PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

गण्डकीका मन्त्रीको सम्पत्ति विवरण : मुख्यमन्त्री सहित ५ मन्त्रीको टाउकोमा ऋणभार, कृषिमन्त्री र मनाङेले बुझाएनन् विवरण



रिना थापा

गण्डकीका मन्त्रीको सम्पत्ति विवरण : मुख्यमन्त्री सहित ५ मन्त्रीको टाउकोमा ऋणभार, कृषिमन्त्री र मनाङेले बुझाएनन् विवरण

पोखरा : गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मंगलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आफ्नो वेबसाइटबाट मन्त्रिपरिषद् विस्तार भएको २ महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

भ्रष्टाचार निवारणसम्बन्धी ऐन बमोजिम सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार राष्ट्रिय सतर्कता केन्द्र सिंहदरबारलाई पठाएको सम्पत्ति विवरण मुख्यमन्त्री र मन्त्रीहरुले सार्वजनिक गरेका हुन्।

गण्डकी प्रदेशमा ११ मन्त्री छन्। तर, सम्पत्ति विवरण भने ९ मन्त्रीको मात्र भएको छ। युवा तथा खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण सार्वजनिक भएको छैन।

सार्वजनिक भएको सम्पत्ति विवरणमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले २५ लाख रुपैयाँ ऋण देखाएका छन्। विवरण अनुसार उनले कृषि विकास बैंकबाट २०७६ मा ऋण लिएका थिए।

पोखरेलसँग ५ तोला सुन र एभरेष्ट बैंकमा ५ लाख नगद रहेको छ।

एभरेष्ट बैंकमा रहेको रकम तलब आम्दानी भएको उनले देखाएका छन्। त्यस्तै उनकी श्रीमती लता पोखरेलको नाममा गैंडाकोटमा २० लाख रुपैयाँको एउटा घर छ भने मुख्यमन्त्री पोखरेलको नाममा काठमाडौं र तनहुँमा जग्गा रहेको छ।

भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले आफुसंग भएको सम्पत्ती स्वआर्जन र पैतृक सम्पत्तिबाट भएको खुलाएका छन्। कास्कीका बासिन्दा खड्काको महानगरपालिका–१६ मा ३८२.२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको घर छ। यसबाहेक उनिसंग ९५ तोला सुन, विभिन्न वित्तीय संस्थामा १ करोड बढी नगद मौज्दात, ५६ लाखको सेयर छ।

उनले सम्पत्ति विवरणमा ८५ लाख ऋण दिएको खुलाएका छन्। मन्त्री खड्कासँग श्रीमतीको नाममा ४२ लाख पर्ने फोर्ड इकोस्पोर्ट सवारी छ। सवारी प्राप्तीको स्रोतमा खड्काले पुरानो कार दिई बाँकी रकम एनआइसी एसिया बैंकबाट अटो लोन लिएर किनेको उल्लेख गरेका छन्।

 

 

अर्थमन्त्री रामजीप्रसाद बरालको सम्पत्ती विवरणमा आफ्नो टाउकोमा १ करोड रुपैयाँ ऋण रहेको देखाएका छ। बरालले गत वर्षमात्रै एनआईसी एसिया बैंकबाट ऋण लिएका उल्लेख गरेका छन्। उनले ६० हजार रुपैयाँको गाईदेखि सवारीसाधनको नाममा २ छोरा र बुहारीको नाममा २ मोटरसाइकल तथा १ स्कुटर रहेको उल्लेख गरेका छन्। मन्त्री बरालसँग ४ तोला सुन रहेको विवरणमा खुलाएका छन्।

निफ्राको ६० कित्ता सेयर, एभरेस्ट बैंकमा ३ लाख नगद मौज्दात रहेको उनले देखाएका छन्। विवरणमा उनले पोखरामा आफ्नो र श्रीमतीको नाममा जग्गा रहेको खुलाएका छन्।

गोरखाका जिल्ला घरभएका ऊर्जामन्त्री हरिशरण आचार्यले पालुङटार–२ मा बुबा र श्रीमतीको नाममा घरजग्गा रहेको विवरणमा पेस गरेका छन्। आफुसँग ८ तोला सुन र ५ तोला चाँदी रहेको विवरणमा देखाएका छन । सुन र चाँदी स्वआर्जन फर्निचरबाट किनेको विवरणमा आचार्यले देखाएका छन्।

