काठमाडौं : आमा दिदी बहिनीको मुक्तिका लागि गीतबाटै आवाज उठाउने एउटा छोरो, एउटा भाइ र एउटा दाइ संसारबाट बिदा लिएका छन्। जेवी टुहुरे जनवादी गायक जसले समाजमा महिलामाथि हुने विभेद विरुद्ध आवाज गीतबाट उठाए-
‘आमा दिदीबहिनी हो,
कति बस्छौ दासी भई,
सुखको सधैं प्यासी बनेर।’
आज उनै गायक टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। माओवादीका तर्फबाट संविधानसभा सदस्यसमेत रहेका टुहुरे जनवादी गीत संगीतको क्षेत्रमा निरन्तर रुपमा सक्रिय थिए। जुठबहादुर खड्गी उनको नाम। पहिचान चाहिँ टुहुरे मात्रै।
क्रान्तिका लागि गीतमार्फत् जागरण फैलाउने टुहुरेको एउटै गुनासो हुन्थ्यो- ‘क्रान्तिपछि सत्तामा पुगेकाहरुले गरिव निमुखालाई बिर्सिए।’
७७ वर्षका पूरा भएका टुहुरे लामो समयदेखि बिरामी थिए। रोगसँग लडिरहँदा पनि उनलाई एउटै चिन्ताले सताउँथ्यो - नेताहरुले जनतालाई भुले।
२०२६ सालमा देशमा पञ्चायत राज चलिरहेको बेला गीत संगीत मार्फत् पञ्चायत विरोधी आवाज घन्काएका थिए २६ वर्षकै उमेरमा -
‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ
लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’
लव प्रधानले लेखको गीतमा उनै टुहुरेले आवाज भरे र जिवन्त बनाए। पञ्चायत विरुद्धको उनको गीत गाउँगाउँमा गुञ्जियो। भूमिगत रुपमा गाउँगाउँमा हुने कार्यक्रममा गुञ्जिने गीतको आवाज पीडित जनताको आवाज बन्यो।
जनताको गीत गाउँदै हिँड्दा उनले कहिले प्रहरीको कुटाइ खाए त कहिले जेल बसे। जीवन चलाउन कहिले पुस्तक बेचे, कहिले खाना, खाजा र सुगाको व्यापार गरे। तर, जनताका गीत गाउँन कहिल्यै छाडेनन्।
उनले गीत मार्फत् जनता बटुल्थे। तिनै जनतासामु नेताहरुले भाषण गर्थे आदर्शका। सायद, उनले गीत गाउँदैनथे भने नेताका भाषण सुन्न पनि त्यसरी जनता उत्रिन्थेनन्।
अहिले सत्तामा रहेका, सत्ता बाहिर रहेका, सत्ताको चास्नी चाखिरहेका र चाखिसकेका सबैका लागि जनता बटुल्नका लागि गीत गाइदिएका छन् उनले। तत्कालीन एमाले नेता मदन भण्डारीसँगै हुन्थे टुहुरे। टुहुरेले गीत गाउँथे, मदनले भाषण गर्थे।
उनको साथमा हिँडेका नेताहरु कति सत्तामा पुगे। तर, टुहुरे अन्तिमसम्म टुहुरे नै रहे। सत्तामा पुगेपछि नेता बदलिए। जनताको जीवन बदलिएन् - उनको एउटै गुनासो हुन्थ्यो।
पोहोर लकडाउन हुँदा हजारौँ मानिस पैदल हिँडेर गाउँघर फर्किए। उनले त्यतिबेला नेताप्रति गुनासो गरेका थिए- राजधानी बनाउन पसिना बगाएका मजदुरलाई राजधानीले आश्रय दिन सकेन्।
‘स–साना बच्चा बोकेर सुत्केरी महिला, वृद्धवृद्धाहरू मध्यरातको चिसो र अँध्यारोमा शहर छाडिरहेको समाचार पढ्दा मलाई फेरि ठूलो स्वरमा गाउन मन लाग्छ– लाखौँका लागि उजाड छ यो देश मुठीभरलाई त स्वर्ग छ,’ नयाँ पत्रिकाको एक रिपोर्टमा उनले भनेका छन्।
आधा दशक अगाडि उनले गाएको यो गीत-
‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ
लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’
अझै पनि सान्दर्भिक लाग्दछ उनका गीतहरु। राजधानीले आश्रय दिन नसक्दा रुँदै मानिसहरु बाहिरिएका छन्। कोभिड-१९ को कहरका बिच पनि रोजगारिका लागि विदेशिने युवाको ताँती विमानस्थलमा उस्तै छ। लाखौँको लागि देश उजाड छ। मुठीभरका लागि स्वर्ग छ। सत्तामा गरिवको प्रतिनिधित्व गर्ने भनिएका कम्युनिस्टहरु दुई तिहाईका साथ आसिन हुँदा गरिबहरु ज्यान बचाउनका लागि भोकभोकै राजधानी बाहिरिँदा उनले भनेका थिए- ‘गरिबलाई गोलबन्द गर्नेहरू अहिले सत्तामा छन् । तर, जनता फेरि पनि भोकै मर्ने अवस्था आएको छ, ज्यान बचाउन फेरि बसाइँ हिँडेका छन्।’
जीवनको उत्तरार्धमा पुग्दा औषधीमुलो गर्ने पैसा नभएर टुहुरे भौतारिए। उनको साथमा हिँडेका नेताहरु सत्तामा पुगे। हिजो आन्दोलन गर्दा तीन नेताको जत्तिकै पसिना र रगत टुहुरेको पनि बगेको थियो। तर, उनका पसिनाहरु बालुवामा बिलाए।
जीवनको उत्तरार्धमा पनि राजनीतिक नेतृत्वले भाषण गर्ने कार्यक्रममा उनले गीत गाएर जनतालाई चेतना भरे। एमाले र माओवादी केन्द्रबिच एकतापछि बनेको नेकपाका अधिकांश कार्यक्रममा उनी गीत गाउँन मञ्चमा उक्लिए। पार्टी विभाजन भयो। उनको आशा पनि विभाजन भयो।
हिजो ‘वीर छोराछोरीहरु’लाई टुहुरेले गीत मार्फत् भन्थे- ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’। तर, अझै गरिव दु:खीका लागि दु:खको बोझ बिसाउने चौतारी उनका दौतरीहरुले बनाउन सकेनन्।