।’
उनका अनुसार पोखरा उपत्यकाभरिको भौगर्भिक बनोट सबै स्थानमा एकै छैन। पोखराको भौगोलिक बनावट केही स्थानमा कमजोर रहेपनि बसोबासका लागि जोखिम नरहने ढकालको भनाइ छ। यसबारे सरकारले विस्तृत अध्ययन अनुसन्धान गरी जोखिमयुक्त जमिनको पहिचान गर्नुपर्ने उनको धारणा छ।
समयसमयमा पोखराको जमिन भासिदैँमा आत्तिहाल्नु नपर्ने भन्दै उनले भने, ‘बसोबास गर्नै नमिल्ने असुरक्षित स्थान होइन तर शुरुमै सतर्कता अपनाउनु भने जरुरी छ।’
जमिनभित्रको माटो र भासिएको स्थानमा थप अनुसन्धान गर्न अनिवार्य भएको उनको ठम्याइ छ। ढकालका अनुसार पोखराको जमिनभित्र रहेको चट्टान खिइने प्रक्रिया चलिरहेको छ। खिइँदै गएको चट्टान र ग्राबेल र भित्रभित्रै गुफा बन्ने प्रक्रियाले पोखराको भौगर्भिक संरचना संवेदनशील बनाउँदैछ।
‘भासिएको स्थानमा अन्यत्रबाट आएको पानी जान दिनु हुँदैन, यसलाई पुर्न पनि जरुरी भयो तर यसको गहिराइ कहाँसम्म छ त्यहाँ पुग्नुपर्यो’, उनले भने, ‘खाल्डो परेका ठाउँसम्म पुग्नुपर्यो, खाल्डो पुर्न वेल ग्रेडेड माटो राख्नुपर्ने हुन्छ। भासिएको स्थानमा बालुवा, ग्राभल, क्ले मिसिएको माटो हाल्नपर्ने हुन्छ। खाल्डोलाई दबाउँदै माटो हाल्नुपर्ने हुन्छ। त्यसपछि भासिएको स्थानलाई सानो सिमेन्टको संरचना बनाएर सिल गर्नुपर्ने हुन्छ।’
त्यस बाहेक यस विषयमा विस्तृत अनुसन्धान नभएका कारणपनि तत्कालको कदम के-कस्तो हुनेपर्ने भनेर यकिन भन्न सकिँदैन। तर, चट्टान खिइएर उत्पादन भएको लेदोलाई पानीबाट बगाउन केहीमात्रमा रोक्न सकिन्छ। यसले जमिन भासिने वा भ्वाङ पर्ने समस्यालाई कम गर्छ।
ढल र बग्ने पानीको अव्यवस्थित निकास
नेपालमा अत्यधिक पानी पर्ने शहर हो पोखरा। पछिल्लो केहीदिन यता पोखरामा निरन्तर पानी परिरहेको छ। पोखरामा थोरै मात्रामा वर्षात शुरु भएपछि सडकमा पानी बग्न थाल्छ। ढल/नालीको पानीले सहि निकास नपाउँदा पनि समस्या निम्तिएको हो। पोखरा बहने पानीलाई सहि रुपमा कटान गर्न सकियो भनेपनि केही हदसम्म जमिन भासिने समस्या कम हुने पोखरा नगर विकास समितिका सेवानिवृत इन्जिनियर किसनसिंह गुरुङ बताउँछन्।
‘पोखराको भौगोलिक बनोटका कारण जमिन कमजोर छ, यस्तो जमिनमा पानी सहजै छिर्न पाएपछि चुन ढुंगालाई कमजोर बनाउँछ’, उनले भने, ‘जब पानी पस्न पाउँछ त्यसले कटान गर्दै जाँदा तलतिरको भाग भ्वाङ हुन्छ। यसलाई सिन्कहोल भन्छौँ।’
जमिन भाँसिने समस्या वर्षातको समयमा बढी हुन्छ। यसको मुख्य कारण नै वर्खे पानीलाई निकास गर्न नसक्नु रहेको गुरुङ बताउँछन्। वर्षातको पानीलाई सुरक्षित रुपमा निकास गर्नुपर्नेमा उनको जोड छ। पोखरामा ढल बनाउन २०५५ सालमा एसियाली विकास बैंक (एडीबी)ले सहयोग गरेको थियो। त्यसयता महानगरमा ढलका लागि अन्य काम भएको छैन।
‘महानगरले ढलका लागि सानोतिनो काम गरेको थियो २०५५ सालतिर अलिकति काम भएको थियो तर त्यो पर्याप्त छैन’, उनले भने, ‘त्यसलाई बेला मौकामा मर्मत गर्नुपर्छ त्यो मर्मतको काम भएको छैन।’
पोखरालाई जोगाउने हो भने महानगर, प्रदेश सरकार र संघीय सरकारले यस विषयमा अध्ययन गरेर पानीको व्यवस्थापनको काम गर्नुपर्ने उनको भनाइ छ।
पोखरामा कहिले कहाँ भासियो जमिन
भदौ ६ गते - महेन्द्रपुल
भदौ ८ गते - लेकसाइड जरेवर
असार २० गते - चिप्लेढुंगा चोक
असार २ गते - नदिपुर चोक
२०७६ जेठ ३२ गते - चिप्लेढुंगा चोक
२०७४ पुष ६ गते - जिरो किमि
२०७३ सालमा - बाटुलेचौरमा
२०७६ साल साउन १ गते - मोहरिया टोल र फलेपाटन निर्माणधिन विमानस्थल नजिकै