 

मन्त्री आचार्यले कृषि विकास र प्रभु बैंकबाट  ५० लाख ऋण लिएको देखाएका छन्। ऋणको १० लाख तिरेको पनि उनले उल्लेख गरेका छन्। साथै ऋणबाट उनले २० लाखमा आमुल फर्निचर उद्योग सञ्चालन गरेका जनाएका छन्।

बागलुङको काठेखोलास्थित लेखानीमा जन्मिएका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेल २ करोड ६७ लाख ऋण रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। विवरणमा उनले आफुसँग २५ तोला सुन, १ केजी चाँदी, आफ्नो नाममा ६ लाख नगद तथा श्रीमती इन्द्रकली कँडेलको नाममा झन्डै २ लाख रुपैयाँ नगद रहेको छ। साथै ८७ हजार कित्ता सेयर रहेको विवरणमा उल्लेख छ।

मन्त्री शर्मासँग लेखानीमा ६ ठाउँमा जग्गा छ। इन्द्रकली कँडेलको नाममा लेखानीमा ४ र नरेठाँटीमा ३ ठाउँमा जग्गा छ। मन्त्री कँडेलको नाममा चितवनमा ५ ठाउँ, रुपन्देहीमा ९ तथा इन्द्रकली कँडेलको नाममा चितवनमा नै ३ ठाउँमा जग्गा छ। मन्त्री कँडेलसँग बागलुङ नगरपालिकामा ४८ लाख ५० हजारमा किनेको घर छ।

स्याङ्जा घरभएका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले स्याङ्जाको भिरकोट र काठमाडौंको नागार्जुनमा पक्की घर रहेको विवरणमा उल्लेख गरेका छन्। साथै स्याङ्जा, काठमाडौं र कास्कीको छिनडाँडामा उनको जग्गा रहेको छ।

आफुसँग १ किलो १९ तोला सुन रहेको विवरणमा पेस गरेका छन्। मन्त्री श्रेष्ठसँग १५ लाख नगद तथा ७ किलो २ तोला चाँदी र १ थान हिराको औंठी रहेको देखाएका छन्। यसको स्रोत पैतृक तथा पेवा रहेको उनले उल्लेख गरेका छन्।

 

 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले सम्पत्ति विवरणमा ८ लाख ६० हजार नगद मौज्दात रहेको बताएकि छिन्। साथै आफ्नो नाममा लमजुङको दूधपोखरीमा घर, लमजुङ, चितवन र हेटौंडामा ४ ठाउँमा जग्गा रहेको उल्लेख गरेकी छिन्। ३ तोला सुन, १ स्कुटर तथा रहेको विवरणमा पेस छ।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आफुसँग घरमा नगद ५५ हजार रुपैयाँ, ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हिरा रहेको विवरणमा उल्लेख गरेका छन्। पोखराका विभिन्न ६ ठाउँमा घर, ८ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ। उनको विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद मौज्दात रहेको छ।

आफूसहितको पूरा परिवारमा ७ लाख ५० हजार कित्ता सेयर सम्पत्ति विवरणमा उल्लेख छ। २ वटा गाडी, ५ वित्तीय संस्थामा ऋण तथा होटेल, ट्रेड हाउस, मल, रिसोर्टलगायतमा मन्त्री थापाको लगानी रहेको छ।

स्याङ्जाका वनमन्त्री दीपक थापाले स्याङ्जाको बिरुवा गाउँपालिका–२ मा ५० हजार रुपैयाँमा घर किनेका छन्। उनले विभिन्न वित्तीय संस्थामा ६१ लाख ५० हजार ऋण रहेको देखाएका छन्। थापाले चर्ती नर्सरी उद्योग खोलेर चियाका बिरुवा उत्पादन गर्दै आएका छन्। त्यस्तै पैतृक सम्पत्तिमा ३० तोला तेजाबी सुन र २० तोला चाँदी छ। सांसद भएपछि उनले पोखरा महानगरपालिका–१४ मा ४० लाखको जग्गा किनेका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell