PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

औपचारिक रुपमा फुटे एमाले र जसपाः माधव र महन्थको दलले पाए प्रमाणपत्र, सत्ता गठबन्धनमा अब ६ दल



पहिलोपोस्ट

औपचारिक रुपमा फुटे एमाले र जसपाः माधव र महन्थको दलले पाए प्रमाणपत्र, सत्ता गठबन्धनमा अब ६ दल

काठमाडौँः माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई निर्वाचन आयोगले दर्ता प्रमाणपत्र दिएको छ। बुधबार अबेर दुबै दलले दर्ता प्रमाणपत्र पाएका हुन्। दुई दलले दर्ता प्रमाणपत्र पाएसँगै औपचारिक रुपमै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाल विभाजित भएका छन्। 

दुई दल विभाजित भएसँगै वर्तमान सत्ता गठबन्धनमा अब ६ दल पुगेका छन्। 

दुबै दलका तर्फबाट बुधबार निर्वाचन आयोग र सांसदहरुले सनाखत गरेका थिए। दलहरुको सनाखत लगत्तै निर्वाचन आयोग बुधबार राति नै दर्ता प्रमाणपत्र दिइएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए।  

संघीय संसद् सदस्य वा केन्द्रीय समितिको २० प्रतिशत समर्थनमा दल फुटाउन सक्ने र सो दलका सांसदमाथि दल त्याग लगाउन नपाइने अध्यादेश सरकारले ल्याइदिएपछि दुई दल विभाजित भएका हुन्। दुबै दलभित्र लामो समयदेखिको आन्तरिक किचलो थियो। 

अध्यादेश अनुसार एमालेबाट विभाजित एकीकृत समाजवादीका पक्षमा तत्कालीन ५६ जना केन्द्रीय सदस्यले समर्थन जनाएका थिए। संघीय संसद्का २९ सदस्यले पनि एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए। 

महन्थ पक्षका केन्द्रीय सदस्य र सांसदहरुले पनि बुधबार नै आयोगमा पुगेर दल दर्ताको सनाखत गरेका थिए। ठाकुर पक्षमा १६ सांसदले सनाखत गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell