काठमाडौँः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम अब सम्बन्धित मन्त्रालय, विभाग एवं निकायहरुमा हस्तान्तरण गर्ने भएको छ।
निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले निजी आवासलगायतका कार्यहरुको हस्तान्तरण सुरु गर्ने निर्णय गरेको हो।
निर्णय अनुसार निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनको कार्य शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले गर्नेछ। विभागले सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत सञ्चालित गुम्बाहरुको पुनर्निर्माणको जिम्मेवारी पनि प्राधिकरणले जनाएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यहरु एवं प्राधिकरणको संस्थागत स्मरणको व्यवस्थापन र पुनर्निर्माण तथा पुनस्र्थापनामा बाँकी रहेका कार्यहरुको कानुनी एवं नीतिगत व्यवस्था तथा समन्वय, सहजीकरण र अनुगमन सम्बन्धी कार्य राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्नेछ। विद्यालय तथा विश्वविद्यालयका भवन पुनर्निर्माणका कामहरु शिक्षा मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाईहरुबाट सम्पादन हुनेछ।
पुरातात्विक सम्पदा र निर्माण सुरु नभएका एक सय वर्षभन्दा पुराना गुम्बाहरुको पुनर्निर्माण पुरातत्व विभागले गर्ने निर्णय भएको छ।
सडक तथा पुलहरु एवं शहरी विकास मन्त्रालय तथा पुरातत्व विभागले हेर्ने बाहेकका गुम्वाहरुको पुर्ननिर्माण गुम्वा व्यवस्थापन समितिको समन्वयमा स्थानीय पूर्वाधार विभागले गर्नेछ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय संरचनामा रहने सानो संख्याको जनशक्तिले धरहरा, रानीपोखरी, सिंहदरबार एवं नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको रणोद्दीप दरबारलगायतका संरचनाहरुको पुनर्निर्माण तथा लेखा परीक्षण जस्ता कार्यहरु गर्नेछ । त्यसैगरी, हस्तान्तरण गर्ने कामहरुको सहजीकरण, लेखा परीक्षण र अन्तर्राष्ट्रिय सम्मेलनका कामहरु पनि सम्पादन गर्नेछ ।
