PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

पोस्ट पारस एरा : खड्काको सन्यासपछि टिममा बनेको 'बिग होल' को चिन्ता



मुकुन्द घिमिरे

पोस्ट पारस एरा : खड्काको सन्यासपछि टिममा बनेको 'बिग होल' को चिन्ता

काठमाडौं : नेपाली क्रिकेट टोली अहिले ओमनमा छ। विश्वकप लिग २ अन्तर्गत घरेलु टोली ओमन र अमेरिकासँग एकदिवसीय सिरिज खेल्नका लागि नेपाल त्यहाँ पुगेको हो। वर्षाका कारण अभ्यासमा केही बाधा ब्यहोरेको नेपालले त्रिदेशीय सिरिजअघि पपुवा न्युगिनीसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

यो सिरिजमा नेपाली टिममा 'मिस्' हुने खेलाडी हुन् पूर्वकप्तान पारस खड्का। अघिल्लो वर्ष कप्तानीबाट अप्रत्यासित राजीनामा र यो वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट। एकपछि अर्को सप्राइज दिँदै नेपाली क्रिकेटको राजनीतिमा आउने मुडमा रहेका खड्कालाई यसपटक क्रिकेट समर्थकहरुले याद गर्नेछन्। त्यसो त, खड्काको अनुपस्थितिमा नेपालले खेलेको यो पहिलो सिरिज भने होइन। यसअघि नेपाल, मलेसिया र नेदरल्याण्ड्सबिचको टी २० सिरिजमा पनि खड्का टिमभन्दा बाहिर थिए। नेपाली टोलीलाई पाँचौ डिभिजनबाट एकदिवसीय स्टाटससम्म डोहोर्याएका उनी यसबीचमा पनि केही सीमित खेलहरुमा छुटे पनि नेपाली टोलीको मोटिभेसनका रुपमा रहि रहे।

नेपाली क्रिकेटर सन्दीप लामिछाने टिममा खड्काको उपस्थितिले ठूलो अर्थ राख्ने गरेको मान्छन्। उनको उपस्थिति टिममा नहुनु दुर्भाग्य भएको उनले बताए। यद्यपि, अहिलेको अवस्थाबाट अघि बढ्नै पर्ने भएकाले सकारात्मक सोचका साथ मैदानमा उत्रिनु पर्ने उनी बताउँछन्।

'एउटा समय आउँछ सबै खेलाडीहरु रिटायर हुन पर्छ। अब मिस हुने छ उहाँको सबै कुरामा। जसरी उहाँले फिल्डमा जसरी सबै कुराहरु गर्नुहुन्थ्यो। साथसाथै उहाँको मार्गनिर्देशहरु,' लामिछाने भन्छन्, 'तर हामीले अगाडि बढ्नैपर्नेछ। भोलिको दिन सबैको लागि सहज हुँदै जानेछ। यो टुर्नामेन्टमा हामीले केही राम्रो गर्न सके उहाँलाई डेडिकेट गर्न सकिने केही राम्रो कुरा हामीसँग हुनेछ।'

लामिछानेको कथनसँग सहमत छन् कप्तान ज्ञानेन्द्र मल्ल पनि। मल्लले त करियर सुरु गर्दैदेखि लगभग खड्कासँगसँगै खेलेका थिए।

'धेरै लामो समयसम्म हामीले सँगै ड्रेसिङ रुम शेयर गर्‍यौं। मैले करियर सुरु गर्दा देखिनै चाहे त्यो जिल्ला होस या क्षेत्र र राष्ट्रिय टिमसम्म खेल्दा सँगै खेलेर आएको हो। त्यो मिस त हुँदो रहेछ। अब कति कुराहरु बोलिरहनु पर्ने, भनिरहनु पर्ने अथवा त्यो हुनुपर्छ भन्ने फिल हुँदैन। त्यो नहुँदा पनि टेलिप्याथी जस्तो हुन्छ नि अन्डर्स्ट्याण्डिङ थियो,' मल्लले भने, 'तर त्यसो भनिरहँदा स्पोर्ट्स्म्यानको करियरमा यस्तै हो, परिवर्तन हुन्छ। साथीहरु एकपछि अर्को गर्दै एउटा स्टेज आईहाल्छ। त्यसलाई स्वीकार्नु पर्छ जस्तो लाग्छ।'

यसका वावजुत मल्ल यो अवस्थालाई जीवनको मज्जाको रुप अर्थ्याउँछन् र चुनौतीको रुपमा लिएर अगाडि बढ्नु पर्ने बताउँछन्। उनले पारसको अनुपस्थितिले आफ्नो जिम्मेवारी बढेको भनेर लिएका छन् भने अर्कोतर्फ टिमका अन्य खेलाडीहरुका लागि अवसर हुने भनेर पनि सोचेका छन्।

'अतिरिक्त जिम्मेवारी बढेको छ। त्यो भनिरहँदा मसँग अरु साथीहरु पनि छन्। जो अनुभवी छन्। कोही अनुभवले त्यसलाई क्याच गर्ने लाइनमा पनि छन्। उनीहरुका लागि यो राम्रो प्लाटफर्म पनि हुन सक्छ,' मल्ल भन्छन्, 'एउटा अवसर हो जस्तो लाग्छ। पारसको रिप्लेसमेन्टको हिसाबले। म्याच विनरको हिसाबले अघि बढ्ने हो भने।'

पारसको उपस्थितिलाई लिएर मैदानमा म्याच विनिङ प्रदर्शनमात्र नभएर मैदानबाहिरको मोटिभेसन र उनको अनुपस्थितिले विपक्षी टिममा पार्ने मनोवैज्ञानिक दवाबलाई पनि उनले महसुस गरेका छन्।

'हाम्रो टिमलाई मात्र नभएर प्रतिस्पर्धी टिमलाई पनि त्यतिकै साइकोलोजिकल फ्याक्टरका रुपमा असर गर्छ जस्तो लाग्छ। त्यो मिस चाहिँ हुन्छ,' मल्ल भन्छन्, 'सँधै एउटै लेभल भन्ने हुँदैन। हामी ओडीआई भन्दामाथि सोचिरहेका छौं भने अब आउने जेनेरेसनले यो भन्दा राम्रो क्रिकेट खेलेर अगाडि बढाउनु पर्छ। जिम्मेवारी लिनुपर्छ जस्तो लाग्छ।'

त्यस्तै नेपाली टोलीका प्रशिक्षक डेभ ह्वाटमोर खड्काको अनुपस्थितिले ठूलो 'होल' बनाएको बताए।

'उनीसँग धेरै अनुभव थियो। उनले एउटा बिग होल छाडेका छन्। विग सु टु फिल। तर उनको लेगेसी स्पष्ट रुपमा छुटेको छ,' उनले भने, 'देशमा क्रिकेटको विकासका स्पष्ट मार्क छाडेका छन्।'

ओमन पुगेको नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, गुलसन झा, आरिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनास बोहोरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell