भक्तपुर : मध्यपुर थिमिको बोडे नगरमा ऐतिहासिक नीलबाराही नाच सुरु भएको छ। गुंलागा दुतियादेखि सुरु भइ गुंलागा पञ्चमीसम्म चार दिन सम्म बोडेमा नीलबाराही नृत्य प्रदर्शन हुने गर्छ।
बोडेको नारायणथान लाछिबाट सुरु भई लायकू छेँ, विष्णुघाट, महालक्ष्मीस्थान, भाँगुटोल, खांसी टोल, हुँदै पुनः नारायणथानमा पुगेर नाच समापन गर्नुपर्ने परम्परा छ।
(1).jpg)
मंगलवार मध्यरातबाट सुरु भएको नृत्य बिहानसम्म चलेको थियो। बिहानसम्म भक्तजनहरु नृत्य हेर्न र पूजा गर्न बोडेमा थिए।
तान्त्रिक नियममा बाँधिएर संचालन हुने यो नाचमा एक भैरव, चार बाराही, चार कुमारी, चार गणेश र दुई द्वारपाल गरी १९ जना देवगणको समूह हुन्छ। चारदिनसम्म बोडेका नगरभर धा: बाजाको तालमा भुस्याः, काँय र पोङा बजाएर यो नाच नचाउने परम्परा रहको छ।

एकपटक देवगण बनेपछि उसको मृत्यु नभएसम्म उनको ठाउँमा अर्को व्यक्ति देवगण बन्न पाउँदैन। केही कारणवश देवगणले नाच प्रस्तुत गर्न नसकेमा ख्वापाको पूजा गर्ने गरिन्छ।
नीलबाराही देवीले मनुष्यको रुपमा बोडेमा बस्ने धों थरका एक व्यक्तिलाई जंगलमा लगेर चार दिनसम्म गोप्य तरिकाले नाचको विधि बारे प्रशिक्षण दिएदेखि यो नाच संचालन भएको किंवदन्ती छ।
प्रविण रानाभाट र रोजन श्रेष्ठले बोडेमा मंगलवार मध्यरातदेखि बिहानसम्म खिचेका दृश्यहरु :
