PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

तालिवानले कसरी संचालन गर्ला सरकार ? विश्व बैंकले पनि दिँदै आएको सहयोग रोक्यो



पहिलोपोस्ट

तालिवानले कसरी संचालन गर्ला सरकार ? विश्व बैंकले पनि दिँदै आएको सहयोग रोक्यो
Photo : EPA

विश्व बैंकले अफगानिस्तानमा संचालित परियोजनाहरु संचालनका लागि दिँदै आएको सबै सहयोग रोकेको छ। तालिवानले नियन्त्रणमा लिएपछि अफगानिस्तानमा विश्व बैंकको सहयोगमा संचालित सबै परियोजनाहरुको भुक्तानी रोक्ने निर्णय गरिएको हो।

तालिवानको अफगानिस्तानको विकास तथा महिलाहरुलाई हेर्ने दृष्टिकोणमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा चिन्ता रहिरहेको अवस्थामा विश्व बैंकको यो निर्णयले थप चासो थपिदिएको छ।  

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अफगानिस्तानका लागि सबै भुक्तानी रोकेको भोलिपल्टै विश्व बैंकको पनि यो निर्णय आएको हो।

अमेरिकाले पनि अफगानिस्तानको केन्द्रीय बैंकको अमेरिकामा रहेको सबै सम्पत्ति फ्रिज गरिसकेको छ। अमेरिकामा अफगानिस्तानको केन्द्रीय बैंकको झण्डै ९ अर्ब डलर रिजर्भ रहेको अनुमान गरिएको छ। 

विश्व बैंकका प्रवक्ताले भनेका छन्-'हामीले हाल अफगानिस्तानमा संचालन गरिरहेका सबै परियोजनाहरुको भुक्तानी स्थगित गरेका छौं। हामी अफगानिस्तानको गतिविधिलाई निगरानी गरिरहेका छौं र हाम्रो आन्तरिक नीति तथा प्रक्रिया अनुसार त्यहाँको अवस्था मूल्यांकन गरिरहेका छौं। हामी अन्तर्राष्ट्रिय समुदाय तथा विकास साझेदारहरुसँग निरन्तर यस विषयमा छलफलमा छौं। हामी कसरी अफगानिस्तानका जनतालाई दिँदै आएको सहयोगलाई निरन्तरता दिन सक्छौं भन्ने बारे पनि विकास साझेदारहरुसँग सल्लाह लिइरहेका छौं।'

विश्व बैंकले सन् २००२ देखि नै अफगानिस्तानको पुनर्संरचना तथा विकास परियोजनाहरुका लागि झण्डै साढे ५ अर्ब डलरबराबरको सहयोगमा प्रतिबद्धता जनाउँदै परियोजनाहरु संचालन गरिरहेको थियो।

अफगानिस्तानमा तालिवानी सरकार आएलगत्तै विश्व बैंकले सबै किसिमको रकम रोकेको हो। आइएमएफले पनि अफगानिस्तानले विश्व दातृ समुदायबाट अब कुनै पनि किसिमको स्रोतसम्म पहुँच पाउने छैन भनिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell