काठमाडौं : नेपाली फिल्म ‘पुतलीको सपना’ बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल अन्तर्गतको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा छनोट भएको छ।
यसै वर्ष सुरु भएको ल्याबमा ११ फिल्मको स्क्रिप्ट छाँनिदा नेपालबाट किरण पोखरेलको स्क्रिप्ट ‘पुतलीको सपना’ छानिएको । छानिएका फिल्महरुलाई ल्याबले मेन्टरसिप प्रदान गर्ने पोखरेलले जनाए।
मेन्टरसिप पाएका ११ फिल्ममध्ये पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई सो फेस्टिभलले क्रमशः ५ हजार, ३ हजार र २ हजार अमेरिकी डलर पुरस्कार स्वरुप स्क्रिप्ट डेभलेपमेन्टका लागि प्रदान गर्नेछ।
त्यस्तै ढाका फेस्टिभलको ‘फिल्म हट’ कार्यक्रम अन्तर्गत संसारभरबाट उपस्थित भएका वितरक तथा फिल्म निर्माताहरुबीच फिल्म प्रोजेक्टको अवधारण प्रस्तुत गर्ने अवसर दिनेछ।
नेपालबाट छानिएको फिचर फिल्म ‘पुतलीको सपना’ आफ्नो लैंगिक परिचयका लागि आफैभित्र संघर्ष गर्दागर्दै तत्कालिन छापामार युद्धमा होमिएकी नेपालको पहाडी भेगको किशोरीको कथा हो।
फिल्म स्टडिजमा स्नातक गरेका लेखक, निर्देशक पोखरेलले यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विभिन्न फिल्म, डकुमेन्ट्री, रियालिटी शो लगायतमा लेखन, निर्देशन तथा निर्माण गरिसकेका छन्। उनको सर्ट फिल्म ‘मानुषी’ले एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल २०१३ मा उत्कृष्ट फिल्म, त्यस्तै अर्को सर्ट फिल्म ‘विङ्गस’ले कान्स इन्टरनेसनल फिल्म फेस्टिभलमा वितरण गरिएको नेस्प्रेस्सो ट्यालेन्ट २०१८ मा उत्ृकष्ट फिल्मको पुरस्कार पाएको थियो।
लेखन प्रक्रियामै रहेको यस फिल्मको निर्माता रेजनेटिङ्ग पिक्चर्समार्फत् सुशान्त श्रेष्ठ हुन्। त्यस्तै निर्माता सुशान्तले दक्षिण कोरियाको एसियन फिल्म स्कुल (एफिस), बुसान अन्तर्गत निर्माताको ६ महिने कोर्समा पनि ‘पुतलीको सपना’माथि काम गरिरहेका छन्। त्यस्तै निर्देशक किरण र निर्माता सुशान्तले अर्को एक सर्ट फिल्मको पनि तयारी गरिरहेका छन्।
ढाकाको यसै बेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्यावमा सुशान्तले सहनिर्माण गर्ने बंगलादेशकै शजेदुल इस्लामको ‘द क्यामेरा किड्स’ पनि छनौटमा परेको छ। सो स्क्रिनप्ले ल्याबमा बंगलादेशबाट ५, भारतबाट २, नेपाल, श्रीलंका, अफगानिस्तान र भुटानबाट एक÷एक फिल्म छानिएको छ।
