काठमाडौं : जतिखेर भीम आचार्य प्रदेश १ को दोस्रो मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिइरहेका थिए ठीक त्यतिखेर नै प्रहरी उनका कान्छा भाइको घरमा मुचुल्का उठाइरहेको थियो। लामो समयदेखि मुख्यमन्त्रीको आकांक्षी रहँदै आएका भीम आचार्यको परिवारमा एकसाथ सुखद् र दु:खद घटना घट्यो। दुवै घटना प्रत्यासित भने थिएन।
सत्ता आरोहणका लागि भीमको तयारी चलिरहँदा उनका भाइ भने घरभित्रै बितिसकेका रहेछन्। त्यसैले आचार्य परिवारमा खुशी र शोक दुवै एकैसाथ भित्रियो आज।
गुट त्यागेर नेकपा एमालेमै रहने निर्णय गरेपछि भीमको राजनीतिक महत्त्वकांक्षाले आकार लिएको थियो। तर, प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्न र बनेपछि टिक्न अवस्था सहज भने थिएन। त्यसैले जे भइरहेको थियो अत्यन्तै तीव्र गतिमा। पार्टी अध्यक्ष केपी शर्मा ओलीको ग्रिन सिग्नलसँगै हिजैदेखि हतारहतार तयारी अगाडि बढेको थियो।
आज बिहान दुई घन्टाको अन्तरालमा सबैकुरा फत्ते भयो - मुख्यमन्त्रीबाट शेरधन राईले राजीनामा दिए। संसदीय दलको नेतामा आचार्य चयन भए। प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण पनि पूरा भयो। कुनै पनि समय अप्रत्यासित रुपमा विकास हुनसक्ने राजनीतिक परिवर्तनका संकेतहरुले हतारो आवश्यक थियो उनका लागि। सपथ ग्रहणसँगै औपचारिक रुपमा भीम आचार्य मुख्यमन्त्री बने।
पूर्वी नेपालको राजनीतिक रस्साकस्सी गर्मिरहेकै बेला राम आचार्य भने आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए। अनि, भीमले पदको सपथ लिइरहँदा सहोदर भाइको घरमा भने प्रहरी रामको शवको मुचुल्का उठाइरहेको थियो।
श्रीमतीसँगै बस्दै आएका आचार्य सुनसरी इनरुवा ३ स्थित आफ्नै घरमा आज बिहान उनी मृतावस्थामा भेटिएका हुन्।
बिहान अबेरसम्म नउठेपछि कोठामा हेर्दा उनी मृत अवस्थामा देखिए। त्यसपछि भएको थियो प्रहरीलाई खबर। करिब साढे ९ बजेतिर प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।
'हाम्रो टोली पुग्दा कोठामा भित्रबाट चुकुल लगाइएको थियो। त्यसपछि छिरेर हेर्दा सुत्ने बेडमा शव भेटियो,' जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्र कार्कीले भने।
५९ वर्षीय राम आचार्यमा मानसिक समस्या भएको खुलेको छ। घटनास्थल नजिकै बिषादीको बट्टा फेला पर्नु र भित्रबाट कोठामा चुकुल लगाइएको। त्यसैले प्रहरीको प्रारम्भीक अनुसन्धान आत्महत्यातिर केन्द्रित भएको छ।
हिजो राति श्रीमतीसँग गफ गरेपछि उनी सुतेका थिए।
'उहाँहरु दुई जनामात्र बस्नुहुन्थ्यो। छोराछोरी काठमाडौंतिर भएको बुझिएको छ,' प्रत्यक्षदर्शी इनरुवा नगरपालिका वडा नम्बर ३ का वडा सदस्य सरोज बरालले भने, 'म साढे ९ बजेतिर पुगेर झ्यालबाट हेर्दा एउटा हात बेडबाट तलतिर झुन्डेको र बेडमा शव देखेको थिएँ।'
राम आचार्यका एक छोरा र एक छोरी छन्। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर पोष्टमार्टमका लागि शव अस्पताल पठाउने तयारी गरेको छ। त्यस्तै, घटनाको अन्य कोणबाट पनि अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
आचार्य परिवारले आज एकै दिन अप्रत्यासित रुपमा सुखद् र दु:खद् घटना बेहोरेका छन्।
